नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौ ७ मा हार्ने निर्वाचन नलड्ने जनाएका छन् । काठमाडौमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउन काठमाडौ ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाकाबीच प्रचण्डले हाल पार्टीमा कुनै निर्णय भइनसकेको उल्लेख गर्दै आफूहरु उक्त स्थान गुमाउने गरी निर्वाचनमा नजाने घोषणा गरे ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्र्वाचित एवं पार्टीका नेता योगेश भट्टराईलाई निर्वाचनमा नेतृत्वबाट गरिएको प्रतिबद्धतानुसार मन्त्री बनाउन नभ्याइएको भन्दै प्रचण्डले भने, “अध्यक्ष ओलीले दिएको चुनावी भाषण मैले हेरेँ । हामीले अहिलेसम्म योगेशजीलाई मन्त्री बनाउन भ्याएका छैनौँ । एक दिन त्यो वचन पूरा हुनेछ ।”
‘प्रचण्ड’ ले वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताए । उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिन्छ भन्नेमा पार्टी नेतृत्वबीच गम्भीर छलफल भइरहेको जानकारी दिए । पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष दाहालले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरुको ध्यानाकर्षण भएको स्पष्ट पारे ।
बुधबार बिहान मात्रै आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको जानकारी दिँदै उनले जनभावनानुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको जनाए ।
“कामको सन्दर्भमा कहाँ के पुगेको छैन, राम्ररी समीक्षा र गृहकार्य गरेर जनताले देख्ने गरी महत्वपूर्ण लिने र पहल गर्ने विषयमा हाम्रो छलफल केन्द्रित छ”, अध्यक्ष प्रचण्डले भने ।

















