बेपत्ता पारिएका आफन्त भन्छनः न्याय दिए मात्र मुलुक समृद्ध

185

काठमाडौँ, १५ भदौ । बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताएका छन् ।

जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आयोजना गरेको ‘वेपत्ता पारिएका पीडित परिवार र कानूनी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गरेर आफूलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताएका हुन् ।

साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले समृद्ध मुलुक बनाउने अभियान पूरा गर्नका लागि आफूहरुलाई न्याय दिनुपर्नेमा जोड दिदैं भने, ‘‘हाम्रा आफन्तको अवस्था अझै अज्ञात रहेको छ, पीडितको मनमा खुशी छैन, जबसम्म हामीले न्याय पाउँदैनौँ तबसम्म मुलुकमा समृद्धि र दिगो विकास हुन सक्दैन ।’

ओखलढुङ्गाका एकराज वाग्लेले छोरा गोपीकृष्ण वाग्ले २०५६ साल भदौ २९ गते चितवनको टारीबाट बेपत्ता भएकाले अझै अवस्था थाहा हुन नसकेको बताउँदै आफ्नो छोराको अवस्थावारे जानकारी गराउन सरकारसंग आग्रह गरे ।

राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी खरेलले बेपत्ताको स्थिति सार्वजनिक नहुँदा बेपत्ता परिवारको अवस्था दयनीय बन्दै गएको उल्लेख गर्दै सरकारले चाँडै नै बेपत्ताको अवस्था सार्वजनिक गर्नुपर्ने धारणा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here