किन बढदैछ मानिसहरूमा भाटगिरिको प्रतिश्पर्धा !

185
चन्द्रप्रकाश बानियाँ

यो वर्षको दर्शैमा दुईवटा घटनाहरू सामाजिक सञ्जालको भाषामा “भाइरल” बने ! एउटा थियो महामहिम राष्ट्रपतिबाट निगाह हुने टीकाग्रहणको लागि पूर्व प्रधानन्यायाधीशबाट प्रदर्शन गरिएको विशिष्ट शैली र अर्को थियो नेकपा डबलका अतिरिक्त अध्यक्ष माननीय पुष्पकमल दाहालको जनकपुरको भाषण ! फरक सन्दर्भ, फरक फरक पात्र, फरक अभिव्यक्ति, फरक भावभङ्गिमा, सारमा भने चाकडीको समानान्तर तर उन्नत चेष्टाहरू !

हाम्रो समाजमा एउटा अति नै लोकप्रिय लोकोक्ति प्रयोगमा आउँछः “हिड्ने गोरुको पुच्छर निमोठ्ने !” स्वाभाविक गतिमा काम गरिरहेको पात्रलाई थप उत्प्रेरित गर्नु अथवा अनावश्यक दवाव दिनु भन्ने दुबै अर्थमा प्रयुक्त हुने उखान हो यो । नकारात्मक र सकात्मक दुबै अर्थमा यसको प्रयोग गर्न सकिन्छ । गर्ने गरिन्छ । कहिलेकहीँ आम प्रचलनमा रहेको उखानको भावविपरितको व्यवहार पनि समाजमा देखिँदोे रहेछ । घटना झण्डै ३०÷४० वर्ष अगाडिकै हो । खण्डखातिरबस “हली” आउन नपाउने सूचना मिल्यो ।

चिम्ट्याइलो रातो माटो, चिस्यान ओभायो भने फोड्न नसकिने हुनसक्थ्यो । एकदिनको विलम्बले पनि खनजोत वर्षभरका लागि स्थगित रहन सक्थ्यो । आफूसँग बाँझो फोर्नसक्ने हिम्मत र सीप दुबै थिएन । त्यसैले खेतालोको बन्दोवस्त गर्नुपर्ने भयो, गरियो । खोजुवा हली परेछ अलि जुम्सोखालको । आफै अघिसरेर जुवामा गोरुहरू नारिदिएपछि कामविशेषले कतै जाुनपर्ने थियो, गइयो । मेरा गोरुले भने नयाँ हलीलाई टेरेनछन् । दिनढल्किसकेपछि फर्केर मेलामा आउँदा त एउटा अनौठो दृश्य देखियो ! हली मोरोले त हलोको अनौं छोडेर गोरु पो ठटाउँदै थियो । अचम्म लाग्यो । गोरुको गति बढाउन, हप्काइ दप्काइ गर्दा पनि नटेरेपछि पछि गोरुको पुच्छर निमोठ्न वा डँडाल्नुमा सुम्ल्याउन पनि हलोको अनौ छोड्हिाल्नु पर्दैन । मेरो खोजुवा हलीले भने अनौंसनौ छोडेको मात्रै होइन, गोरुको अघिल्तिर पुगेर यामान्को लट्ठीले गोरुको थाप्लामा सुम्ल्याउँदै थियो ।

