बालुवाटार काण्डले नेपालीहरूलाई किन ‘तैं चुप, मै चुप’ बनायो कुन्नी !

269

 चन्द्रप्रकाश बानियाँ
थरले वंशको प्रतिनिधित्व गर्छ भनेर मानिन्छ । परिचित होस् वा अपरचित आफ्नो थरगोत्रको कुनै मानिसले गरेको उन्नति, प्रगति वा पुरुषार्थ सबै थरगोत्रीहरूको लागि गौरवको विषय बन्नु स्वाभाविक हो । खड्गप्रसाद ओली प्रधानमन्त्री चुनिनु ओलीवंशका लागि गौरव गरिमाको विषय मानिने नै भो । स्वभावतः ओलीवंशले आफ्नो थरको मान सम्मान उच्च बनाउने पुरुषार्थी प्रधानमन्त्रीको अभिनन्दन गर्ने मनसाय जाहेर ग¥यो । सधै भावावेश र उत्तेजनामा रहने प्रमजीले त्यस्तो कार्यक्रमको आयोजना आफ्नै आवासमा गर्ने सल्लाह दिए । भावातिरेकमा बालुवाटार दरबार सरकारी निवास हो भन्ने कुरा मर्लक्क बिर्सिदिए । ओलीवंशको लागि बालुवाटार दरबारमा कार्यक्रम आयोजना गर्न पाउनु सौभाग्यकै विषय थियो । उचित अनुचितको विवेक गर्नुपर्ने प्रधानमन्त्रीले थियो । उनले गरेनन् । केजातिले केरा पाउँदा बोक्रैसमेत खाएको अब्बल उदाहरण प्रस्तुत गरेपछि अरुको के दोष ? वास्तवमा त्यो घटनाले सिंगो ओलीवंशलाई गौरवान्वित बनाएको भए पनि स्वयं अभिनन्दित हुनेहरूलाई भने निन्दित हुनुपर्ने बनायो । सम्भवतः यो घटनाले प्रधानमन्त्रीका हरेक लहडी र बकम्फुसे अभिव्यक्तिमा मच्ची मच्ची ताली बनाउने हनुमन्तेहरूको समेत शिरोवनत बनाएको छ भन्दा अतिशयोक्ति नमानिएला कि ?!

बालुवाटार दरबार परिसरमा मञ्चन भएको ओलीभेला दुनियाँलाई आश्चर्यचकित बनाउने परिघटना होइन भन्न मिल्दैन । बालुवाटारमा सम्पन्न भएको हुनाले त्यसलाई ओलीबन्धुहरूको आयोजना भन्न मिल्दैन । दुनियाँले त्यसलाई प्रधानमन्त्रीबाट आयोजना भएको “स्ववंशभेला” भनेरै बुभ्mदछ । जनताको मतद्वारा निर्वाचित प्रधानमन्त्रीले सरकारी आवासमा जुनसुकै प्रयोजना र उ्द्देश्यको लागि थरवंशको भेला आयोजना गर्नु कदाचित उचित हुदैनथ्यो । त्यस्तो भेला “जङ्गबहादुर शैली”को भद्दा अनुकृति होइन भन्न मिल्दैन । जङ्गबहादुरको त्यस्तो चेष्टाले राणा शासनलाई जन्म दिएको थियो । अवश्य ओलीहरूको र जङ्गखलकको भेलाको उद्देश्यमा समानता थिएन तर अलिकता दुर्गन्ध त अवश्य मिसिएको अनुभूति आम नेपालीले गर्नु अस्वाभाविक होइन । एउटा आश्चर्यजनक घटना के पनि घटिदियो भने “गोबरग्यास प्लान्ट” को उद्घाटन प्रधानमन्त्रीको हातबाट सम्पन्न हँुदा स्वर्गको द्वार नै खुलेको पो हो कि भनेझै गरी होहल्ला गर्ने र प्रशस्ति गाउने भजनमण्डलीहरू समेत यसपटक चुप लागेको देखियो । उनीहरूमा आफ्नै पूर्वचेष्टाप्रति लज्जाबोध जागेको हो अथवा प्रमको नविनतम चेष्टाप्रति वितृष्णा उन्पन्न भएको हो भनेर खुट्टयाउन भने कठिन छ ।

 

