काठमाडौं/ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन होटल सोल्टीमा सुरु भएको छ। अध्यक्ष राष्ट्रका सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको सम्बोधन गर्दै सममेलन सुरु भएको हो । सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना साथै भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले बोल्ने कार्यक्रम छ ।
बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चा आइपुगेका हुन् । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार र म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौँ आएका थिए ।
बिमस्टेकको १६ औँ मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबिच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो । गरिबी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबिच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिइएको छ । बैठकले काठमाडौँ घोषणा पत्रलाई अन्तिम रुप दिएको छ । अब शिखर सम्मेलनमा यी सबै विषयमा छलफल गर्ने एंव निर्णय गर्नेछ ।
सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम बेलुका ६ बजेतिर टुंगिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाहुनाको सम्मानमा रात्रीभोज गर्नेछन् । रात्रीभोजसँगै पहिलो दिनका सबै कार्यक्रम सकिनेछन् ।
अध्यक्ष देशले सम्मेलन आयोजना गर्ने नियम अनुसार यसपटकको चौथो बिमस्टेक सम्मेलन नेपालमा हुँदैछ । बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो । दोस्रो भारतमा सन् २००८ मा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमारमा भएको थियो ।

















