सामाजिक मिडियाको सामाजिक मूल्य

132

डा. दीपेन्द्र रोकाया

हिजोका दिनहरूमा मान्छेले आफ्नो सामाजिक सञ्जाल बढाउन ढुङ्गामा लेख्थ्यो, सुचना पाटी राख्थ्यो, भित्ते पत्रिका प्रकाशित गरी टाँस्दथ्यो, कार्यालय स्थापना गरियो भने साइनबोर्ड राख्दथ्यो, त्यो प्रक्रिया बढ्दै गएर हरेक कार्यालयका अगाडि वडापत्र समेत सार्वजनिक गरिएको पाइन्छ । यस पद्धतिलाई मास मिडियाको विकासले पुरै उथलपुथल ल्याएकै छ । समाचारपत्रहरू (दैनिक, साप्ताहिक, पाक्षिक, छिनछिनमै अपडेट हुने अनलाइनहरू समेत), रेडियो, टिभीहरूबाट पढ्ने, सुन्ने र प्रत्यक्ष अनुभव हुने गरी देख्न पाउँदा मान्छेले कल्पना समेत नगरेको प्रगति हुन गएको छ । आम सञ्चार माध्यमले सम्भ्रान्त तथा हैसियत भएका र उनीहरूको चासोले प्राथमिकता पाएकालाई मात्र स्थान दिने गर्दथ्ये र छन् । यी सवैखाले प्रचारमा वर्ग, क्षेत्र, लिङ्ग र समुदाय तथा प्राज्ञिक चासोमा आधारित रहेको पाइन्छ ।

उहिलेको सामाजिक मिडिया भनेकै बाजागाजा हुन् । ढुङ्गामा लेख्नु हुन्थ्यो । मास मिडियाको विकासले धेरैले पाठक पत्रसम्म लेख्न पाउँदा पहुँच विस्तार हुँदै गएको थियो । सुचना, सञ्चार तथा प्रविधिमा आएको परिवर्तनबाट नयाँ क्रान्ति नै आयो । आजका दिनसम्म आइ पुग्दा, हिजो र आज पनि आम सञ्चार माध्यमले नदिएको अवसर आफै प्रयोग गर्न पाउने आधार सामाजिक सञ्जालको विकासले प्राप्त भएको छ । मानौं, आफ्नो फोटो आम सञ्चारका माध्यममा कहिल्यै प्रकाशित नभएको हुन सक्छ, बोली कहिल्यै प्रशारण नभएको हुन सक्छ, भिडियो प्रशारण नभएको हुन सक्छ तर अहिले सामाजिक सञ्जालका कारण कोही मान्छे सात समुद्र पारी जाँदा उड्न, टान्जिटमा बस्न र पुग्दासमेत २/३ दिन लाग्न सक्छ, तर एउटा फेस बुक आइडीमा लेख्न केही मिनेट लाग्ला तर त्यस सन्देर्श अपडेट भयो र पोष्ट भयो भने एकै सेकेण्डमा विश्वभरका साथीहरूबीच सञ्चार गराउन पुग्दछ । यसखाले सामाजिक सञ्जालभित्र छिर्न साधारण अर्थ बोध गर्न सक्ने र केही प्रक्रिया जाने पुग्दछ । यसखाले सामाजिक सञ्जालमा नेपालीको पहुँच कति छ होला ? अध्ययनकर्ताहरू भन्छन्, मोवाइल बोकेकाले फेसबुक, ट्वीटरको एकाउण्ट खोलेका छन् भनी बुझ्दा हुन्छ ।

वाईफाई तथा नेटवर्कको पहुँचका आधारमा उनीहरूले नियमित वा कहिलेकाँही हेर्ने गरेको पाइन्छ । यस पंक्तिकारको अध्ययनमा संलग्न निजामति सेवामा रहेका प्रायः कर्मचारीले दिनमा कम्तीमा एक पटक फेसबुक नहेर्दा केही नखाएको जस्तो हुने वा कुनै कर्म छुटाएजस्तो हुने बानी बस्न थालिसकेको बताएका थिए । यस सञ्जालले वास्तवमा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनले अन्तरिक्षतिर जाँदा सोभियत संघमा समाजवादी र पूँजीवादी सीमा रेखाको बारेमा निकै ठुलो बहस थियो, तर भखर्रका युरी गागरिनले अन्तरिक्ष यानमा बसेर ५/६ कि.मि. माथि पुग्दा कुनै सीमा रेखा देखेका थिएनन् । यही सीमारेखाविहिन विश्वलाई एकै गाउँ बनाउन इन्टरनेटले साथ दिएको छ ।

