काठमाडौं/ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ६३औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरु, उत्कृष्ट लेखकहरु, नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता प्राप्त गर्नुहुने प्रहरी अधिकृतहरुलाई कदरपत्र तथा पुरस्कार वितरण गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने अमर एवं वीर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । कर्तव्यपालनाको क्रममा घाइते भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत उहाँले गर्नुभयो ।
आम नागरिकको विश्वास प्रहरी संगठनको लागि उर्जा र शक्तिको श्रोत रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले जनविश्वास अनुरुप कार्य सम्पादन गर्न विगतको भन्दा अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने जनाउनुभयो । मानवअधिकारको संरक्षण, दण्डहीनताको अन्त्य र निर्भिक प्रहरी सेवा नागरिकको अपेक्षा र आवश्यकता रहेको चर्चा गर्दै उहाँले नेपाल प्रहरीको सेवा प्रवाहलाई अझ बढी चुस्त र नागरिकमैत्री बनाउँदै लगिने उल्लेख गर्नुभयो ।
अमर असक्त प्रहरी संघका अध्यक्ष नवराज श्रेष्ठले अमर परिवार तथा अशक्तहरुको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा अमर प्रहरी परिवारको तर्फबाट मिश्रा बस्नेतले कविता वाचन गर्नुभएको थियो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।
























