स्थिर सरकारले स्थिर परराष्ट्र नीति बनाउनु जरुरी

201

राज्यलक्ष्मी शाक्य

विगतकालमा नेपालमा सरकार परिवर्तन भइरहन्थ्यो । सरकार परिवर्तन हुनेबित्तिकै सरकारको नेतृत्व गर्ने राजनीतिक दलअनुसारको परराष्ट्र नीति तय हुने गर्दथ्यो । अब त्यस्तो अवस्था समाप्त भएको छ । न्युनतम पाँच वर्षका स्थिर सरकार बनेको छ । त्यसमा पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार बनेको अवस्था छ । सरकारको नेतृत्व गर्ने दलको मित्रराष्ट्र वा छिमेकी मुलुकसँगको सम्बन्धमा परराष्ट्र नीति निर्धारण हुन्छ । यही कारण नेपालले एउटै मुलुकसँग पनि फरक/फरक सरकारका बेला फरक/फरक नीति अवलम्बन गर्दै आएको थियो । अब स्थिर सरकारले स्थिर परराष्ट्रनीति बनाएर अगाडि बढ्ने हो भने नेपालले आर्थिक समृद्धिको अभियानलाई सम्बोधन गर्न सक्ने आशा गर्न सकिन्छ ।

कुनै मुलुकले आफ्नो विदेश नीतिमा फेरबदल गर्नुप¥यो भने लामो पूर्वतयारीपश्चात् आन्तरिक रूपमा व्यापक छलफलपछि मात्र विदेश नीति तय गर्ने गर्दछन् । यसरी व्यापक छलफलपछि तय गरिने विदेश नीति लामो समयसम्म टिकिरहन्छ । अहिले नेपालमा स्थिर सरकार भएकाले यो सरकारले परराष्ट्र नीति तय गर्दा दीर्घकालसम्म परराष्ट्र नीतिको मान्यता कायम रहोस् भन्नका लागि पनि छलफल चलाउनु आवश्यक हुन्छ । सबै राजनीतिक दलहरूको सहभागितामा परराष्ट्र नीति तय गरियो, त्यस्तो परराष्ट्र नीतिको पनि स्थिरता कायम रहने अवस्था रहन्छ।

वाम गठबन्धनको तर्फबाट जनताका बीचमा मत माग्न जाँदा स्थिर सरकार र दिगो विकास समृद्ध नेपाल र राष्ट्रिय स्वाधीनता चुनावी नारा रहेका थिए । वाम गठबन्धनका नेताहरूले आफ्नो घोषणापत्रमै पनि यस्ता कुरा समेटेका थिए । यिनै कुराहरूबाट प्रभावित भएर नेपाली जनताले वाम गठबन्धनलाई सरकार सञ्चालन गर्ने आधार बहुमतको दिए ।

वाम पक्षको बहुमतको सरकार बनेपछि पनि नेपाल र छिमेकी मुलुक भारतबीचको कूटनीतिक सम्बन्ध सहज हुन सकिरहेको छैन । हाल नेपालले भारतसँगको सम्बन्धलाई छिमेकी मित्रराष्ट्रको जस्तो हो भन्ने यथार्थ भन्दा अलि फरक रूपमा आफूलाई प्रस्तुत गरिरहेको अवस्थाले नेपालको वर्तमान सरकारको परराष्ट्र नीति असन्तुलित रहने संकेत भएको छ । यो देशकै लागि दुर्भाग्य पूर्ण हो । नेपालको परराष्ट्र नीति स्थिर नबनेसम्म सरकारपिच्छे विदेश नीति परिवर्तन भइरहने र छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्ध पनि परिवर्तन भइरहने पुरानै परम्परा दोहोरिने निश्चित छ । यसले गर्दा विदेशी मुलुकहरूलाई समेत नेपालसँगको सम्बन्ध कुन आधारमा तय गर्ने भन्ने कुरा समस्या भइरहनेछ । परिणामतः नेपाल आफ्नै कारणले अन्य मुलुकको नजरमा स्थिर हुनसक्ने छैन । यसले अन्य मुलुकहरूसँगको दीर्घकालीन सम्बन्धलाई सुमधुर बनाउन समेत असहज हुने निश्चित छ ।

बहुमत सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिको आवरणमा राजनीतिक उँचाइ बनाएका थिए । उनको राजनीतिक उँचालाई नै जनताले विश्वास गरेर सरकारको नेतृत्व गर्ने हैसियतमा पु¥याएका हुन् । तर, प्रधानमन्त्री बनिसकेपछि प्रधानमन्त्री ओलीले नेपाली जनताबाट नभएर विदेशी कृपाबाट प्रधानमन्त्री बन्न पाएकोजस्तो गतिविधि गरिरहेको अवस्थाले जनतामा निराशा बढाएको छ । परराष्ट्रनीतिमा स्थिर नीति कायम गर्ने हो भने कुनै पनि सरकारको नेतृत्वलाई विदेश सम्बन्धमा यस्तो दयनीय अवस्था भोग्नुपर्ने स्थिति आउने छैन ।

परराष्ट्र नीतिसँगै देशभित्रको आन्तरिक अवस्थालाई सुधार गर्ने र समृद्धि राष्ट्र निर्माण गर्ने कुरा पनि महत्वपूर्ण हो । प्रधानमन्त्री ओलीले समृद्धि राष्ट्र र सुखी नेपाली भन्ने नारा धेरैपटक दोहो¥याउँदै आउनुभएको पाइन्छ । ओली प्रधानमन्त्री भएपछि सार्वजनिक स्थानबाट सार्वजनिक गर्ने विकास र समृद्धिका महत्वाकांक्षी योजनाका कारण पनि उनी समर्थनसँगै आलोचनाका पात्र समेत बनिरहेका छन् ।

ओलीले पाइपलाइनबाट घरघरमा ग्यास पु¥याउने, हावाबाट विद्युत् उत्पादन गर्ने, एक वर्षभित्र लोडसेडिङ मुक्त गर्ने, काठमाडौंमा रेल सञ्चालन गर्ने, नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनदेखि नेपालमै पेट्रोल उत्पादनलगायतका महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए । ओली मुलुकका कार्यकारी प्रमुख हुन् । उनले बोलेका कुराहरू व्यावहारिकतामा आधारित हुनुपर्छ । उनले बोलेका कुराहरू व्यावहारिक हुँदाहुँदै र सम्भव हुँदाहुँदै पनि किन कार्यान्वयन गर्नेतर्फ ध्यान पु¥याइएको छैन ? यस विषयमा सरकारमा रहेकाहरूले ध्यान पु¥याउनुपर्ने हो । प्रधानमन्त्रीबाट आश्वासन भएपछि जनस्तरबाट अपेक्षा गरिनु स्वाभाविक हो । आश्वासनपछि अपेक्षित काम नगरिंदा जनताबाट आलोचना आउनु पनि स्वाभाविक हो । जनताले आलोचना मात्र किन गरे भनेर जनतालाई सराप्नुभन्दा आफूले दिएको किन कार्यान्वयन गर्न सकिएन भन्नेतर्फ ध्यान पु¥याउनु जरुरी होला ।

मुलुक निर्माण र समृद्धिका लागि कसै न कसैले सपना देख्नैपर्छ । जुन प्रधानमन्त्री ओलीले देखेका थिए । उनले सार्वजनिक गरेका योजना असम्भव पनि देखिँदैनन् । बरु ती सपना पूरा हुन नदिन हामीहरू नै यो वा त्यो तहबाट सक्रिय भइरहेको हाम्रा गतिविधिले नै देखाइरहेको छ कि ? जिम्मेवारीमा बसेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here