ओलीको लोकतन्त्रभित्रका सामन्तवादी अनुहारहरु

315

हुकुमबहादुर सिंह
प्रधानमन्त्री केपी ओलीको लोकतन्त्रभित्रका सामन्तवादी अनुहारहरू अहिले क्रमशः जनताका बीचमा उद्घाटित बन्दै छन् । प्रथम– स्वयम् ओली यसका पहिलो नम्बरका पात्र बन्दै आएका छन् । उनका अभिव्यक्तिहरू र उनले प्रदर्शन गर्ने व्यवहार त्यसका लागि उदाहरण बन्दै छन् । भरखरै उनले यही भदौ २० गतेको एनटिभीको ‘जनतासित प्रधानमन्त्री कार्यक्रम’मा शिक्षा क्षेत्रको विषयलाई लिएर जे बोले अर्कोदिन उनकै मन्त्रीले खण्डन गर्न पुगे । । भदौ २०गते नेपाल टेलिभिजनमा प्रसारित जनतासित प्रधानमन्त्री कार्यक्रममार्फत जे जस्ता भूmटहरू उनले बोलेका छन् त्यसवारे उनलाई संसदमार्फत स्पष्टीकरण लिने कि नलिने । एउटा प्रधानमन्त्रीले त्यसरी भूmट बोल्न ठिक छ कि छैन् ? त्यसैगरी उनले अहिले एउटा सरकारी सुविधासम्पन्न बालुवाटारको दरबारलाई राजारजौटाले जस्तै एउटा व्यक्तिगत प्रयोजनका लागि उपयोग गरिरहेका छन् त्यसले पनि उनमा रहेको सामन्ती अनुहारलाई बाहिर ल्याउन मद्दत गर्दछ ।

उनले अहिले संघीयताको मर्म र मूल्यमान्यतालाई जसरी खुम्च्याउने काम गरिरहेका छन् र प्रदेशको अधिकारलाई खुम्च्याउने काम गर्दैछन्, त्यसले पनि उनको सामन्ती अनुहार स्वयम् स्पष्ट पार्दैछ भने उनका पार्टीका प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले जसरी जनताको भन्दा आफ्नो व्यक्तिगत सुख सुविधाका लागि जनताको करबाट उठेको पैसा खर्च गर्न खोजिरहेका छन्, त्यसले पनि ओलीको सामन्ती अनुहार तिनीहरूमार्फत् प्रतिविम्वित भइरहेको छ । ओलीका यी अनगिन्ती अनुहारहरू अहिले उनका मन्त्रीहरू, सांसदहरू र सिंगो प्रहरी प्रशासनमार्फत अभिव्यक्त भइरहेका छन् । जसमा धर्म निरपेक्षता र संघीयताको मर्म र मूल्यमान्यता विपरीतको कार्यान्वयन र देशमा गणतन्त्र नभई ओलीवंशको उत्पत्तिको इतिहास लेख्ने अभियानमा उनको क्रियाशीलता उनका व्यवहारले पुष्टि गरिरहेका छन् ।
अहिले ज्यानको सुरक्षाको माग गर्दै निर्मला हत्या छानविन आयोगका एकजना समिति सदस्यको राजीनामा आयो र उनले गरेको पत्रकार सम्मेलनमा उनीबाट अभिव्यक्त विचारहरूले यसलाई पुष्टि गर्दछन् कि नेपालमा गणतन्त्र आएकै छैन, सामन्तवाद यति बलियो छ कि प्रहरी, सेना तथा अन्य सरकारी उच्च ओहोदामा रहेकाहरूका विरुद्ध आवाज उठाउन पाइदैन र यदि उठाएमा ज्यान मार्नेसम्मका धम्की ती उच्च तहबाट आउँछन् । हालसालै एउटा पत्रकारलाई हत्कडी लगाइयो । उसको गल्ती केबल वर्तमान सरकारका दुईजना सांसद हरिसिद्धि ईंटा टायल कारखानामा संलग्न भएका खबर उनीहरूको फोटो राखेर छापेको थियो । एउटा अनलाइनले यसरी यस्ता समाचार छाप्दा यो सरकारका प्रधानमन्त्रीले ती सांसदको इमान्दारितामाथि छानविन गर्ने कि समाचार लेख्यो भनेर एउटा पत्रकारलाई हत्कडी लगाउन प्रहरी परिचालन गर्ने ? सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरू र सांसद तथा प्रहरीहरू नै जनतामाथि दमन गर्न थालेपछि नेपाली जनताको सुरक्षाको जिम्मा कसले लिने हो ? गम्भीर प्रश्न उठेको छ । यस्तो सरकार के दुईतिहाइको नाममा नेपाली जनतामाथि अनेक खालका आरोप लगाउने आफूहरू भने देशको सम्पत्तिमाथि ब्रह्मलुट मचाउने र तिनका ती देश र जनताविरोधी गलत कृयाकलापमाथि प्रश्न उठाउँदा उनीहरूका लागि सरकारले जेलनेल र हत्कडीको प्रयोग गर्ने ? यो कस्तो लेकतन्त्र र गणतन्त्र हो ? अब नेपाली जनताले उनीहरूसित आफ्नो मतको दुरूपयोग गरेकाबारे आवाज उठाउन मिल्ने कि नमिल्ने ? गम्भीर प्रश्न उठेका छन् र यी र यस्तै हर्कत गर्दै गए भविष्य उनीहरूका लागि त्यति अनुकूल हुने छैन ।

अहिले यी र यस्तै समाचारहरू र जनताका प्रतिक्रियाहरूबाट के स्पष्ट हुन्छ भने कि ओली र उनका मन्त्रिमण्डलका सदस्यहरू मात्रै होइन उनका पार्टीका नेता, सांसदहरू र देशको सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरीहरू पनि कति निरंकुश र फासीवादप्रति आकर्षित छन् र रूपमा देशभक्तजस्ता तर सारमा विदेशभक्ति कति राख्दोरहेछन् भन्ने स्पष्ट हुन्छ । एउटा पत्रकारले जनताका समाचारलाई कुनै सांसदको फोटो राखेर समाचार दिएको भरमा उसलाई हत्कडी लगाउन तम्सिने प्रहरी उसकै प्रधानमन्त्रीले आम जनतालाई गलत र झुटको जानकारी दिंदा उसको लागि ताली पिट्ने ? फेरि एउटा बलात्कारको घटनामा सत्यतत्थ्य पत्ता लगाउन कस्सिएको कर्मचारीले तिनै उच्च स्रोतबाट उनीमाथि ज्यान मार्नेसम्मको धम्की दिंदा यो सरकार र यसका प्रधानमन्त्री मुकदर्शक भएर बस्ने ? के यो सरकारका गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रशासनले काम गर्दोरहेछ त ? गम्भीर प्रश्न उठेको छ । समग्रमा अहिले ओलीको लोकतन्त्रभित्रका सामन्तवादी अनुहारहरू, उनका मन्त्रीहरू, सांसदहरू, प्रहरी प्रशासन र कर्मचारीतन्त्रमार्फत बाहिर छरपष्ट भएका छन् । र ओलीको लोकतन्त्रभित्रका यी सामन्तवादी अनुहारहरू च्यातचुत पार्न जनता सडकमा आउनुको विकल्प छैन । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here