ओलीवंशका लागि आफ्नो वंशको एउटा सदस्य देशको सर्वोच्च कार्यकारीको हैसियतमा पु्ग्नु गौरवको विषय हो । त्यसमाथि वंशको भेला बालुवाटार दरबार परिसरमा आयोजना गर्न पाउनु थप गरिमाको विषय हो । अभिनन्दनको नाममा सरकारी खर्चमै वंशको कार्यक्रम आयोजना हुनु थप गर्व गर्नुपर्ने कुरा होइन भन्न मिल्दैन । ओलीवंश नेपाली नागरिकहरूकै एउटा थरसमूह हो । अर्थात बालुवाटारमा जम्मा हुने ओलीहरू नेपाली नागरिकहरू नै हुन । भेलामा विदेशीहरूको उपस्थिति थियो जस्तो लाग्दैन । उनीहरूले अनुभूत गरेको गौरवानुभूतिले नेपालीहरूको प्रतिनिधित्व गर्दछ । त्यसअर्थमा त्यो कर्म स्वागतयोग्य कुरा थियो । प्रशंसा गर्नुपर्ने विषय थियो । त्यत्रो महत्वको विषयमा भजनभट्टहरूको मुख नखुल्नु दुर्भाग्यको विषय होइन कसरी भन्न मिल्छ र ? त्यत्रो महत्वको विषयमा प्रशंसाका दुई शब्द खर्चन कञ्जुस्याई किन गरिएको होला भनेर नेपालीसमाज यतिखेर आश्चभर्यचकित भएको छ । बिताउनुपर्ने दिव्य चारबर्ष बाँकी नै छ । हनुमानहरू यतिचाँडै शिथिल भैदिने हो भने “लङ्कादहन”को महान अभियान अलपत्र पर्ने चिन्ता लाग्नु स्वाभाविक हो । साँचै कुरो त्यस्तै हो भने हनुमानहरूलाई उत्प्रेरित गर्ने जाम्ववानहरूको खोजी बेलैमा गर्नुपर्ने कुरातिर मुलुकको ध्यान जानु आवश्यक भैसकेजस्तो लाग्दो रहेछ ।

 

स्वस्थ निन्दा आलोचनको अभावमा सरकार निरंकुशतातिर उन्मुख हुनसक्छ भनिन्छ । सरकारलाई सधै सतर्क र सचेत बनाउने तत्व भनेको प्रतिपक्ष र सडकको आवाजले हो । सम्यक र स्वस्थ आलोचनाले सरकारलाई सधैभरी सकारात्मक बाटोतिर डो¥याउनमा मद्दत पु¥याउँछ । भजनमण्डलीको चाटुकारिताले सरकारलाई नकारात्मक दिशातिर उत्प्रेरित गर्दछ । यतिखेर, खासगरेर पछिल्लो बालुवाटार भेलाको सन्दर्भमा दुबैथतिरबाट पमतिक्रिया सून्य भएको छ भन्नु अतियोक्ति हुदैन । गठन हुँदैका दिनदेखि जनताको आवाज सुन्ने सरकारका कानहरू बन्द भएको अनुभूति नेपाली समाजले गर्दै आएको छ । जति कराए पनि सरकार सुध्रने लक्षण नेदेखिएपछि व्यर्थैमा घोक्रो किन सुकाउनु भनेर जनताले मुख थुन्नु श्रेयस्कर ठान्न थालेको हो । आफैले जन्माएको सरकारले आफैलाई बिर्सिएको नमिठो अनुभूतिले जनतालई मर्माहत बनाएको हो । पाँचवर्ष सरकारको अकर्मण्यता र चर्र्तिकला हेरेर बस्तुपर्ने वाध्यताले जनतालाई निरिह तमासे बनाएको छ । आफैले सिर्जना गरेको दुर्नियति तत्काल बदल्न सक्ने सामथ्र्य जनतासँग छैन । अर्कोतिर सही र गलतको मूल्याङ्कन विना सरकारका हरेक कदममा आँखा चिम्लेर ताली बजाउने लठिभद्रहरू पनि यतिखेर सुस्वादु चारो ठानेर आगोको रातो फिलिङ्गो निल्न पुगेको मुर्ख कुखुराको भालेको नियतिबाट व्यथित छन् । एकपछि अर्को सरकारका हरेक पाइलाहरू गलत सावित हुन थालेपछि सरकारसँगै आफूहरू पनि ठट्टाको पात्र बन्नुपरेको तथ्यबोधले हनुमानहरूको मुखमा ताला लाग्न थालेको सङ्केत यसपटक देखिएको पो हो कि भन्ने अनुमान समाजमा हुन थालेको छ ?