“ए दाई ! के गरेको हो त्यस्तो ? भनेर सोधेको त हलीको उत्तरले हाँस्नुपर्ने बनायो । उ भन्दै थियो– “हलो भूईमा जोत्न पाएको छैन, साँढेहरू त कुदिहाल्छन् ! अलि विस्तारै हिँडिदिए पो लाप्सा फर्काइ फर्काइ मसिनो गरी जोत्न पाइन्छ । खुरखुरी दगुरिदिएपछि जोताई रट्याङ्गपट्याङ्ग भएको मात्रै होइन, हलो थाम्नै मुश्किल हुने ! वचन काट्न नसकेर आइहालियो, दिन बिताउनै गाह्रो भो । आज त जे भयो भयो, भोलिदेखि म आउँदिन । मैले हजुरका गोरु सुमर्न सकिन । अर्को हली खोज्नु होला । आधादिनमै थकाएर हत्तु बनाइहाले यी मर्न नसकेका साँढेहरूले ! घाँसको भरमा मात्र पालिएको गोरु भए पो हुन्छ । जिम्मालको सस्तो अन्नको बोसोले साँढेहरूलाई मैमत्त बनाएको रहेछ । गाह्रो नमानिदिनु होला, यी गोरुहरू मैले कजाउन सक्तिन ।” उसै पनि बाँझो फोर्न गाहै्र हुन्छ । हलीलाई मात्र होइन, गोरुलाई झन कठिन हुन्छ । नयाँ हलो नभै बाँझो राम्रोसँग उधिनिदैन । स्वभावतः दुब्ला पातला पिलन्धरे गोरुहरूका त पाता जोडिन्छन् । तर मेरोमा त कुरा उल्टो परेछ । गोरुको गति पछ्याउन हलीलाई पो गाह्रो परेछ !

यतिखेर संघीय सरकार भने मस्तसँग निदाएको छ र प्रदेश सरकारहरू काम गर्न नपाएर छटपटिएका छन् । त्यही छटपटी र हुटहुटीले दुई नम्बर प्रदेशसरकारले प्रहरी भर्ना सम्बन्धी विधेयक पारित ग¥यो । संघीय सरकारले आराम फर्माइरहेको छ भन्दैमा प्रदेश सरकारहरू हातखुट्टा खुम्च्याएर बस्न मिलेन । कर्मचारीको अभावमा कतिञ्ज्याल “छैन र भएन” भनेर बसिरहने ? समस्या छ सातै प्रदेशको एउटै हो । तर बाँकी छवटा प्रदेशसरकारहरू बोल्न सक्ने अवस्थामा छैनन् । पोखरामा सम्पन्न भएको मुख्यमन्त्रीहरूको भेलाले संघीय सरकारको भृकुटी तन्किएको अनुभूतिले विचराहरूलाई त्रसित बनाएको छ । फुकी फुकी पाइलो चाल्नुपर्ने बनाएको छ । पार्टीै अनुशासनको डण्डा बर्सिने पो हो कि भन्ने जलत्रासले ओठमुख सुकेका छन् । दुईनम्बर प्रदेशको कुरा अलि फरक छ । प्रारम्भदेखि नै उक्त प्रदेशको आवाजको “भोल्युम” अलि बढ्तै सुनिदै आएको हो । यसपटक मध्यदिनमै कम्बलले मुख छोपेर मस्तनिद्रामा निमग्न संघीय सरकारको कानमा पानी पर्ला कि भनेर उसको इच्छा विपरित प्रदेश संसदबाट विधेयक पारित गरिएको होला भनेर अनुमान गर्न सकिन्छ ।
राष्ट्रपतिको टीका बक्स प्रकरणजस्तै दुई नम्बर प्रदेश सरकारको चेष्टा पनि यतिखेर एउटा कित्ताको निन्दा आलोचनाको विषय बनेको छ । कतै देशको विखण्डन हुने त होइन भन्ने मनको बाघले पनि कैयौं पाङ्दुरे राष्ट्रवादीहरलाई खान थालेको छ । संघीय सरकारको असन्तुष्टि अर्कोतिर छ ।

हो, यही अन्योल र आशंकाको तुवालो हटाउने सन्दर्भमा नेकपाका अतिरिक्त अध्यक्ष जनकपुरतिर हानिएको हुन् भनिन्छ । संघ र प्रदेशबीचको असमझदारी मेट्ने प्रयत्नस्वरूप मध्यस्तको भूमिका निर्वाह गर्ने कोशिस उनबाट भएको होजस्तो देखिन्छ । र उनको चेष्टा हेर्दा मेरो गोरुको गति पछ्याउन नसकेको खोजुवा हलीको भूमिकामा यतिखेर नेकपाका अतिरिक्त अध्यक्ष प्रस्तुत भएका छन् भन्नु अतिशयोक्ति मानिने छैन । उनले जनकपुर पुगेर दशैंको शुभकामनाको निहुँमा “केन्द्रलाई उछिन्ने” नादानी नगर्न प्रदेशसरकारको नाममा उर्दी जारी गरेर फर्केछन् । यो छापाहरूको भनाई हो । छापाहरूले त “केन्द्रलाई ओभरटेक नगर्न प्रदेश सरकारालाई चेतावनी दिइयो भनेर प्रचार गर्ने गरेका छन् । साँचै प्रदेशसरकारलाई चेतावनी दिने उनको उद्देश्य रहेको हो भने उनको चेष्टा दुरुस्त मेरो हलीले छिटो छिटो हिँडेवापत गोरुको रामधुलाई गरेजस्तै होइन भन्न मिल्दैन ।

