पञ्चायतकालकै जस्तो देखियो संविधान दिवस

217

काठमाडौं/ सरकारले चौथो संविधान दिवस टुंडिखेलमा भव्य आयोजना गरी मनाएको छ । पञ्चायतकालमा संविधान दिवस यसैगरी सरकारी उर्दी जारी गरेर मनाउने गरिन्थ्यो । जनतामा व्यापक निराशा छाइरहेको वर्तमान अवस्थामा सरकारले उर्दी जारी गर्दा पनि टुंडिखेलमा जनताको उपस्थिति उल्लेख्य भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस मनाउन उपस्थित भएकाहरूलाई सम्बोधन गर्दै समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा प्रधानमन्त्रीले समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय संकल्प हो । यस्तो संकल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै जीवन उत्सर्ग गर्ने, रगत÷पसिना बगाउने देशवासीसँगै पटकपटक गरेका छौँ । हामी अब समृद्धिको सपना देखाउने चरणबाट परिवर्तन महसुस गराउने चरणमा प्रवेश गरेका छौँ भन्दै आधुनिक नेपालको कोसेढुङ्गा सावित हुने गरी संविधान जारी र कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जिउने अभिलाषा पूरा हुने आशा व्यक्त गरेका छन् ।

अधिकार प्राप्तिको राजनीतिक आन्दोलनको चरण र प्रयोग सकिएकाले अब शान्तिपूर्ण, सशक्त वा सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै इतिहास बन्नुपर्नेमा जोड दिँदै ओलीले अब त्यस्तो क्रियाकलाप आवश्यक नभएको चेतावनी पनि दिएका छन् । प्रधानमन्त्री ओलीले विवेकहीन नहुने र राज्यले विधि मिच्न मिल्दैन भन्नेमा सरकार स्पष्ट रहेको पनि उल्लेख गरेका छन् ।

समारोहमा प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री, मन्त्रीगण र उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो । -जनधारणा सााप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here