मान्छेहरूले शक्ति केन्द्रका हिसावले आफ्ना विश्लेषणहरू गरिरहेका हुन्छन् । हामीले विगतका दिनहरूको सम्झना गर्दा विश्वमा कहिल्यै घाम नअस्ताउने गरी उपनिवेश चलाइरहेको वेलायतको मानचित्र आँखा अगाडि आउँदछ । युरोपेली युनियनबाट समेत छुएिको बेलायतमा जनताका सेवकहरूले सामाजिक मिडियाको उपयोग गर्दा देखिएको प्रवृति हेरी Rt Hon Francis Maude ले मन्त्रीस्तरीय निर्णय समेत गराउन पुगेको पाइन्छ । उनले Social media guidance for civil servants भनेर ६ बुँदे निर्देशन तथा ५ ध्यान दिनपर्ने सवाल जारी गरेको पाइन्छ । जसअनुसार, निजामति सेवाको कोड, सामाजिक मिडियाको मुद्दा, स्वामित्व र आचारसंहिता, जनतासँगको सहकार्य, खुला नीति निर्माण र सेवा प्रवाह तथा थप सल्लाह र निर्देशन दिने कार्य भएको थियो ।

यस्तै पोष्ट गरिने विषयको साधारण अर्थ, निजामति सेवा कोडको पालना, आशंका, शुद्धता र स्थायित्व जस्ता सवालबाट विशेष महत्व दिइ हेर्ने गरिएको थियो । यसरी बेलायतमा सामाजिक मिडियामा सरकारी स्तरबाट नियमन भएको थियो । यस विषयमा एकजना लेखकले निजामति सेवामा रहेकाहरूले सामाजिक मिडिया प्रयोग गर्दा फाइदा हुने र उक्त माध्यम प्रयोग गर्नेपर्ने सात कारण उल्लेख गरेका थिए । उनका अनुसार यो सजिलै शुरु गर्न पाइन्छ । यो तत्कालीन माध्यम हो । आफ्ना दर्शकबीच सहजै पुग्न सकिन्छ । यसले सोपानक्रम हेरेर बस्ने सीमामा क्रमभंगता ल्याउछ । आसपासको घटनालाई गुन्जयमान गराई दिन्छ । यो सबै प्रकारका सुचना प्राप्त गर्ने बाटो बन्दछ । यो आफैमा हृदयस्पन्दनको आधार पनि हो । यसो भएकाले जनताका सेवकहरूले सामाजिक मिडियामा आफ्नो पकड राख्न आवश्यक छ भन्ने दावी उनको रहेको थियो ।

सामाजिक मिडियाका गुणहरू यस्ता छन्, जसले प्रयोगकर्तालाई विश्वको जुन कुनामा भएपनि नजिकै ल्याउने कार्य गरिरहेको छ । विश्वलाई एकै गाउका वाशिन्दाजस्तै बनाउने कार्य यसैबाट सहज भएको हो । वास्तवमा यहाँ ४ वटा अ ले कमाल नै गरेको छ भन्दा हुन्छ । connect (जोडेको),  communicate (कुराकानी), collaborate(सहयोग) र  create (सिर्जना) गरेको छ । इन्टरनेटका माध्यमबाट स्थानीय, राष्ट्रिय र विश्वस्तरमा एकैचोटी सहकार्य गर्न पाइएको छ ।
सामाजिक मिडिया शक्तिशाली बन्नु र उपयोगी मानिनुका कारण हुन्ः यसको प्रयोगले आफ्नो सर्कललाई आफु वरिपरि केन्द्रित गराउँछ । हरेक विचार सही समयमा प्रवाह हुन्छ । यसमा प्राप्त हुने विविधताले ह्याङ हुन दिदैन । सन्देश सजिलै पठाउन मिल्दछ । आफुले चाहेको तस्वीर अपलोड गर्न सकिन्छ । आफ्ना भावना बाँड्न कुनै आइतवार कुर्न पर्दैन । मन परेकालाई आफ्नो स्टाटस वा तस्वीर ट्याग गर्न सकिन्छ । यस्तै आफ्नो प्रोफाइल बनाउन र सम्पादन गर्न सजिलै मिल्दछ ।
यस अवसरमा अधिकार मागेजस्तै कतब्र्य निर्वाह गर्ने कुरामा विशेष ध्यान दिन पर्दछ । सुचना र सञ्चार प्रविधिले ल्याएको साम्यवादी अवसरलाई सही रूपमा उपयोग गर्न सकेको खण्डमा आफु र आफ्नो समाजमा सामाजिक आन्दोलन खडा गर्न सक्तछ । आजभोलिका फेसबुक, ट्वीटरहरूले यही अर्थ बोध गराईरहेका छन् । सानो विषय पनि ठुलो बनी दिन्छ । हुन त यसभित्र पनि विकृतिहरू छन् । तर पनि हामीले ध्यान दिनैपर्ने कुरा के छ भने अबको समामाजिक परिवर्तनका एजेण्डा समेत सामाजिक मिडियाबाट आउन सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here