छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

446

काठमाडौं/ काठमाडौं, कैलाली, मोरङ, रोल्पा र भोजपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका- ८ स्थित सडकमा बा.३ ख ५२२५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी हाल नाम, थर, वतन नखुलेकी ५० वर्षीया महिला पैदलयात्रीको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । बस नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली गोदावरी नगरपालिका-१ वनखेतस्थित सडकमा ना. ५ ख ८०४९ नम्बरको बस र से.५.ख ७५३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-६ बस्ने २८ वर्षीय हेमन्त साउद र मोटरइकलमा सवार सोही ठाउँ बस्ने २६ बर्षीय विक्रम खड्कालाई पदमा अस्पताल अत्तरिया हुँदै थप उपचारको लागि भारतको बरेली लैजाने क्रममा बिहीबार बाटोमै मृत्यु भएको हो । बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ बेलबारी नगरपालिका-४ स्थित सडकमा ना५ ख १९२० नम्बरको ट्रकले को १२प९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने ४५ वर्षीय मनकुमार राई र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीय वर्ण राईको धरान घोपा अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । दुवै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा ना। ५ ख २१४१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गम्भीर घाईते भएका पैदलयात्री सोही गाउँपालिका-७ बस्ने ५० बर्षीय बिष्णु भेटवालको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रोल्पा लुंग्री गाउँपालिका-१ स्थित सडकमा ना५ त ५५८२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही गाउँपालिका-१ सिउदर बस्ने सुके बिष्टको १४ बर्षीय छोरा मन्जित बिष्टको बिहीबार घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुर ट्याम्के मैयुम गाउँपालिका-९ स्थित सडकमा को२त ४६१८ नम्बरको ट्याक्टरको ट्रलीमा सवार खोटाङ खोटेहाङ गाँउपालिका-२ बस्ने ३२ वर्षीया निङल्हामु शेर्पाको ट्याक्टरबाट ओर्लने क्रममा ढुङगामा ठोक्किन गई शुक्रबार मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here