काठमाडौं/ आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुर घटनाका सम्बन्धमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘न्याय माग्दा जनताका छोराले मर्नुपर्ने कस्तो लोकतन्त्रको अभ्यास गराइरहनुभएको छ ?’ भन्दै प्रश्न गरेका छन् ।
‘निर्मला पन्त हत्या प्रकरणमा राज्यले संयमता अपनाउन नसक्दा प्रहरीको गोलीबाट अर्का बालकको मृत्यु भयो, कैयौँ घाइते भएका छन्, सरकारको यस्तो दमनकारी शैलीको म घोर निन्दा र भत्र्सना गर्न चाहन्छु, देउवाले भने ‘एक बालिकाका लागि न्याय माग्दा अर्को बालकले मारिनुपर्ने यो कस्तो लोकतन्त्रको अभ्यास गराउँदैहुनुहुन्छ प्रधानमन्त्री जी ले ?’
‘दोषीलाई जोगाउन राज्य नै लाग्दैछ, अब जनताले न्याय माग्न कहाँ जाने रु अपराधलाई जोगाउन खोज्नु पनि अपराध हो । निर्दोषलाई दोषीका रुपमा किटानी गरेर कारबाही प्रक्रिया अगाडि बढाएको विषय अपराधको पराकाष्ठा नै हो । म यसमा गम्भीर बन्न सरकारलाई आग्रह गर्छु’ देउवाले भने ।
उनले भने, ‘निर्मला पन्त त एक प्रतिनिधि पात्र मात्रै बनेकी हुन्, बलात्कार पश्चात अबोध बालिकाको हत्या निन्दनीय मात्र होइन, जघन्य अपराध हो । देशका विभिन्न भागमा यहि प्रकृतिका घटना बढेका विवरण आइरहेका छन् । किन घटिरहेका यस्ता घटना ? यसलाई कसरी रोक्न सकिन्छ ?’
‘सबै खाले राजनीतिक आवरण भन्दा माथि उठेर हाम्रा छोरी चेलीको मर्यादा, सुरक्षा र सम्मान अभिबृद्धीका लागि सबैलाई गम्भीर बन्न म अपिल गर्छु ।’देउवाले भने ।


















