सामाजिक सशक्तिकरणको खुशी

201

 डा. दीपेन्द्र रोकाया
कतिपय विषयले निकै खुशी बनाउँदो रहेछ । खुशी यस मानेमा कि वर्तमानको पुस्ताले धेरै कुरामा सहजै पहुँच स्थापित गर्न पाएको छ । म आफै सम्झँदा पनि अचम्म लाग्दछ । २०५३ सालमा काठमाडौमा आउँदा यहाँ हुम्लीहरू एकाघ जना थिए । ती मध्ये मैले अभिभावक मानेका व्यक्ति अंगबहादुर लामा हुनुहुन्थ्यो । त्यसबेलासम्म काठमाडौमा हुम्लाका विद्यार्थी साथीहरू भेट्नलाई कि ताहाचाल वा सानोठिमी जान पर्दथ्यो । त्यतिबेला हामीहरू जिल्लाका साथीभाई भेट्दा निकै रमाउँथ्यौ । अहिले काठमाडौमा हरेक गाउँको पहुँच छ । हरेक गाउँका ४०÷५० भन्दा कम मान्छे यहाँ छैनन् । उतिबेलाको जस्तो एकता अहिले देखिदैन ।

यहाँ मैले उल्लेख गर्न खोजेको विषय हो, अब हुम्लाका प्रत्येक गाउँले काठमाडौमा पहुँच स्थापित गर्न खोज्दैछ । त्यो भनेको सामाजिक दायित्वको हिसावले स्थापित गर्न खोजेको पहुँच हो । हुम्ला जिल्लाकै एकदमै पछि परेको गाउँ फुचाका युवाहरूले राजधानी बसाईको समयलाई उपयोग गर्दै फुडसलको आयोजना गरी सिंगो कर्नाली प्रदेशको इज्जत राख्दै राजधानीबाट देश विदेशलाई मित्रताको सन्देश दिएका छन् । गएको भदौ ३१ गतेका दिन हुम्ला जिल्ला सर्केगाड गाउँपालिकाको वडा नंं. ८ को फुचा गाउँका उर्बर संभावना बोकेका युवा हरिचन्द्र बुढाहरूले फुचा–काठमाडौ सम्पर्क समिति गठन गरी सोही समिति मार्फत् ‘मित्रताको लागि फुटसल आयोजना २०७५’ आयोजना गरेका थिए । उनीहरूले आफु पढेको निलकण्ठ आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गर्ने लक्ष्यका साथ सो आयोजना गर्दा कर्नाली प्रदेशका विभिन्न जिल्लाका १२ वटा टिम सहभागी भएका थिए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा मलाई निम्ता दिएपछि जोरपाटीस्थित ब्राइटजोन इन्टरनेश्नल स्कुल पुगेको थिएँ । सम्पूर्ण खेलाडीको खेललाई नियालेर हेरेँ । कर्नाली, त्यसमा हुम्लाकै पनि एक सय एक खेलाडी जन्मीरहेको पाएँ । उनीहरूलाई पुरस्कार वितरण गर्दै गर्दा आफ्नो अधुरो सपना यी सम्भावना बोकेका विद्यार्थीहरूबाट पुर्ति हुने विश्वास जाग्यो । मेरो जिन्दगीमा म एउटा खेलाडी हुन नसकेकोमा पीडा रहेको थियो । मेरो मान्यता नै छ कि विश्व रंगमञ्चमा बाँच्नलाई खेलाडी, गायक, लेखक मध्ये एक हुन सक्नु पर्दछ । राम्रो खेलाडी भयो भने विश्वमा नयाँ रेकर्ड कायम गर्न सक्तछ । आफु र आफ्नो समाज तथा देशलाई चिनाउन सक्तछ । यस्तै राम्रो गायक भएको खण्डमा ऊ बाँचेका दिनसम्म मात्र होइन मरेपछि पनि उसको स्वर हरेकको कानमा गुन्जिरहन्छ । उसको स्वरमा स्वर मिलाउने गरी आवाज निस्किरहन्छ । त्यसैगरी एउटा राम्रो लेखक हुन सकेमा हरेकका पुस्तकालयमा सजिने विचार बन्न सक्तछ । यो विचारको व्यापारले विश्व संरचनामा हेरफेर ल्याउन सक्तछ ।

हामीले जनयुद्ध र जनआन्दोलन मार्फत् ल्याएको परिवर्तन र संविधानसभा मार्फत् गाउँ गाउँमा सिंहदरवार पु¥याउन सफल भयौ । यही अनुपातमा हुम्ला फुचाका भाईहरूले काठमाडौमा सामाजिक पहुँच स्थापित गरेको देख्दा खुशी नलाग्ने कुरै भएन । त्यसलगतै सुर्खेततिर गएको थिए । एक्कासी प्रदेश वन मन्त्रालयको गेटमा केही जनाले अविर लगाएर निस्किरहेको देखेँ । बुझ्दै जाँदा थाहा भयो कि सामुदायिक वन महासंघको प्रदेश कमिटि बनेको रहेछ । त्यही हुलबाट एक जना पाको मान्छेले मलाई बोलाएको सुनियो । हेर्दैजाँदा हुम्ला डाँडासाँयाका कृष्णबहादुर शाही हुनुहुँदो रहेछ । उहाँ त्यस समितिको उपाध्यक्ष निर्वाचित हुनुभएको रहेछ । यसैगरी सोही समितिको महासचिव पनि हुम्ला गैह्रीसाँयाका अनिता केसी निर्वाचित हुनु भएछ । खुशी लाग्यो, उहाँहरूलाई बधाई दिएँ । यस अभियानका अभियन्ता विर्षबहादुर शाहीसँग भेट हुँदा अझ खुशीका भावनाहरू साँट्न पाइयो । यसको लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्नाली प्रदेश अध्यक्ष हुम्ला श्रीनगरका कमरेड गोरखबहादुर बोगटी चयन हुनुभयो । यसका साथै, फोटो पत्रकार गोरख विष्टले जनसेवा पदक पाउनुभयो । यो क्रममा मैले विद्यावारिधि गरेका कारण नेपाल विद्याभुषण पदक पाएँ । लाइक र बधाईले थप जिम्मेवार बोध गराउने रहेछ ।

हुन त हामीलाई खुशी छाउन धेरै ठुलो कुरा आउन पर्दैन । तर पनि हामीसँग सामाजिक भावना छ, सामाजिक मुल्य र मान्यतालाई स्थान दिने बानी छ र त्यसको कदर गर्न सक्ने इच्छाशक्ति छ भने यस्ता कुराले निकै ठुलो महत्व राख्दो रहेछ । मैले यस हप्ता यस्तै यस्तै अनुभूति गरेँ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here