महालक्ष्मी विकास बैंकमा कीर्ते काण्ड

229

काठमाडौं/ राजधानीमा जग्गा किनेर विदेश गएका व्यक्तिहरू फर्केर आउँदा अर्केले घर बनाएका समाचार सुन्ने गरिन्थ्यो । तर प्रदेश एकको इटहरी उपमहानगरपालिकामा पनि जग्गा धनीलाई त्यही हालत भयो ।

जब उनलाई बैंकबाट घरमा पत्र पुग्यो । सामान्य लेखपढ गरेर एसओएस बालग्राममा जागिर खाएकी उनी झस्किइन् । बुहारीले के कागज आएको हो भनेर देखाउँदा मात्रै थाह भयो बैंकबाट लिलामीको लागि पत्र आएको रहेछ ।

महालक्ष्मी विकास बैंकका कर्मचारीहरूको मिलेमतोमा इटहरी उपमहानगरपालिकाकी गीता दाहालको घर जग्गा धनीलाई थाहा नदिई एउटा कम्पनीमा धितो राखेर एक करोड पचास लाख निकालिएको छ । स्वयं घरधनी गीता दाहाललाई यो विषयमा कुनै जानकारी छैन । बैंकमा कर्जा प्रक्रियाका लागि आवेदन गरेको ११ दिनमै कर्जा उपलब्ध गराइएको खुलासा भएको छ । यति छिट्टै कर्जा उपलब्ध गराउने सम्भावना बैंकहरूमा देखिंदैन ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा जितेन्द्र यादव, जय नारायण महत्तो र होम बहादुर कार्कीको नाममा दर्ता भएको त्रिसन्ध्या खाद्य उद्योगमा गीता दाहालको पनि एक हजार थान शेयर कित्ता रहेको कीर्ते कागज तयार गरी उक्त रकम निकालेको खुलासा भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरिएका कागजमा जितेन्द्र यादव, जयनारायण महत्तो र होम बहादुर कार्कीको नाममा मात्रै शेयर बाँडफाँड गरिएको बुझिएको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा रहको सक्कली कागजमा कतै पनि जग्गाधनी गीता दाहालको संलग्नता नदेखिएपछि महालक्ष्मी बैंकको कीर्ते काम पर्दाफास भएको हो ।

बैंकबाट धितो लिलामीका लागि पत्र आएपछि मात्रै जग्गा धनी गीता दाहाललाई जानकारी भएको हो । इटहरीकै जितेन्द्र यादव र काठमाडौका दिपक श्रेष्ठसँगको मिलेमतोमा उक्त कीर्ते कार्य बैंकका कर्मचारीहरूले गरेको खुलासा भएको छ ।

बैंकले गोरखापत्रमा नाम निकालेर ऋण असुली शाखामा निबेदन दिएको बुझिएको छ । जितेन्द्र यादवका नाममा दर्ता गरिएको उक्त त्रिसन्ध्या खाद्य उद्योगमा शेयर होल्डर भनेर नाम राख्ने कीर्ते काम पनि दिपकले नै गराएको थाहा भएको छ । दीपक पूर्वाञ्चल पेट्रो लिमिटेड झुम्काका सञ्चालकसमेत हुन् ।

महालक्ष्मी बैंकले गत भदौ १२ गते गीता दाहाललाई पत्र पठाएको छ । गीताले बैंकलाई मालपोतमा गएर धितो समेत पास गरिदिएको पत्रमा उल्लेख गरेको छ । तर, गीताले भने त्यो सबै झुट भएको जनाएकी छिन् । सामान्य लेखपढ मात्र गर्न जान्ने गीताको दस्तखतसमेत उनको नभएको दावी गरेकी छिन् ।

यसरी बैंकले नक्कली शेयर कित्ताको आधारमा किन र कसरी कर्जा प्रवाह ग¥यो भन्ने खोजीको विषय भएको छ ।

गीता दाहालले महानगरीय प्रहरी परिसर टेकुमा जितेन्द्र यादव, उनकी श्रीमती तेतरी देवी यादव, महालक्ष्मी बैंकका रोहित सिंह र सञ्जिव पन्त, त्रिसन्ध्या उद्योगका सञ्चालक भनी उल्लेख भएका दिपक श्रेष्ठ र जय नारायण मेहता विरुद्ध सरकारी छाप दस्तखत कीर्तेमा उजुरी दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here