लाखौँको घरेलु मदिरा बरामद

304

बझाङ/ बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक अगुवासहितको संयुक्त टोलीले जिल्लाका विभिन्न ठाउँमा अवैध घरेलु मदिरा छापा मारी नष्ट गरेको हो ।

जिल्लास्थित चैनपुरको भोटेटोल, भोपुर र मष्टाको पुरीगाउँलगायतका स्थानबाट घरेलु मदिरा बरामद गरिएको छ । सदरमुकाम चैनपुरको भोटेटोलबाट मात्रै एक हजार लिटर मदिरा बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो ।

चैनपुर आसपासबाट बरामद गरिएको मदिरा चैनपुरको रिङरोडबाट सेती किनारमा नष्ट गरिएको छ ।

चाडपर्व नजिकिएसँगै बझाङका सबै ठाउँमा जुवा खेल्ने, खेलाउने, मदिरा बिक्री वितरण गर्ने गिरोह सक्रिय हुने गरेका छन् । चैनपुरलगायतका ठूला बजारमा जथाभावी बोल्ने मान्छेको लहर बढेको र जताततैबाट प्रहरीको मिलोमतोमा जुवातास खेलाइएका गुनासो आउन थालेपछि थप कडाइ गरिएको नायव उपरीक्षक धितालले जनाए ।

केही दिन अघि जिल्लासभाले जिल्लामा पूर्ण रूपमा मदिरा बन्द गराउने निर्णय गरेको थियो । तर, त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घ बझाङले उच्च अदालत दिपायलमा मुद्दा हालेपछि अदालतले अर्को आदेश जारी नभएसम्मका लागि मदिरालाई बन्द नभई नियन्त्रण गर्न आदेश दिएपछि जिल्लामा छापा मार्दै मदिरा नियन्त्रण गर्न लागिएको छ ।

मदिराका कारण बझाङ जिल्लामा वर्षेनी कम्तीमा १५ देखि २० ले ज्यान गुमाउने गरेका छन् भने अर्कातिर घरेलु हिंसासमेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here