काठमाडौं/ पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुरागले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको मुभी भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना – ‘यो फिल्म सफल हुन्छ ‘
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पत्रकार ऋषि धमलाले बनाएको फिल्म भएर आफू अनुराग हेर्न हलमै आएको स्पष्ट पारेका छन् । काठमाडौंको सुन्धरास्थित् सिभिल मलमा रहेको क्वि.एफ.एक्स हलमा पुगेर अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,’सञ्चारकर्मीले हात हालेको फिल्म भएकोले म अनुराग हेर्न हलमै आएको हुँ । यसको कथाबस्तु राम्रो लाग्यो । यो फिल्मले प्रगति र उन्नती हाँसिल गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
तिमिल्सिनाले चलचित्रले अहिलेको युवा पुस्ताको मन जितेको पनि प्रतिक्रिया दिए । त्यस्तै उनले पत्रकार धमला यसको लागि बधाईको पात्र भएको पनि बताए । उनले भने,’ऋषिजीलाई सर्बप्रथम बधाई र सफलताको शुभकामना दिन चाहन्छु । उहाँ पत्रकारितामात्रै होईन, सबै क्षेत्रमा सफल हुनुहुन्छ ।’ उनले पत्रकार धमलालाई विलक्षण प्रतिभाका धनीको संज्ञासमेत दिए ।
अनुरागले रुवायो, सबैले एकपटक हेर्नैपर्छ : मन्त्री पण्डित
अध्यक्ष तिमिल्सिनासँगै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उनकी धर्मपत्नी, बरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य, सांसदहरु, बरिष्ठ अधिवक्ताहरु, मानवअधिकारकर्मीहरु र गायक तथा गायिकाहरुको उपस्थिति रहेको थियो ।
मन्त्री पण्डितले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । उनले भने,’चलचित्र राम्रो बनेमने छ । यसले युवा पुस्ताको मन जितेको छ । सबैले एकपटक हेर्नुपर्छ ।’मन्त्री पण्डित पत्नीसहित हलमा पुगेका थिए ।
धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुराग देशैभरि अत्यधिक रुचाईएको छ । शुक्रबारबाट अल नेपाल रिलिज भएको अनुरागले दर्शकहरुको राम्रो साथ पाएको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार अनुरागसँगै प्रदर्शनमा आएका अन्य चलचित्रहरुभन्दा यो चलचित्रले धेरै राम्रो व्यापार गरेको छ । अनुरागले ओपनिंगमै आक्रमक व्यापार गरेको थियो ।
म्युजिकल लभस्टोरी रहेको चलचित्रलाई युवा पुस्ताले औधी रुचाएका छन् । अहिले अनुरागमा समाहित गीतहरुसमेत जनजीब्रोमा झुण्डिन थालेको छ । अनुराग हेर्न नेता, मन्त्री, उद्योगी, व्यापारी, समाजसेवी, विद्यार्थी, कलाकारहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सोमबार अनुरागले काठमाडौंको सिभिल मलमा रहेको क्वि.एफ.एक्स र सिटी सेन्टरमा रहेको बिग मुभिजमा छुट्टाछुट्टै स्पेशल शोको आयोजना गरेको थियो ।
‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र : झलनाथ खनाल
अनुराग सबै नेपालीहरुले हेर्नैपर्ने चलचित्र हो, धेरै राम्रो बनेको छ : उपसभामुख तुम्बाहाम्फे
सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ अहिलेसम्मकै उत्कृष्ट नेपाली चलचित्र भएको जनाएका छन् ।