 

देशमा व्याप्त हुन थालेको निशब्द चकमन्नताले सायद सरकारलाई पनि झस्काउन थालेको छ । घोर निद्रामा निमग्न हुन थालेका हनुमानहरूलाई जगाउन हनुमान चालिसाको तुमुलनाद उत्पन्न गर्नुपर्ने आवश्यकताको अनुभूति सरकारी पक्षलाई पनि भएको हुनुपर्छ । कुम्भकर्ण निद्रामा सुतेका हनुमानहरूलाई जगाउन विरोधी स्वरहरू मुखरित हुने परिस्थिति निर्माण हुनु आवश्यक छ भन्ने कुरा सरकारी पक्षले राम्रैसँग बुझेको छ । सम्भवतः बालुवाटार प्रकरणको मञ्चन त्यही लक्ष निर्देशित पो थियो कि ? विरोधी पक्ष अर्थात आलोचकहरूलाई उत्तेजित बनाउने मनासायबाटै जानीबुझिकन त्यस्तो प्रपञ्च रचिएको पो थियो कि ? समाजमा तरङ्ग उत्पन्न गर्नकै लागि सरकारको पुनर्गठनको हल्ला पनि विहान चलाइन्छ र बेलाुका होइन भनेर स्पष्टिकरण दिइन्छ । पार्टी अध्यक्षको एउटा मुखले बोलेको कुरा अर्को मुखले खण्डन गर्छ । हुनत दुईमुखे भाण्डको नियति त्यो भन्दा फmरक होला भनेर अपेक्षा गर्नु पनि मुर्खता नै हो ।

समर्थकलाई लज्जावनत बनाउने र विरोधीहरूलाई उत्तेजित बनाउने बालुवाटारकाण्ड प्रतिक्रिया विहीन बन्ने अनुमान सायद सरकारी पक्षले गरेको थिएन । त्यो अर्को खेमालाई उत्तेजित बनाउने र भड्काउने उद्देश्य प्रेरित प्रपञ्च नै थियो । सम्भवतः प्रमुख प्रतिपक्षलाई विपक्षको कर्तव्याकर्तव्यको अनुभव छैन । सत्ताको सपनाबाट नेपाली काँग्रेस पूर्णरूपमा ब्युँझिसेककै छैन । के बोल्ने र कतिखेर बोल्ने भन्ने शुभमुहुर्त खुट्याउन नसकेर हतप्रभ छ । प्रतिपक्ष नबोले पनि सडक बोल्नुपथ्र्यो, जनता त बोल्नु पथ्र्यो, मिडिया बोल्नुपथ्र्यो । लाटीले केरा देखे झै जनताका विस्फारित नेत्रहरू बालुवाटारतिर तेर्सिएका मात्र छन् । नहुनुपर्ने कुरा भएको अनुभूति भएको छ । तर बोल्नुपर्ने आवश्यकता देखेको छैन । अर्थात बोल्नुको अर्थ नभएपछि तोलाको वचन खोलामा किन मिल्काउनु भनेर चुप लागेको छ । जनताको मुख नखुल्नुको अर्को कारण पनि छ । बालुवाटार घटना एउटा जबर्जस्त नैतिक प्रश्न उठाउने विषय हो । निचता र पतनको त्यो भन्दा निकृष्ट उदाहरण अर्को हुनै सक्तैन । लाजसरम पचाउने विराट सामथ्र्य भएकाहरूबाट मात्र त्यस्तो चेष्टा सम्भव हुन्छ । त्यतिसम्म तल ओर्लन सक्ने मानिसबाट नैतिकताको आशा कसरी गर्ने ? देश र समाजको मौनता त्यही निराशाको अभिव्यक्ति हो । जनस्तरबाट आलोचनाको स्वरहरू नसुनिएपछि भजनभट्टहरूको कुम्भकर्णे निद्रा खुल्ने कुरा पनि भएन । त्यसैल न निन्दा न प्रशंसाको विचित्र स्थिति उत्पन्न भएको हो । यतिखेर सिंगो देश प्रतिक्रियाविहीन बनाउने “इन्द्रजिते सम्मोहनास्त्र” कसले प्रयोग ग¥यो भन्ने कुरा सरकारको लागि गहिरो खोज अनुसन्धानको विषय बनेको छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here