–निमकान्त पाण्डे
पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले क. वामदेव गौतमबाट आफूलाई एकजना पत्रकारमार्फत २० लाखको माग गरिएको भनेर आफ्नो आत्मवृतान्तमा उल्लेख गरेको पाइयो । यो पंक्तिकारले नै क.वामदेव गौतम र अच्युतकृष्ण खरेलबीच आफ्नै निवासमा बोलाएर परिचय गराएको स्मरण भइरहेको छ ।
अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षकमा बढुवा हुने प्रतिस्पर्धामा रहेका र क.वामदेव गौतम पनि सांसदको हैसियतमा मात्र रहेका अवस्थामा त्यो परिचयात्मक कार्यक्रम अच्युतकृष्ण खरेलकै आग्रहमा गरिएको थियो । क.वामदेव गौतम र मेरो बसाइ पनि नजिक थियो, कुलेश्वरमा । त्यसैले मेरै निवासमा परिचय कार्यक्रम राख्ने सहमति दुवैजनाबाट भएपछि मैले कार्यक्रम राखेको हुँ ।
करिब ३ घण्टाको बसाइका क्रममा म स्वयं पनि उपस्थित रहेको थिएँ । सम्वादको प्रारम्भमै खरेलजीले आफूप्रति भ्रम नराख्न क.वामदेवसमक्ष अनुरोध गर्नुभएको थियो । क.वामदेवले पनि सोही किसिमको प्रतिक्रिया जनाउँदै आत्मीयता प्रकट गर्नुभएको थियो । यो परिचयात्मक कार्यक्रमले यी दुई मलाई मनपर्ने पात्रहरूबीच आत्मीयता पनि बढेको महसुस मैले गरेको थिएँ ।
अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षकमा बढुवा हुनुभयो । त्यसमा क.वामदेवको कुनै भूमिका रह्यो वा रहेन भन्ने बारे मेरो जानकारीमा आएन । नेकपा (एमाले)को अल्पमतको सरकारले नौ महिना भर्खरै व्यतित गरेको त्यो समय क.वामदेवलाई उपमहासचिवको जिम्मेवारीबाट हटाउन उपमहासचिवकै पद खारेज गर्ने कसरतमा एमालेको नेतृत्वंपक्ति जुटेको अवस्था थियो । त्यो बेला ईश्वर पोखरेल, प्रदीप नेपाल, माधव नेपाल, केपी ओली, भरतमोहन अधिकारी, अमृत बोहरालगायतका नेताहरू क.वामदेवविरुद्ध एकढिक्का भएको अवस्था थियो । त्यस्तो अवस्थामा पनि क.वामदेवलाई उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीका साथ एमाले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा पठाइयो ।
अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षकमा बढुवा भएलगत्तै क.वामदेव उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेपछि गृह प्रशासन चुस्त हुने विश्वास सर्वत्र पलाएको थियो । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार र तत्कालीन नेकपा (एमाले)को नेतृत्वले स्थानीय निर्वाचन गराउने निर्णय गरेको त्यो अवस्थामा नेपाली कांग्रेस निर्वाचनमा जान सहमत भएको थिएन । नेपाली कांग्रेसको नेतृत्वले नै प्रहरी महानिरीक्षकमा बढुवा गराएको हुँदा खरेलको सहानुभूति नेपाली कांग्रेसतर्फ रहेकोबारे क.वामदेवलाई जानकारी हुनु अस्वाभाविक भएन ।
स्थानीय चुनावका लागि शान्तिसुरक्षाको अवस्था कमजोर रहेको भन्दै प्रहरी महानिरीक्षकले चुनाव गराउन असहमति जनाएको हुँदा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्ने कुरामा तत्कालीन नेकपा (एमाले)भित्र सहमति भएको अवस्थाबीच अच्युतकृष्ण खरेललाई हटाएर खरेलकै प्रतिस्पर्धी ध्रुव प्रधानलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीमा पु¥याइयो । यो घटना मेरा लागि भने अप्रत्याशित र आश्चर्यजनक पनि थियो । मैले सबै आन्तरिक कुराहरू जानकारी पाइरहने विषय पनि भएन । पछि क.वामदेवले मलाई यो विषयमा जानकारी गराउनु भएपछि मैले आफूलाई पार्टीकै लाइनमा उभ्याउनु स्वाभाविक थियो।
