काठमाडौं । कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत महिलातर्फको २१.१ किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम भएकी छिन् । उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरेकी हुन् ।
पछिल्लो पटक महिलातर्फको हाफ म्याराथनमा प्रथम भएकी विश्वरुपा बूढाले १ घण्टा २३ मिनेट २८ सेकेन्डको टाइमिङ निकालेकी थिइन् ।
कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो,पाँचौँ र छैटौँ हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको हो ।


















