असोज १२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाण्डू’ को हालै सार्वजनिक भएको प्रोमो हटाउन बोर्डले पत्र काटेपछि रिलिज अन्यौलमा परेको छ । अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीवीच इन्टिमेट सिनले फिल्म विवादको चर्को आलोचना गरिएको छ ।
आलोचना पनि यतिसम्म की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारमा केहीले प्रोमोलाई लिएर गुनासो गरेका छन् ।
सरकारले सम्बन्धित निकाय अर्थात् चलचित्र विकास बोर्डलाई प्रोमोको विषयमा बुझ्न पत्र काटेको छ । जसअन्तर्गत बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै अश्लिल प्रोमो हटाउन निर्देशन दिएकी छन्।
बोर्डले फिल्म निर्माण कम्पनीलाई तत्काल यूट्युबबाट प्रोमो हटाउन निर्देशन दिएको छ ।
प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा भनिएको छ ।
प्रोमो नहटाए फिल्म (निर्माण, वितरण तथा प्रदर्शन) नियमावली बमोजिम आवश्यक कारवाही हुने पत्रमा उल्लेख छ ।
फिल्मकी निर्देशक संगीता श्रेष्ठ भने बोर्डले रिलिजको बेला अनावश्यक तनाब दिएको जनाएकी छन् ।अहिले फिल्मको टिम मोफसल प्रचारमा व्यस्त छ । बोर्डले पत्र काटेसँगै फिल्मको प्रचारमा समेत असर परेको छ ।
मंगलवार अकास्मत पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो प्रोमोको होइन । अरु च्यानलको लिंकलाई लिएर हामीलाई कारबाही गर्छु भन्नु कति उचित छ ?’ ‘बोर्डले पत्रमा प्रोमोलाई अश्लिल भनेकोप्रति पनि उनले आपत्ति जनाइन् । ‘एउटा जिम्मेवार संस्थाले प्रोमोलाई अश्लिल भन्न मिल्छ ?’ ‘आपत्तिजनक भनेको भए स्वभाविक हुने थियो । अश्लिल भन्न मिल्दैन ।’ उनले फिल्मको कथा नै प्रोमो र गीतमा देखाएको जनाइन् ।
‘श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । फिल्मले यही कथा बोल्छ । के एउटा मेकर्सले आफ्नो कथा भन्न पाउने अधिकार पनि छैन ?’ निर्देशक श्रेष्ठले बोर्डलाई प्रश्न गरिन् ।


















