दुई पाइलटको जहाज दुर्घटना हुने पक्का !

203

काठमाडौं/ पार्टी एकीकरण भएको चार महिना नपुग्दै विभाजनको संघारमा पुगेको छ । नेता मोहनविक्रम सिंहले भनेझैं ‘गाडा अगाडि गोरु पछाडि’को शैलीमा भएको एमाले र माकेको एकीकरण भुसमा लागेको आगोजस्तो हुन पुगेको छ ।

तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ३ गते माओवादी केन्द्रसँग पार्टी एकीकरण घोषणा सभामा नेकपा ठूलो दल भएको तर्फ संकेत गर्दै भनेका थिए, ‘यो टेम्पो हो र एउटा मात्र ड्राइभरले चलाउनलाई ? यो जेट हो, यसका लागि दुई पाइलट चाहिन्छ ।’ पार्टीमा दुई अध्यक्ष प्रणालीतर्फ इंगित गर्दै उनले यस्तो भनेका थिए ।

पार्टी एकीकरण घोषणा भएको चार महिना बितिसकेको छ । यस अवधिमा नेकपाले तल्लो तहका पार्टी संगठनहरूको एकतासमेत टुंग्याउन सकेको छैन । तीन महिना भित्र अर्थात साउन मसान्तभित्रमा पार्टीको सबै एकीकरण टुंग्याउने निर्णय गरेको नेकपामा हाल पार्टी एकीकरण होइन, पूर्व एमाले खेमामा देखिएको विवादले दुई पाइलटले चलाइरहेको नेकपा दुर्घटनाको संघारमा पुग्न लागेको संकेत गरेको छ ।

पार्टीभित्रका गुट उपगुटको विवाद छँदैछ, त्यसमाथि पार्टीका अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेपछि आम जनतामा मात्र होइन, पार्टीभित्रसमेत विवाद निम्त्याएको छ । केही दिनअघि पार्टीका तेस्रो वरियताका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमै सरकारको आलोचना गर्दै देश डुब्न लागेको दुःखेसो सुनाएका थिए । त्यसलगत्तै नेता नेपालले पार्टी भित्र संस्थागत निर्णय नभएको भन्दै पार्टीका दुई अध्यक्ष विदेश भ्रमणमा रहेका बेला स्थायी कमिटी सदस्यहरूको भेला बोलाएर पार्टीभित्रको विवाद र सरकारको कामका विषयमा समेत असन्तुष्टि व्यक्त गरेका थिए ।

पार्टीको विधानअनुसार नेकपामा महत्वपूर्ण निर्णय गर्दा पार्टी स्थायी समिति बैठकमार्फत गर्नु पर्ने भए पनि दुई अध्यक्षको सहमतिमा प्रदेश पदाधिकारीहरूको टुंगो लगाउने लगायतका निर्णय भएपछि नेता नेपालपक्ष असन्तुष्ट हुँदै आइरहेको छ ।

पूर्वएमाले खेमामा विवाद चर्किरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि भित्रभित्रै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई कमजोर बनाउने र पार्टीमा आफूलाई शक्तिशाली बनाउनेतर्फ सक्रिय भएका देखिन्छन् ।

श्रीमतीको उपचारका लागि सिंगापुरमा रहेकै बेला टेलिफोनमार्फत नेता नेपाललाई आन्तरिक विवाद मिलाउने आश्वासन दिएका दाहालले स्वदेश फर्किएलगत्तै मंगलबार नेकपाका प्रभावशाली नेता वामदेव गौतमलाई आफ्नै निवासमा बोलाएर पार्टी विवाद र भावी रणनीतिका बारेमा छलफल आरम्भ गरेका छन् ।

नेता माधव नेपालपक्षको असन्तुष्टि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अमेरिका भ्रमणमा गएका बेला सतहमै देखिएको छ । नेता नेपालले संसदमा सरकारको आलोचना गरेलगत्तै प्रधानमन्त्री ओलीले अमेरिकाबाटै नेपालको आलोचनाको व्यंग्य गर्दै मुलुक समृद्धिको बाटोमा अघि बढिसकेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया जनाएका थिए ।

पार्टी भित्रको विवाद समाधानका लागि ओलीले पहल गर्नुको सट्टा ठट्टा गरिरहँदा अर्का अध्यक्ष दाहालले माग सम्बोधन हुने आश्वासन दिनु र प्रभावशाली नेताहरूसँग छुट्टा छुट्टै भेट गर्नुले दाहाल पार्टी भित्र आफ्नो प्रभाव बढाउने काममा सफल हुने संकेत गरिरहेको नेकपाका कतिपय नेताहरूबीच चर्चा सुरु भएको छ ।

नेकपाको विवाद अहिले शीर्षतहमा मात्र नभएर तल्लो तहमा समेत प्रष्ट देखिन थालेको छ । पार्टी पूर्ण रूपमा एक नहुँदै आन्तरिक विवाद चुलिन थालेपछि दुई पाइलटले चलाइरहेको नेकपा दुर्घटना हुने अवस्थामा पुगेको छ । कोही माझी आएर दुर्घटना उन्मुख जहाजको अवतरण गराउने लक्षण पनि देखिएको छैन ।