कमलपोखरीस्थित् सिटी सेन्टरको ‘बिग मुभिज’ अनुराग हेरेपछि पत्रकारसँग संक्षिप्तक कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकार धमलाले बनाएको चलचित्र अनुराग सम्पूर्ण नेपालीहरुले एकपटक हेर्नैपर्ने चलचित्र भएको पनि जनाए।
उनले भने,‘अनुराग अत्यन्तै सवल चलचित्र बनेको छ । मैले हेरेको नेपाली चलचित्रमध्ये यो अहिलेसम्मकै उत्कृष्ट चलचित्र हो । युवा पुस्ताहरुको त यसले पुरै मन जितेको छ।’ उनले ‘अनुराग’ सन्देशमूलक चलचित्र बनेकोपनि दाबी गरे । उनले थपे,‘अनुराग उत्कृष्ट चलचित्र बनेको छ । यसमा के छैन् ? माया छ, प्रेम छ । कलाकारहरुको अभिनयमा जीवन्त पाएँ । नायिका एलिजाजीले पनि दमदार अभिनय गर्नुभएको छ । म ऋषिजीसँग निकै खुशी छु ।’
अनुराग राम्रो बनेको छ : जितु नेपाल
त्यस्तै चर्चित कलाकार जितु नेपालले पनि अनुराग राम्रो बनेको बताए । उनले भने,‘ऋषिजीले बनाएको अनुराग उत्कृष्ट चलचित्र बनेको छ । धमलाजीको एक्लो प्रयास प्रशंसनीय छ ।’
चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु उत्साहित देखिन्थे । उनीहरुले चलचित्र राम्रो बनेको संक्षिप्त प्रतिक्रिया दिएका छन् । दर्शकहरुले अनुरागको लागि ‘शो’ हरु अझै बढाउनुपर्ने माग गरेका छन् ।
‘अनुराग’ चलचित्र सफल हुने : पूर्वमन्त्री महत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सहमहामन्त्री डा. प्रकाशशरण महतले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग सफल हुने विश्वास व्यक्त गरेका छन् । सोमबार साँझ सुन्धरास्थित् सिभिल मलको क्वि.एफ.एक्स हलमा पुगेर अनुराग हेरेपछि उनले पत्रकारहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,’यो चलचित्रमा अहिलेको पुस्ताले चाहेको कुरा आएको छ । फिल्म अत्यन्तै राम्रो बनेको छ । म निकै प्रभावित भएँ । यसको कथावस्तु, प्रस्तुति र प्राविधिक पक्षपनि सवल पाएँ ।’
उनले फिल्मको कन्टेन्ट पनि राम्रो रहेको सुनाए । उनले थपे,’यो चलचित्र सबै नेपालीहरुले हेर्नुपर्ने फिल्मको रुपमा लिएको छु । यसले राम्रो सन्देश दिएको छ । अहिलेको समयको मागलाई सम्बोधन गरेको छ ।’
बरिष्ठ कलाकार हरिवंश आचार्यले पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग आफूलाई अत्यन्तै राम्रो लागेको बताएका छन् ।
चलचित्र अनुराग हेर्न सिभिल मलस्थित् क्वि.एफ.एक्स हल पुगेका आचार्यले चलचित्र हेरेपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,’चलचित्रमा प्रेम कथा रैछ । राम्रो लाग्यो । टेक्निकल्ली स्टोरीपनि राम्रो छ । आँखा प्रत्यारोपणको सन्देश रैछ । मलाई झनै मनपर्यो । म एकैछिन भावुक पनि भएँ । झण्डै आँशु झरेन । एलिजा र समुन्द्रको अभिनय झनै राम्रो लाग्यो । डेब्यु आर्टिष्ट भएरपनि यस्तो बेजोड अभिनय गर्नुभएको छ ।’
उनले चलचित्रको पहिलो सन्देश भनेको नै मनोरञ्जन भएको प्रतिक्रिया पनि दिए । उनले भने,’राजाराम पौडेलले हँसाउनुभएको छ । हिरोको स्कोप राम्रो छ ।’
त्यस्तै उनले चलचित्रमा पत्रकार धमलाले धेरै पैसा खर्चिएकोजस्तो लागेको पनि बताए । उनले नेपालका बिग ब्यानरले अनुरागका नायक नायिकाको काम मन पराएर नयाँ मुभीमा लिने सम्भावना धेरै रहेको सुनाए ।




















