मून–कीम शिखर बैठक असोज २ मा

135

सिओल/ दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले जनाएका छन् ।

उत्तर कोरियाको भ्रमण गरेका राष्ट्रपति मूनका विशेषदूत चुङ उई–योङले उच्चस्तरीय बैठकको तयारीका लागि वार्ता र सहमतिहरु हुनेक्रममा रहेको जानकारी दिनुभयो ।

राष्ट्रपतीय राष्ट्रिय सुरक्षा कार्यालयका प्रमुख समेत रहेका चुङले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरिया भ्रमण गर्नुभएको थियो । उहाँका साथ राष्ट्रिय गुप्तचर निर्देशक सुह हून पनि सहभागी हुनुहुन्थ्यो ।

मून र कीमबीचको यो तेस्रो शिखर बैठक हुनेछ । यसअघिका दुईवटा भेटवार्ता सीमावर्ती गाउँ पानमुनजोममा भएका थिए ।

चुङले आगामी शिखर बैठकमा पानमुनजोममा दुई नेताबीच सम्पन्न अन्तर–कोरियाली शिखर बैठकका सम्झौताको कार्यान्वयनको समीक्षा हुने जनाउनुभयो ।

मून र कीमले औपचारिक रुपमै यस वर्षको अन्त्यअघि नै युद्ध समाप्त भएको घोषणा गर्न सहमति जनाउनुभएको छ । यस्तो घोषणाप्रति अमेरिकीहरुको धारणा केही फरक छ किनभने युद्ध समाप्त भएको घोषणा हुनासाथ दक्षिण कोरियामा तैनाथ हजारौं अमेरिकी सेनालाई फिर्ता लैजानुपर्ने दबाब सिर्जना हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here