नेकपा भित्र विवाद चुलिनुको एउटा कारण गुटबन्दी भए पनि अर्काे कारण भने सरकारको कामकारबाही पनि हो । निर्वाचनका बेला अधिकांश स्थानमा नेकपाका लागि अनुकूल भएकै कारण हाल नेकपा एक्लै बहुमतमा छ भने अन्य दलहरूको समेत सहयोगले हाल दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने अवसर नेकपाले प्राप्त गरेको छ । तर पछिल्लो समय सरकारको काम गर्ने शैलीका कारण नेकपा नेतृत्वको सरकार अलोकप्रिय हुने मात्र होइन पार्टीसमेत अलोकप्रिय बन्ने अवस्था विकसित भइरहेको छ । गाउँ स्तरबाट यस्तो खालको गुनासो बढेको छ । यस्तो अवस्थामा पनि नेतृत्व तह गम्भीर नबन्नुले कार्यकर्तापंक्तिमा असन्तुष्टि बढ्नु स्वाभाविक देखिन्छ ।

यसअघि प्रधानमन्त्री ओली ९ महिना सरकारको नेतृत्व गर्दा अन्तिम समयसम्म पनि चर्चाको शिखरमा रहेका थिए । संयोग कस्तो भने त्यतिबेला ओलीलाई सरकारको नेतृत्व गर्ने अवसर तत्कालीन माओवादी केन्द्रले नै दिएको थियो । सरकारमा सहयोग गरे पनि अध्यक्ष दाहाल सरकार गठन भएलगत्तै कांग्रेससँगको गठबन्धनका लागि सक्रिय भएका थिए ।

यसले गर्दा ओलीलाई काम गर्न सहज थिएन, तर पनि नौ महिनामा सरकार ढल्दासम्म पनि प्रधानमन्त्री ओलीका काम कारबाहीले जनतामा निकै महत्वपूर्ण छाप छोडेको थियो । अहिले पनि सरकारमा सहयोगीका रूपमा दाहाल नै छन् । तर, अहिले पार्टी एउटै भएकाले सरकार नौ महिनामा ढल्ने डर पनि छैन र पहिलो सरकारमा जस्तो दाहालले सहयोग गर्न नमिल्ने अवस्था पनि छैन । परन्तु प्रधानमन्त्री ओली भने नौ महिना नबित्दै जनताका बीचमा अत्यन्त अलोकप्रिय भइरहेका छन् । यसका पछाडि केही कारण अवश्य छन्, ओलीले बुझ्न आवश्यक छ ।

ओली नेतृत्वको सरकारले सुरुमा केही लोकप्रिय र महत्वपूर्ण काम गर्दै गइरहेको थियो । विशेष गरी गृह मन्त्रालय र यातायात मन्त्रालय मातहतका केही महत्वपूर्ण काम भइरहेका थिए । तर प्रधानमन्त्री ओली र केही उनको समूहका मन्त्रीहरू आफैले गरेका लोकप्रिय कामबाट पछि हट्दै गए । सिन्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्दै आफैले खारेज गरेका व्यवसायीसँग मूल्य वृद्धि गर्न सहमति ग¥यो । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने निर्णयबाट पनि सरकार पछि हट्यो । सुनकाण्डका आरोपीहरूलाई सुनपानीले चोख्याउने काम गरियो । शान्ति सुरक्षा कामय गर्ने र महिला हिंसाका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनमा सरकार चुक्दै गइरहेको छ ।

पछिल्लो समयसम्म आइपुग्दा सरकारले जे जस्ता गल्तीहरू गरिरहेको छ, त्यसलाई स्वयम प्रम ओली र उनको सल्लाहकार टिम समेत गल्ती भन्न तयार छैन, बरु नियतबस नै गल्ती कमजोरी गरेको स्वीकार गर्दैै आएको बुझ्न सकिन्छ उनीहरूका अभिव्यक्तिबाट । पार्टी भित्रै पनि संस्थागत निर्णय विपरीत गुटलाई प्राथमिकता दिने र सरकारमा पार्टीका नेता कार्यकर्ताहरूको पहुँच हुन नदिने बरु गुटको घेराभित्र रहन मनपराउने प्रवृत्ति पछिल्लो समय प्रम ओलीमा पनि देखिन थालेको छ ।

यो बेलामा प्रम ओलीका कमजोरीहरूलाई विपक्षीले भन्दा बढी पार्टीभित्रैबाट आक्रमण हुनु स्वाभाविक हो । अहिले ओलीको कार्यशैलीका कारण ओलीपक्ष एकातर्फ र अन्य सबै एकातर्फ हुने अवस्था विकसित भइरहेको छ । यो द्वन्दलाई समयमै व्यवस्थापन गर्न नसकेमा नेकपालाई दुर्घटना हुनबाट कसैले रोक्न सक्ने छैन । तर यो वास्तविकतालाई बुझेर पनि प्रम ओलीले गरिरहेको वेवास्ताले अन्ततः उनले भन्ने गरेको दुई पाइलटयुक्त नेकपा दुर्घटनाउन्मुख बन्दै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here