राष्ट्रपतिबाट बक्स भएको दशैंको “टीका” आशिर्वाद ग्रहण गर्ने पूर्व प्रधान न्यायाधीशको शैली यतिखेर सामाजिक सञ्जालहरूमा “भाइरल” बनेको छ र त्यो घटनामा आशिर्वाद थाप्नेको भन्दा दिनेको बढी निन्दा भएको छ । निन्दा आलोचनाको मात्र होइन, व्ंयंग्य परिहासको विषय पनि बनेको छ । हुन त राष्ट्रपतिका आफन्त लगायत प्रधानमन्त्री समेतले समानान्तर राखिएका कुर्चीमै बसेर टीका ग्रहण गरेको देखिन्छ । अर्थात राष्ट्रपति कार्यालयले टीकाग्रहण गर्नेहरूका लागि भुईमै बस्नुपर्ने वा घुँडा टेक्नुपर्ने वाध्यात्मक परिस्थिति सिर्जना गरेको त रहेनछ । पूर्व प्रधानन्यायाधीश लगायतका केही बहालवाला मन्त्रीहरूले आफूखुसी हनुमानगिरि प्रदर्शन गर्न रुचि देखाएका रहेछन् । राजा ज्ञानेन्द्रले बक्स हुने “टीका”को अवसरमा प्रदर्शित तत्कालीन सेनापति कटवालको “गरुडासन” उनीहरूका लागि आदर्श बनेको रहेछ भन्न सकिन्छ । रूपमा नभए पनि सारमा त्यही प्रवृत्तिको भद्दा अनुकरण गरिएको होइन भन्न सकिदैन ।

पूर्व न्यायाधीश लगायत विशिष्ट महानुभावहरूले प्रदर्शन गरेको दासत्वभाव र पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदर्शन गरेको संघीय सरकारको, खासगरेर प्रधानमन्त्रीको प्रतिरक्षाको भद्दा प्रयत्न उस्तै उस्तै होइनन् भन्न मिल्दैन । संघीय सरकारका लागि चुनौति सावित हुनेगरी गतिविधि गर्ने प्रदेश सरकारको कान निमोठ्ने चेष्टा हो भने त्यसलाई पनि हनुमानगिरिको नमूना होइन भन्न मिल्दैन । तर दाहालको भाषणको रेकर्ड सुन्दा भने त्यस्तो लाग्दैनरहेछ । अर्थात पत्रपत्रिका र श्रव्यदृश्य सञ्चारमाध्यमहरूले दाहालको अभिव्यक्ति र चेष्टाको अतिरञ्जित प्रचार गरेका होइन रहेछन् भन्न भने मिल्ने देखिँदो रहेनछ । दाहालको अभिव्यक्ति निकै सन्तुलित थियो भन्नैपर्दो रहेछ । उनले सभ्य र शिष्ट भाषामा प्रदेश सरकारलाई परिस्थितिको गम्भीरता सम्झाउने प्रयत्न गरेको आभाष हुँदो रहेछ । उनको भाषामा आक्रोश वा हप्कीदप्की होइन, अनुरोध प्रतिविम्वित हुन्छ ।

चेतावनी होइन, भद्र सल्लाह प्रष्टिन्छ । उनको कोशिस केन्द्र र प्रदेशबीचको तनाव कम गर्ने इमान्दार चेष्टा हा्ेइन भन्न मिल्दो रहेनछ । स्थिति नबसिसकेको अवस्थामा हतारो गर्दा प्राप्त आन्दोलनका उपलब्धिहरू धराप पर्नसक्ने कुरातिर प्रदेश, खासगरेर मधेस आन्दोलनलाई सम्झाउन खोजेजस्तो आभास हुँदो रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here