काठमाडौं-माइतीघर मण्डलमा उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गरेका एक उखु किसानको मृत्यु भएको छ। सर्लाही धनकौला घर भएका ६५ वर्षीय नारायण राय यादवको मंगलबार बिहान हृदयघातबाट मृत्यु भएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्राले सेतोपाटीलाई जानकारी दिए। राकेशका अनुसार नारायण मंसिर ३० गते काठमाडौं आएका थिए। उनी जोरपाटीस्थित कृष्ण मन्दिरमा बस्दै आएका थिए। उनलाई बिहान छ बजे बिसन्चो भएर चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल लगिएको थियो।
‘उहाँलाई हेल्पिङ ह्यान्ड्सले गंगालाल रिफर गर्यो। त्यहाँ ९ बजेतिर पुर्याइएको थियो। तर अस्पतालले मृत घोषणा गरिदियो,’ राकेशले भने। नारायणको बाँसवारीस्थित सहिद गंगालाल अस्पतालमा उपचारक्रममा निधन भएको हो।
राकेशका अनुसार नारायण र उनका छोराहरूको सहित अन्नपूर्ण चिनी मिलबाट २० लाख बढी पाउनु थियो। मिलको सहमति अनुसार केही रकम आजै उनको खातामा आउने भनिएको थियो।
‘यो सबै राज्यको लाबरवाहीका कारण भएको हो। नारायण यादवको मृत्युको क्षतिपूर्ति राज्यले बेहोर्नुपर्छ,’ उनले भने। सोमबार मात्रै उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको थियो। सहमति भएसँगै उखु किसानहरू आजै घर फर्किने तयारी पनि थियो।


















