कञ्चनपुर/ ६३ औँ प्रहरी दिवस बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मनाएको छ । ‘नेपाल प्रहरीको प्रतिबद्धता अन्याय विरुद्ध शुन्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ६३ औँ प्रहरी दिवस मनाएको हो ।
दिवसका अवसरमा पूर्व प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर पालले अझैपनि प्रहरी बिना सुरक्षित समाजको कल्पना गर्न नसकिने जनाउँदै केही घटना र केही व्यक्तिका कारण प्रहरीको सिङ्गो संगठन बदनाम गर्न नहुने जनाए ।उनले भने– ‘प्रहरीले शिर निहुराउने अवस्था आएको छैन, समाजको सुरक्षाका लागि प्रहरी उत्कृष्ट बन्नै पर्छ ।’ व्यवसायिकता र निजी पक्षको तालमेल भएमात्रै प्रहरीले गुणस्तरीय कार्य सम्पादन गर्न सक्ने उनले धारणा व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण राज ओझाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सन्देश सुनाउँदै कञ्चनपुर घर भई विभिन्न स्थानमा कार्यरत रहेका जनयुद्धका बेला लडाईका क्रममा ६९ जना प्रहरीले ज्यान गुमाएको जनाएका छन् ।
कार्यक्रममा विधिवत रुपमा नेपाल प्रहरी संगठन निर्माण र ऐन आउनुभन्दा एक बर्ष अघि नै विस २०११ सालमा प्रहरीमा प्रवेस गरेका पुर्व प्रहरी नायब निरीक्षक विराजमान गुरुङ्गलाई समेत सम्मान गरिएको थियो ।
विगतका वर्षहरुमा कञ्चनपुर प्रहरीले प्रहरी दिवसका दिन नागरिक समाज, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी राजनीतिक दल, व्यवसायी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधी समेत आमन्त्रण गर्ने गरेको भएपनि यसवर्ष भने कसैलाई आमन्त्रण गरिएको थिएन । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले समुदायसँगको हातेमाले गरेर शान्ति सुरक्षाका कार्यक्रम अघि बढाइने जनाए ।


















