-वसन्त कुमार चौधरी
अस्पतालको प्राङ्गणमा उभिएको उसका दुवै हात कम्मर पछाडि थिए। मन्द मुस्कान सहित उभिएर हेरिरहेको उसलाई अस्पतालमा आउने कसै कसैले चिने पनि धेरैले चिनेनन् होला। ऊ विशाल अस्पतालको प्रांगण अगाडि उभिएर त्यहाँ हुने गतिविधि हेरिरहेको छ। उसलाई यसरी हेर्दा लाग्थ्यो, ऊ कुनै मन्दिर अगाडि भगवान सामु उभिएको छ र प्रियजनलाई हेर्दैछ, स्नेह र प्रेमपूर्वक। अनि भरिएको छ, श्रद्धा र प्रेमले हृदयदेखि नै । जसको दृश्यले उसको मनलाई सधैं शीतलता दिन्छ, प्रेरणा दिन्छ।
बिरामीको ओहोरदोहोर। कोही आउँदै, कोही जाँदै। सबै हतारमा देखिन्छन्। यसरी छटपटी र पीडा बोकेर आउने मानिसहरूको लहर कुनै नदी बगेजस्तो आभास हुन्थ्यो अस्पतालमा। कोही बिरामी सामान्य उपचार पश्चात स्वास्थ्य लाभको वरदान बोकी हाँस्दै फर्कन्थे, कोही बाँच्ने आशामा हतार हतार भित्र पस्थे। अनि कसैलाई उपचारले नछुँदा मृत्युवरण गरेर आफन्तजनलाई वेदनाका आँसु बोकाएर सदाका लागि बिदा हुन्थे। दुःख–सुख, मिलन–बिछोडको चौतारीजस्तै लाग्छ उसलाई अस्पताल। अझभन्दा उसले आत्मादेखि स्वास्थ्यलाभको कामना गरी प्रार्थना गरेका मन, आशाका किरण बोकेका आँखा, स्वास्थ्यलाभले सन्तोष मानेका अनुहार र पीडामा रसाएका नयन हेर्दा जीवनका सबै रङहरूको एउटा संयोजनजस्तै लाग्छ अस्पताल उसलाई।
तर सबैभन्दा सुखानुभूति उसलाई तब हुन्छ, जब बिरामी स्वस्थ भई हाँस्दैहाँस्दै घर फर्किन्छ र मनैमन डाक्टर या अस्पताललाई साधुवाद भन्दै स्वस्थ भविष्यको सपना च्यापेर फर्किन्छन्। बिरामीको आनन्दी र सौम्य मुस्कानले उसलाई ऊर्जा दिन्छ र सधैं प्रोत्साहित गर्छ। उसको सधैं एउटै कामना हुन्छ, उपचार गराउन आएका सबै बिरामी स्वस्थ बनून्। स्वस्थ भएर जानेहरूको मृदुल मुस्कानले ऊ तृप्त बन्छ, साउनको धर्तीजस्तै। उसका आँखाअगाडि उभिएको यस्ता सपना हेरेर ऊ कहिल्यै थाक्दैन। यद्यपि यो सपना साकार गर्न उसले धेरै नै संघर्ष र त्याग गरेको थियो।
जीवनको किशोर बेलामा ऊ अस्वस्थ भएको थियो झन्डै ३५ वर्षअगाडि। बिरामी छोरालाई उपचारार्थ बुवाआमाले भारतको एउटा अस्पतालमा लिएर गएका थिए। किशोरावस्थाको अस्वस्थ छोरा अनि परदेशको बिरानो ठाउँ। त्यस बेला अस्पतालमा उसले सहज तरिकाले उपचार गर्न पनि पाएन। उसको उपचारका लागि बा–आमाले गरेको त्यो प्रयास र दुःखको साक्षी ऊ मात्र छ सायद। यस दुसाध्य अवस्थाको साक्षात्कारले उसको अन्तस्करणसम्म छोएको थियो र झकझकाएको थियो उसको आत्मालाई। अस्पताल–प्रशासनको व्यवहार, उपचारका क्रममा आइपरेका अनेकौं समस्या र लाचारीले उसलाई बिरामी अवस्थामै दृढ बनायो। बिरामी तन, निराशित मन र बा–आमाको पीडा, त्यस अवस्थाको अनुभूति उसले मात्र गर्न सक्छ। कठिनतम् परिस्थितिको त्यस समय–खण्डमा उसको हृदयको भित्री तहसम्म सुइरोजस्तै घोच्यो। अनि हृदयको जमिनमा समयले एउटा दृढ संकल्पको बीउ रोप्यो, म एउटा अस्पताल जसरी पनि खोल्छु। बिरामी तन र मानसिकताभित्र दृढ बनेको उसको मनको अभिलाषा सम्झँदा अहिले पनि उसलाई आश्चर्य लाग्छ, के ऊ त्यो सपनाको कारक थियो त ?
