भण्डारखाल बगैँचामा नेपाल–चीन मेला शुरु

212

ललितपुर/ पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा नेपाल–चीन मेला आजदेखि शुरु भएको छ । नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन मेला आयोजना गरिएको अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीले जनाउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमको आयोजनाले नेपाली र चिनियाँ जनताका बीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

पाँच दिनसम्म चल्ने मेलामा १०० कक्ष रहेका छन् । मेलामा नेपालमा उत्पादित सामग्रीको प्रदर्शनीसँगै दुई देशको सङ्गीत, व्यावसायिक ज्ञान र सीपको आदानप्रदान हुने आयोजकले जनाएको छ । मेलामा नेपालको लाखे नाच र चर्या नृत्य देखाइने छ । कक्षमा मनोरञ्जन, खेलकूद सामग्री, डिजिटल उपकरण, स्टेशनरी रहेको छ । नेपालमा उत्पादित हस्तकला, धातुकला, प्रस्तरकलालगायत विभिन्न घरायसी सामग्रीको कक्ष रहने अध्यक्ष जोशीले जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘लुभुको कपडा उद्योगबाट उत्पादित ढाका र सुतीबाट बनाइएको आकर्षक पहिरन ‘फेसन सो’ मार्फत देखाइनेछ ।’ चिनियाँ कला र संस्कृति झल्कने ६० वटा चिनियाँ कक्षसमेत रहेका छन् ।

नेपाल–चीन सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष ली प्वोले नेपालले मेलाबाट पर्यटन, कृषि, ऊर्जा, उद्योग र पूर्वाधार विकासमा लाभ लिनसक्ने औँल्याउनुभयो । मेलाको आयोजनाले दुई देशका जनताले लाभ लिन सक्ने समाजका महासचिव सुरेशमान महर्जनले औँल्याउनुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले स्थानीय तहले मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here