गृहमन्त्री बादलको गूट परिवर्तनबारे चर्चा

248

काठमाडौँ/ मन्त्रीमण्डल परिवर्तन हुने र गृहमन्त्री बादल हटाइने चर्चा व्यापक भइरहेका बेला प्रधानमन्त्री केपी ओली र स्वयं गृहमन्त्री बादलले समेत तत्काल मन्त्रीमण्डल हेरफेर नहुने जनाएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको यो अभिव्यक्ति नेकपाका अध्यक्ष प्रचण्डले भारत भ्रमणमा जानुअघि व्यक्त गरेको धारणासंग बाझेको छ । प्रचण्ड भारतबाट नफर्किदै प्रधानमन्त्री र गृहमन्त्रीको लगनगाँठो कस्सिएको अनुभव विश्लेषकहरुले गरेका छन् ।

प्रचण्डले भारत भ्रमणमा जानुअघि आफ्नै निवासमा पत्रकारसँगको अन्तक्र्रियामा भनेका थिए, ‘सरकारका कामको समीक्षा, पार्टी एकताका लागि आवश्यक गृहकार्य दुई अध्यक्षले गर्ने, एउटा प्रस्ताव तयार पारेर सचिवालय र स्थायी समितिको बैठकबाट पारित गराई कार्यान्वयन गराउने तयारी छ । अहिले सरकारका काम, मन्त्रीका कामका विषयमा बलियो कदम चाल्नुपर्छ, त्यो यता उताको नभनिकन जो मन्त्री भए पनि कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौँ । अब जनतालाई निराश हुन दिनुहुँदैन ।’ मिडिया रिपोर्टमा गृहमन्त्री बादलमाथि आलोचना बढेपछि उनको पनि जिम्मेवारी हेरफेर हुन सक्ने जनाइएको थियो ।

हिजो शनिबार जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको जनाए । ।

‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’ प्रधानमन्त्री ओलीले भने ।

आफ्ना मन्त्रीहरुलाई आलोचना र हमलाबाट नडराउन पनि ओलीले आग्रह गर्दै भने ‘मेरो नेतृत्वमा पार्टी र सरकार बलियो बनेकाले विरोधीले हमला गरेका छन् । ओलीले भने, सरकार दूरदर्शी र स्पष्ट सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाउँदै हामी अघि बढिरहेका छौँ । कतिपयलाई यो मन परिरहेको छैन’ ।

त्यसै दिन २० औं वासु स्मृति दिवसमा सहभागी हुन गोरखा पुगेका गृहमन्त्री बादलले तत्कालै मन्त्रीमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको जनाउँदै भने, ‘मन्त्रीमण्डल हेरफेरको कुरा सत्यता छैन । बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन । यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here