काठमाडौं । नोबेल शिक्षण अस्पतालले मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा ३ हजार ५ सय ४० जना बिरामीहरुको निःशुल्क उपचार गरेको थियो । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जानकारी दिएको छ ।
गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ जनाले भिडियो एक्सरे र ४७ जनाले ल्यावटेष्ट गराउँनुका साथै ३ सय २७ जना बिरामीहरुले निःशुल्क उपचार सेवा लिएका थिए । बेलवारी नगरपालिका–८ बिहिबारेमा सोमबार गरिएको शिविरमा ६ सय ८ जना बिरामीले निःशुल्क उपचार गराए । शिविरमा ८२ जनाको भिडियो एक्सरे, ६५ जनाको ल्यावटेष्ट र २१ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जनाएका छन् । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका ५५ जनालाई नोबेल अस्पताल पठाइएको छ ।
नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार मोरङको बुढिगंगा गाउँपालिका–६ सुकचरमा बिहिबार सञ्चालित शिविरबाट ४ सय ३२ जना बिरामीले निःशुल्क उपचार पाएका छन् । स्थानीय नारायण माध्यमिक बिद्यालयमा भएको शिविरमा ६७ जनाको भिडियो एक्सरे, ३६ जनाको ल्यावटेष्ट र २८ जनाको ईसीजी गरिएको थियो । त्यस्तैगरी, मोरङको ग्रामथान गाउँपालिका स्थित तेतरियामा पनि शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार १ सय ७६ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २ सय ८३ जनाको भिडियो एक्सरे, १ सय ७३ जनाको इसीजी र २ सय ९० जनाको ल्याबटेष्ट गरिएको छ । शिविरमा हाडजोर्नी, दम, रुघाखोकी र आँखामा समस्या भएका विरामी बढी आएका दाहालको भनाई छ ।
नोबेलले गर्ने हरेक शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोली गएर मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । गाउँ–गाउँमा शिविर चलाईदा उपचारमा धेरै सहज भएको शिविरमा आएका बिरामीले प्रतिक्रिया दिएका छन् । निःशुल्क शिविरबाट धेरै राहत मिलेको बिरामीहरुबाट प्रतिक्रिया आईरहेकाले पूर्वका बिभिन्न जिल्लामा शिविरलाई निरन्तरता दिईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । बिपन्न बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको नोबेलले गत आर्थिक बर्षमा पनि शिविरमार्फत ४९ हजार बिरामीको निःशुल्क उपचार गरेको थियो ।


















