काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ ।
पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए ।
साथै, उनले राज्यका निकायले पनि यसबारे अनुसन्धान अघि बढाउनुपर्ने बताए ।
यसअघि पार्टीका अर्का सांसद कृष्णकुमार कार्कीको सन्दर्भमा आएका विवादबारे कुरा गर्दै उनले केही गर्न नपर्ने देखिएपछि नगरिएको स्पष्ट पारे ।
‘त्यतिखेर पनि सामाजिक सञ्जालमा हल्ला मात्रै थियो । यसमा चाहिँ केही प्रमाणसहित बाहिर देखिएकोले त्यो सहि हो वा होइन भन्ने भएकाले जाँचबुझ गर्नुपर्ने भएकाले पार्टीको जाँजबुझ गर्नका लागि अनुशासन आयोगमा पठाइएको छ,’ बुर्लाकोटीले भने ।
अनुसन्धान गर्ने निकायलाई सबै जिम्मा दिइसकेको उल्लेख गर्दै उक्त निकायबाट केही नआएसम्म आफूहरू प्रतीक्षामा नै रहने उनले बताए ।
‘अनुसन्धान गर्ने निकायले नभनेसम्म हामी प्रतीक्षा गर्छौं । पार्टीले गरेको अनुसन्धान पार्टीले हेर्ने हो । आवश्यक पर्दा सरकारी निकायले पनि अनुसन्धान गर्नुपर्छ,’ बुर्लाकोटीले भनेका छन् ।


















