राज्थलक्ष्मी शाक्य
यतिबेला देशमा भ्रष्टाचारको बिगबिगी भइरहेको छ । कुनै निकाय छैन जहाँ भ्रष्टाचार नभएको होस् । तर पनि सरकारले भ्रष्टाचारलाई कसरी कम गर्ने भन्नेतर्फ चासो देखाएको छैन । बरु कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने कुरामा सरकारका मन्त्रीहरूको ध्यानाकर्षण भइदिनाले भ्रष्टाचारीहरू संरक्षित हुने अवस्था देखिन्छ । भ्रष्टाचारीको आरोपमा कारबाहीमा परेकाहरू दोहोरिएर नियुक्ति पाएको अवस्थाले नै यो कुरालाई पुष्टि गर्छ । कुनै पनि मुलुकमा भ्रष्टाचार, ठगी बढेपछि र राज्य स्वयं भ्रष्टाचारीलाई कारबाही गर्न निरीह भएपछि जनताले कसरी विकल्प खोज्दा रहेछन् भन्ने उदाहरण पटक–पटक देखिँदै आएको छ । विश्वका केही देशहरूमा भ्रष्टाचारी मन्त्रीलाई फोहोर फाल्ने कन्टेनरमा हालेर शहर परिक्रमा गराएको दृश्य पनि देखिएका छन् ।
केही वर्षयता नेपालमा भ्रष्टाचारको ग्राफ दिनानुदिन उकालो लागेको छ । त्यसकारण पनि अत्यधिक भ्रष्टाचार हुनेमा नेपाल विश्वमै सबैभन्दा अगाडि आइपुग्ने लज्जास्पद अवस्था सृजना भएको छ । तर, यसरी सहनशीलताको सीमा नै भत्कने गरी भ्रष्टाचार भएपछि जनताले विकल्प खोज्ने रहेछन् भन्ने पुष्टि भएको छ ।जनताले भ्रष्टाचारीहरूलाई कालोमोसो दल्ने अभियान सुरु गरिसकेका छन् । जनप्रतिनिधिका जिम्मेवारीमा पुगेका व्यक्तिहरूलाई जनताले निगरानी गरिरहेका छन् । गाउँ–गाउँमा यो लहर चलिसकेको छ । भ्रष्टाचारी ठहर भएका जनप्रतिनिधिलाई समेत कालोमोसो दलेर गाउँ परिक्रमा गराएका समाचार आइरहेबाट यो कुराको पुष्टि हुन्छ ।
नेपालमा पछिल्लो समयमा हेर्ने हो भने अत्यधिक मात्रामा भ्रष्टाचार, घुसखोरी, ठगी, तस्करी र दण्डहीनता बढेको छ । सर्वसाधारण र सोझासिधा जनताले आफ्नो काम राम्रोसँग गरेर खान पाउने अवस्था छैन ।
व्यक्ति तथा समग्र संस्था नै भ्रष्टाचारी, नयाँ सामन्तीको रूपमा उदाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरू यतिसम्म नाफाखोर भएका छन् कि देशको अर्थतन्त्र कमजोर हुँदा पनि उनीहरू भने दिन दुई गुना रात चौगुनाको दरमा नाफा कमाइरहेका छन् । आखिर कसरी उनीहरूले नाफा कमाइरहेका छन् ? यसको अर्थ सोझो छ, मध्यम तथा गरिब वर्गलाई चर्को ब्याजदर लगाएर उनीहरूबाट रकम लुट्ने लुटेराको काम भइरहेको छ । बैंक तथा वित्तीय संस्थाले यसरी लुटिरहँदा पनि राज्य किन मौन भइरहेको छ । त्यसमा पनि देशमा कम्युनिष्ट सरकार छ । कम्युनिष्ट सरकारले पनि लुटेराहरूलाई किन संरक्षण गरिरहेको छ । यो निकै गम्भीर विषय हो । अझ भनौं लोकतान्त्रिक व्यवस्थामा विभिन्न बहानामा चर्को ब्याजदर लगाएर सर्वसाधारणको उठिबास लगाउने नवसामन्तीको रूपमा बैंकहरू लागिपरेका छन् । त्यस्तै, केही नेता, कर्मचारी, प्रहरीलगायतका उच्च ओहोदाका व्यक्तिहरू पनि सबैभन्दा ठूला घुसखोर भएका छन् । उनीहरू र उनीहरूका सन्तान तथा आसेपासेले जस्तोसुकै अपराध गरे पनि कानुनले नछुने अवस्था देशमा विद्यमान छ ।
यो दुर्भाग्यपूर्ण हो ।समाजमा अत्याचार बढेपछि जनताले नै विकल्प खोज्ने सन्देश जनप्रतिनिधिहरूलाई लगाइएको कालोमोसोले दिएको छ । कालोमोसो प्रकरण मन्त्रीका कार्यकक्षसम्म आउन सक्ने सम्भावना बढेर गएको छ । भ्रष्ट व्यक्तिलाई दोहो¥याएर नियुक्ति गर्ने मन्त्रीलाई कार्यकक्षमै पुगेर जनताले कालोमोसो लगाउने हिम्मत गरे भने त्यो पनि आश्चर्य हुनेछैन । नेपालका मन्त्रीहरू त्यस्तै कारबाहीको शिकार हुनुपर्ने अवस्थातिर उन्मुख देखिएका छन् ।














