काठमाडौं/ काठमाडौं महानगरपालिकालाई उपत्यकामा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन गरेको चिनियाँ टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ । कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।
चक्रपथमा मोनोरेल निर्माणका लागि करिब १ खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन सम्झौता गरेको चार महिना पनि नपुग्दै चाइनाको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) ले बिहीबार काठमाडौं र ललितपुर दुवै महानगरपालिका प्रमुखलाई हस्तान्तरण गरेको हो ।
प्रतिवेदनमा मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको जनाइएको छ ।
यसअघि सो कम्पनीले गत ११ जेठमा ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने भन्दै चाइनाको चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकासँग काठमाडौंको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।
चिनियाँ कम्पनीले दुवै महानगरपालिकाले निर्माणका लागि सहमति दिए आफूहरु डीपीआरका लागि तयार रहेको पनि जानकारी दिएको छ ।
(सीआरसीसी) कम्पनीका इन्टरनेसनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको जानकारी दिए । यसकालागि महानगरसँग हुने सम्झौताका अधारमा तोकिएको समयभित्र कामगर्न आफूहरु प्रतिवद्ध रहेको पनि उनले जनाउँदै महानगरपालिकाले छिटो निर्णय दिए आफूहरुले डीपीआर सुरु गर्ने जनाएका छन् ।
चिनियाँ कम्पनिले दिएको प्रतिवेदन ग्रहण गरेपछि काठमाडौंका महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले प्रतिवेदन ग्रहण गरेपछि भने, ‘यो प्रतिवेदनको दुबै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्नेछौँ । हाम्रो अध्ययनले यसलाई उचित ठानेमा केन्द्र र प्रदेश सरकारसँग पनि कुराकानी गरेर काम अघि बढाउने छौं ।’मेयर शाक्यले भने, एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई–तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गछौं ।’
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जनले पनि चिनिया कम्पनीसँग काम गर्न आफूहरु इच्छुक रहेको जनाए ।
सिआरसीसीले डीपीआर सुरु गरेको ६ महिना भित्र प्रतिवेदन बुझाउने र काम कम सुरु गरेको तीन वर्ष भित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ । सिआरसीसीले आफ्नो प्रतिवेदनमा पहिलो चरणमा कोटेश्वरलेखि कलंकीसम्म, दोस्रो चरणमा कलंकीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने जनाएको छ ।


















