काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्युयोर्क पुगेका छन् । प्रधानमन्त्री ओलीलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले स्वागत गरेका थिए ।
मंगलबारबाट सुरु हुने अधिवेशनलाई सम्बोधन गर्न ओली अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन्।


















