काठमाडौँ/ पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दै गएको छ ।
सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिको विस्तृत विवरण लिएर नयाँ प्रयोगकर्ता बनेर अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने समेतका घटना भएका छन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१र७२ मा ३५, आव २०७२र७३ मा ४३, आव २०७३र७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ।
यस्तै मानव बेचबिखन सम्बन्धमा आव २०७१/७२ मा १८१, आव २०७२र७३ मा २१२, आव २०७३/७४ मा २२७ र आव २०७४/७५ मा ३०८ व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ।
नेपाल प्रहरीले साइबर अपराध सम्बन्धमा हाल महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत मुद्दा चलाउँदै आएको छ भने मानव बेचबिखनको क्षेत्रमा भने देशभरका २०८ प्रहरी इकाइबाट मुद्दा चल्दै आएको छ। महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले महाशाखामा एक वर्षमा एक हजार ५०० भन्दा बढी साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएको जानकारी दिए ।
मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका कारण साइबर अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रहरी प्रधान कार्यालयले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएको छ।