तर समय कसैको पेवा हुन्न। सपना पनि त्यस्तै हो। जीर्ण शरीर अनि किशोर मनको जमिनमा उम्रिएको सपनाको त्यो सानो बीउ आज विशाल अस्पतालरूपी वटवृक्ष भएर फैलिएको छ। त्यो सदाकाल हरभरा छ, स्वस्थ र सुन्दर छ।
त्यही आफ्नो साकार सपनालाई ऊ पटकपटक नजिकबाट नियाल्छ, छाम्छ र माया गर्छ। किनकि त्यो सपनासँग उसका कैयौं भावनात्मक सम्बन्धहरू जोडिएका छन्, तीतामीठा स्मृतिहरू गाँसिएका छन्। तिनले वात्सल्य, ममता र आदर्श बनेर उसलाई हौसला दिन हरपल झक्झकाएका छन्।
उपचारका क्रममा परदेशको ठाउँ, कठिनाइहरू धेरै आए। अस्पतालले बिरामी छोरालाई भर्ना गर्न नमान्दा बाले अस्पताल प्रशासनसँग हात जोडेर अनुनय गर्नु परेको थियो। धेरै बिन्ती गरेपछि बल्लबल्ल रगतका टाटाले रंगिएको ओछ्यानमा उसले भर्ना पाएको थियो। बिरामी छोराको पीडामा चिन्तित बा–आमाको मनस्थिति उसले बुझेको थियो नजिकबाट। त्यस बेला उनीहरू कति लाचार र निरीह भएका थिए। त्यही दौरान आमाले रूखको फेदमा खाना बनाउँदै खुवाएकी थिइन्। हरपल उनको मन छोराको स्वास्थ्यका लागि ईश्वरको प्रार्थनामा लीन हुन्थ्यो। ममत्वले भरिएको, पीडाले छटपटिएको, मायाले पूर्ण।
रूखको फेदमा खाना पकाउन पनि कहाँ सजिलो थियो र १ हावाहुरी, पानीघाम। यस्तो प्रतिकूलतामा पनि आमाले आफ्नो हातले त्यति दुःख गरेर पकाएर आफूलाई खुवाएको त्यो पलको स्मृतिले उसको गला सधैं अवरुद्ध हुन्छ। खुवाउँथिन् त सधैं अरू बेला पनि। तर पनि त्यो बेलाको खुवाइ र अरू बेलाको खुवाइमा फरक थियो। त्यो बेला पीडा र प्रार्थना पनि सँगै थिए, सन्ताप र असहायपन पनि सँगै थिए। बाको प्रयास र छटपटी आमाको स्नेह र स्याहार अनि ईश्वर–प्रार्थनाको त्यस घडीमा बिरामी भएर ऊ सुतेको थियो तर छटपटाहट र पीडा बा–आमामा थियो।
अभिभावकको सन्तानप्रतिको पीडा कस्तो हुन्छ भन्ने कुरा त्यस बेला नै उसले महसुस गरेको थियो। मनमनमा लागिरहन्थो, मेरो बा–आमाको जस्तो निरीह अवस्था कसैका बा–आमाको नहोस्। त्यस बेला ऊ बिरामी नहुँदो हो, बा–आमाले त्यस्तो दुःख नउठाउँदा हुन् त उसको मनमा यस्तो टिस लाग्ने थिएन। न त अस्पतालको सपना देख्थ्यो, न आज यसरी यस्तो तृप्तिको अनुभव नै गर्न पाउँथ्यो। आज उसको जीवनको सफलताकोे सारा श्रेय, सपनाको सम्पूर्ण सार्थकताको जस बा–आमालाई जान्छ। र, ती सहृदयीलाई जान्छ, जसको छत्रछायाँले उसको स्वास्थ्यलाभको जस्तै सपना साकार पारेको थियो। त्यस बेलाको बा–आमाको अवस्था सम्झँदा उसको मनमा लागिरहन्थ्यो, कुनै पनि बा–आमाले यस्तो दुःख पाउनु नपरोस्, न त सन्तानको उपचारका लागि यस हदसम्म छटपटिनु परोस्।
उसै पनि उसलाई ठूल्ठूला सपनाहरूले कहिल्यै दुःख दिएनन्। तर उसले अस्पतालको यो सपना बिरामी भएर अस्पतालमै सुतेको बेला देख्यो। परिस्थिति र समयले देख्न बाध्य पारेको थियो। त्यो सपना र कल्पनाले उसलाई कहिल्यै छाडेन। उपचारपछि ऊ बा–आमासँग घर फर्कियो। ऊ स्वस्थ बन्नु नै समयको ठूलो न्याय थियो, उपहार थियो उसका लागि। बाको आशिष्, आमाको प्रार्थना स्वीकारेर ईश्वरले धन्य गरे उसलाई। दिनहरू आए, गए। ऋतहरू आए, गए। किशोर मनले देखेको त्यो सपना समाजसेवाको भावसँगसँगै उद्देश्य बनेर मनमा बढिरह्यो। समय, प्रयास, प्रोत्साहन, उतारचढाव, सपना र यथार्थको युद्धमा पनि त्यो हराएन र डराएन।
