समाजवादी र राजपालाई पालैपालो प्रयोग गर्दै नेकपा

58

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका अन्य नेताहरूले भन्दै आउनुभएको राजनीतिक सङ्क्रमण समाप्त भएर आर्थिक समृद्धिको यात्रा सुरु भएको कुरा नेकपा र राजपाको दुईबुँदे सहमतिले पुष्टि गरेको छ ।  देश विखण्डनको नारा दिएर आन्दोलन गरिरहनुभएका सीके राउतलाई मूलधारमा ल्याएर सरकारले ठूलै उपलब्धि हासिल गरेको थियो । यसले गर्दा सरकारको निकै प्रशंसा पनि भएको थियो ।

संविधान संशोधनको माग राख्दै आन्दोलनको चेतावनी दिँदै आएका पार्टीहरूमध्ये समाजवादी पार्टी सरकारमै सहभागी छ । संविधान संशोधनको माग राखे पनि सडक आन्दोलन तथा विरोधका कार्यक्रम गर्न पाएको छैन । संविधान निर्माण भएको दिनलाई मधेसमा कालो दिवसका रूपमा मनाउँदै आएका समाजवादी पार्टी र जनमत पार्टीले सरकारसँग सहमति गरेपछि त्यो दिवस मनाउन छाडेका छन् ।

राजपा नेपालले मात्र संविधान निर्माणको दिनलाई विरोध गर्दै कालो दिवस मनाउँदै आएको थियो । पुस २ गते नेकपासँग दुईबुँदे सहमति गरेपछि राजपा नेपालले पनि विरोधका कार्यक्रम नगर्ने विश्वास गरिएको छ ।

संविधान संशोधनलगायत बन्दी रिहा, मुद्दा फिर्तालगायतका माग राख्दै राजपा नेपाल आन्दोलनमा थियो ।

राष्ट्रिय सभा चुनावमा सहकार्य गर्ने सहमतिका साथै आगामी दिनमा दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने पनि सहमति गरिएको छ । यसले यी दुई दललाई झन् नजिक ल्याएको विश्लेषकहरूको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here