काठमाडौं । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रकम रोक्ने निर्णय गरे लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्ने चेतावनी दिएका छन् । विद्रोही समूहमाथि नियन्त्रण कायम गर्न पाकिस्तान असफल रहेको आरोप अमेरिकाले लगाएपछि पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकालाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भनेका छन्–‘अमेरिकाको गलत कुरा हामी मान्दैनौ। तर अमेरिकासँग हामी सम्मानका साथ सम्बन्ध राख्न चाहन्छौ।’
अमेरिकाको आरोप अस्वीकार गर्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकामाथि पूरै निगरानी राख्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ । प्रधानमन्त्री खानले भनेका छन्– ‘अमेरिकासँग सम्बन्ध राम्रो राख्न चाहन्छौ, तर सबै गलत कुरा मान्दैनौ।’ त्यस्तै पाकिस्तानी प्रधानमन्त्रीले छिमेकी मुलुक भारतसँग पनि सम्बन्ध राम्रो राख्ने तर भारतले पनि हामीसँग सकारात्मक रबैया देखाउन जरुरी हुने जनाएका छन् ।
इस्लामावादमा पत्रकारहरुसँग कुरा गर्दै खानले आफूसँग धेरै चुनौतीहरु रहेको जनाएका छन् । प्रधानमन्त्री खानले पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाको खुलेर प्रसंशा गरेका छन् । पाकिस्तानको शैनिक मुख्यालयको भ्रमण गर्ने क्रममा प्रधानमन्त्री खानले सेना प्रमुख लगायत वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।

















