काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आज हुने भनिएका सबै परीक्षा यथावत् रुपमा सञ्चालन हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने जनाएको हो । त्यस्तै विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा आज अर्को सूचना निकालेर जानकारी गराउने जनाएको छ ।
कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणलाई ध्यानमा राख्दै सरकारले बिहीबारदेखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा पनि स्थगित गरेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय र प्राविधिक तथा व्यवसायिक शिक्षा परिषद् सीटीईभीटीका परीक्षासमेत स्थगित गरेको छ ।
कोरोना भाइरसको रोकथामको लागि सरकारले चैतमा हुने त्रिवि र सीटीईभीटीका परीक्षा स्थगित गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । बिहीबार त्रिवि र सीटीईभीटीका पदाधिकारीसँग बैठक गरेर थप रणनीति तय गरिने मन्त्री पोखरेलको भनाई छ ।


