स्थानीय चुनाव सम्पन्न भइसकेपछि नेकपा (एमाले)ले प्राप्त गरेको विजय र त्यो बेलाको नेपाली कांग्रेसको अवस्थाबाटै पनि स्पष्ट हुन्छ, चुनाव नेपाली कांग्रेसको पक्षमा थिएन । प्रहरी महानिरीक्षकमा ध्रुवबहादुर प्रधान आएपछि उनले चुनावका लागि गरेको साहसिक कदम नै अच्युतकृष्ण खरेलको जिम्मेवारी फेरबदलको कारण थियो भन्ने स्पष्ट हुन्छ । अच्युतकृष्ण खरेलले आफ्नो कमजोरीलाई ढाकछोप गर्नु स्वाभाविक हुन सक्ला परन्तु अर्काको प्रतिष्ठामा आघात पु¥याउने काम गर्नु निश्चय पनि अशोभनीय हो । पदीय जिम्मेवारीबाट किन हटाइयो भन्ने बारेमा आफू स्पष्ट हुनु जरुरी हुन्छ ।
नचाहिंदा शब्दावलीहरू राखेर कथित ‘आत्मवृत्तान्त’लाई रोचक बनाउन जति सजिलो हुन्छ, रोचक पक्षलाई पुष्टि गर्न सकिएन भने त्यो आफ्नै लागि प्रत्युत्पादक पनि हुन जान्छ । नेकपा (माले)को शून्य सिटबारे राजा वीरेन्द्रले पनि खरेलजीसँग चासो राखेको कुरा समेत खरेलजीले पंक्तिकारसँग जनाउनुभएको थियो । यो हदसम्मको आन्तरिक कुरा गर्ने खरेलजीले कुनै पत्रकारबाट वामदेवको नाममा २० लाख रूपैयाँ माग भएको जानकारी मलाई किन गराउनु भएन ? क.वामदेवविरुद्ध खरेलजीले गलत आरोप लगाएर आफ्नो पुस्तकलाई पठनीय बनाउन प्रयास गर्नुभएको हो भन्ने कुरा यसैबाट पनि पुष्टि हुन्छ ।
क.वामदेव गौतम पहिलोपटक उपप्रधानमन्त्री र गृहमन्त्री भएको त्यो अवस्था नेकपा (माओवादी)को सशस्त्र द्वन्दको विकासको चरण थियो । हिंसात्मक गतिविधि तीव्र थियो । तथापि वामदेव गौतमले गृहको नेतृत्व सम्हाल्दाको समय अवधिभर प्रहरीको गोलीबाट एकजना पनि मारिएका खबर सञ्चारमाध्यमहरूमा आउनु परेन । त्योबेला अच्युतकृष्ण खरेल प्रहरी महानिरीक्षक रहेका भए, वामदेव गौतमको नेतृत्वको गृह मन्त्रालय यो अवस्थामा रहने थिएन ।
यो कुरालाई पुष्टि गर्ने आधार छन् । क.वामदेवपछि नेपाली कांग्रेसका तर्फबाट खुमबहादुर खड्का गृहमन्त्री हुनुभयो र प्रहरी महानिरीक्षकमा अच्युतकृष्ण खरेलको पुनर्नियुक्ति भयो । त्यसपछि भएका हत्याका श्रृंखलाहरू अत्याशलाग्दा भएको कुरा सबैलाई बिदितै छ । त्यही बेलाको एउटा घटना यहाँ उल्लेख गर्नु सान्दर्भिक लागेको छ, बर्दिया जिल्लामा तत्कालीन माओवादी नेता विष्णु पोखरेललाई घरबाट गिरफ्तार गरी अड्डासारको बहानामा जंगलमा लगेर रुखमा बाँधेर खुट्टादेखि पूरै शरीरभरि खुकुरीले छप्काउँदै मारेको घटनाबारे मलाई जानकारी आयो ।
यो घटना सम्बन्धमा प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल समक्ष यो पंक्तिकारले एउटा पत्रकारको हैसियतमा जिज्ञासा राख्दा खरेलजीले बोलेको शब्द मलाई अहिले पनि सम्झना छ । ‘पानीमा पादेजस्तो कुरा !’ – यो शब्द प्रहरी महानिरीक्षकको हैसियतमा रहेको व्यक्तिले बोलेपछि मैले माओवादीविरुद्ध देशमा के हुँदैछ भनेर नबुझ्ने कुरा भएन ।