सपनाले समय पर्खिरहेको थियो भने उसले अवसर। जीवन–यात्राको एउटा मोडमा उसले अस्पतालको सपनालाई पूर्णता दिन सहकार्यमा एउटा अस्पताल खोल्यो। यद्यपि सपनाले खुट्टा टेक्न नपाउँदै सहकार्य टुट्यो र क्लिनिकको सानो आयाममा त्यो खुम्चियो। सपना पूरा नहुनुमा पीडा हुँदैन तर टुक्रिनुमा ज्यादै पीडा हुन्छ। टुक्रिएको सपनालाई उसले त्यसै छाडेन। तर, अस्पताल र क्लिनिक अनि क्लिनिक र अस्पतालसम्मको यात्रा भने सहज रहेन।
जहिले पनि उसको सपना लरबराउन खोज्थ्यो, अस्पतालका आफ्ना मार्मिक बिरामीका ती दिनहरू उसलाई झक्झकाउन आउँथे। आमा–बाका मुहारसँगै झलझली त्यो स्मृतिले सपनालाई अझ दृढ बनाउँथ्यो, अरू संकल्प उठ्थ्यो, मनमा आशीर्वाद भएर। सपना देख्न कसैले कसैलाई रोक्न सक्दैन। तर, ती सपना पूरा गर्न हिम्मत, लगन, धैर्य, मेहनत र दूरदृष्टि चाहिन्छ भन्ने कुरा उसका निजी अनुभवहरू हुन्, उसले जीवन भोगाइमा अनुभव गरेका। टुक्रिएको सपनालाई भुइँमा झर्न दिएन उसले, सपनालाई सधैं माया गरिरह्यो। त्यसैले आज ऊ आफ्नो कर्मप्रति सन्तुष्ट छ, परिपूर्ण छ।
क्लिनिकमा उसको मन रमाएन। संकुचित भएको सपना हेरेर कतिपटक त मन पनि कुँडियो। समय आयो फेरि अस्पताल खोल्ने। एक हिसाबले भन्दा पैतृक प्राप्तिको प्रायः सबै लाभांश उसले अस्पतालमा खर्च गर्यो। उताबाट, यताबाट, जताबाट सकिन्छ, उसले जुटायो। उसले त्यसको रेखदेख गर्यो, महत्व र लक्ष्य त्यसैलाई बनायो। के गर्दा त्यसको जग बन्छ, उसले त्यही गर्ने कोसिस गर्यो। अन्ततः दरिलो गरी खुट्टा टेकायो। आज देशको उत्कृष्ट र विशाल अस्पतालको नाउँले उसको सपना चिनिन्छ। उसको सपनाले आज ऊसँग, समयसँग, धैर्य र संयमसँग गर्व गर्छ। आमाले छाडेको त दशक भइसक्यो। कैयौंपटक आमाको कमी महसुस गरेको छ उसले। आमासँगै बसेर हेर्न मन लाग्छ उसलाई यो सपना। आमा भन्ने नाता शब्दमा वर्णन गर्न सक्दैन ऊ। जब आमा बिरामी भइन्, उसले त्यही अस्पतालमा उपचार गराएको थियो। केही दिन अस्पतालमै राखेर आमालाई उपचार गराउन पाएकाले उसलाई थोरै भए पनि आत्मसन्तुष्टि छ। त्यसैले पनि यो अस्पताल अहिले आमाजस्तै पवित्र लाग्छ, प्रिय लाग्छ उसलाई।
जीवनको यस मोडमा, उतारचढावका आयाममा, जीवनले धेरैवटा कोल्टे फेर्यो, धेरै कुरा देख्यो र भोग्यो, सिकायो र गुमायो। कति कुरा फर्किंदैनन्, कति कुरा विस्मृतिमा जान्छन् तर कति कुरा कहिल्यै बिर्सिन्नन्। बा–आमाको स्नेहपूर्ण सान्निध्यमा देखेको उसको यस सपनामा आज सयौं बिरामी आउँछन्, जान्छन्। स्वास्थ्यलाभको कामनाले हरेक दिन प्रार्थनामय बन्छ अस्पताल। मनमनै सोच्छ, कति अधुरै रहेका होलान् यात्राहरू।
किशोर मनको कलिलो जमिनमा उम्रिएको उसको सपनासँग विगतका तीतामीठा स्मृतिहरू गाँसिएका छन्, प्रेम र प्रोत्साहन गाँसिएका छन्। अस्पतालसँगै गाँसिएर आएको समाजसेवा पनि ऊसँगै हिँडिरहेछ, चाहे साहित्य, संगीत या कला बनेर होस्। आज ऊ आफ्नो सपना र यथार्थसँग निकै सन्तुष्ट छ। स्मृतिका तीतामीठा क्षण, प्रियजन, दुःखसुख, संघर्ष, धैर्य र मेहनतले पूरा गरेको किशोर मनको सपना साह्रै प्रिय लाग्छ, सुन्दर लाग्छ उसलाई। त्यसैले ऊ बारम्बार हेरिरहन्छ नजिकबाट। दृष्टि नथाकुन्जेल हेर्छ, उसको किशोर मनको सपना, यो विशाल अस्पताललाई। ( अन्नपूर्ण पोष्ट)