अच्यृतकृष्ण खरेलले महानिरीक्षकको जिम्मेवारी दोस्रोपटक सम्हालेपछि नै ‘किलोशेरा टू’ र ‘सर्च एण्ड डिस्ट्रोय’जस्ता माओवादीविरुद्ध प्रहरीका कारबाहीहरू प्रारम्भ भएका हुन् । त्यसक्रममा नै ठूलो संख्यामा माओवादीका नाममा निर्दाेष मानिसहरू गाउँगाउँमा मारिने क्रम बढेको हो । यो तथ्यलाई पनि खरेलजीको आत्मवृतान्तमा उल्लेख गर्न सकेको भए राम्रो हुन्थ्यो । क.वामदेव हिंसा र हत्याको पक्षमा हुनुहुन्थेन । उहाँको कार्यकालभरि एकजना पनि मानिस माओवादीका नाममा मारिएको रेकर्ड छैन ।
महाकाली सन्धिले नेकपा (एमाले)लाई विभाजित गराएपछि यो पंक्तिकार पनि सन्धिको विरुद्धमा रहेकाले स्वाभाविक रूपमा क.वामदेवको अगुवाइमा भएको पार्टी पुनर्गठनको अभियानमा सहभागी भएको हो । नेकपा (माले)को पुनर्गठनसँग नेपाली कांग्रेस र नेकपा (माले)को गठबन्धन सरकार निर्माण हुने वातावरण बन्यो । अच्युतकृष्ण खरेल नै प्रहरी महानिरीक्षक रहेको अवस्था थियो । त्यस अवस्थामा नेकपा (माले)को चुनावी विजय सम्भव नहुने पनि निश्चित थियो । क.वामदेवप्रति खरेलजीमा रहेको पूर्वाग्रहले नेकपा (माले)लाई विजयी हुन नदिने अनुमान गर्नु गलत थिएन ।
यही निष्कर्षका साथ क.वामदेवले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमक्ष प्रहरी महानिरीक्षकको जिम्मेवारी फेरबदल गर्ने प्रस्ताव राख्नुभयो । यो प्रस्तावसँगै माओवादीबाट त्यो बेला निशानामा परेका साना किसान विकास आयोजनाहरूबाट कर्जा लिएका सबै किसानहरूको कर्जा मिनाहा गर्ने प्रस्ताव पनि क.वामदेवबाट प्रस्तुत भएको थियो ।
गिरिजाप्रसाद कोइरालाले दुवै प्रस्ताव अस्वीकार गरेपछि नेपाली कांग्रेससँग नेकपा (माले)को सत्ता सहयात्रा टुटेको हो । त्यसपछि कांग्रेस र एमालेको गठबन्धन सरकार बन्यो र प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले नेकपा (माले)लाई शून्य सिटमा पु¥याउन सफलता हासिल पनि गर्नुभएको हो । यो पुष्टि भइसकेको ऐतिहासिक तथ्य हो ।
अहिले अच्युतकृष्ण खरेलको पुस्तक यस्तो बेलामा चर्चामा आएको छ, जुनबेला क.वामदेव चुनावमा जाने चर्चा चलिरहेको छ । क.वामदेवलाई चुनावमा किन उठाउन प्रयत्न भइरहेको छ ? यो नै आश्चर्यको विषय हो । बर्दिया जिल्लामा पार्टीभित्रैबाट अन्तरघात गरी वामदेवलाई पराजित गराइएको स्पष्ट छ ।
यो तीतो यथार्थबीच फेरि त्यही अन्तरघातको शिकार वामदेवलाई बनाउन यो खेल खेलिंदैछ भन्ने कुरा स्वयं क.वामदेवले नबुझे पनि उहाँका धेरैजसो शुभेच्छुकहरूले बुझिरहेको अवस्था देखिन्छ । पार्टी बाहिरका व्यक्ति अच्युतकृष्ण खरेल हुन् वा पार्टीभित्रका ईश्वर पोखरेलजस्ता अन्तरघातीहरू नै किन नहोऊन्, वामदेव गौतमको पराजयका निम्ति जस्तोसुकै मूल्य चुकाउन पनि यिनीहरू पछि पर्ने छैनन् भन्ने कुरा अरु सबैले बुझिरहेको अवस्थामा क.वामदेवले किन बुझ्न सक्नुभएको छैन ? यो पनि आश्चर्यको विषय भएको छ ।


















