गढीमाई मन्दिरमा पशुबलि रोक्न बिहार सरकारको अपिल

543

काठमाडौं- भारतको बिहार सरकारले नेपालको गढीमाई मेलामा पशुबलि रोक्न अपिल गरेको छ ।

भारतको सर्वोच्च अदालतको आदेशअनुसार बिहार सरकारले गढीमाई मन्दिरमा पशुबलि रोक्न अपिल गरेको हो । बारा जिल्लामा रहेको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेलामा ठूलो संख्यामा बलि दिने प्रचलन छ ।

गढीमाई मन्दिरमा दिईने पशुबलिको पटकपटक विरोध हुँदै आइरहेका बेला भारतीय सर्वोच्च अदालतले आफ्ना नागरिकलाई पशुबलि नदिन आदेश दिएको थियो । बिहार सरकारले सोही आदेशबारे ध्यानाकर्षण गराउँदै सर्वसाधारणलाई पशुबलि नदिन अपिल गरेको छ ।

बाराको कलैयाबाट झण्डै ८ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि लाग्ने मेलामा भारतबाट ठूलो संख्या दर्शनार्थीहरु आउने गरेका छन् । ती दर्शनार्थीहरुले सो मन्दिरमा बलिदिँदै आएका छन् । मेलामा ठूलो संख्यामा राँगा तथा बोकाको बलिदिने गरिएको छ ।

पाँच वर्षअघि २०७१ सालको मेलामा १५ हजार बढी राँगाको बलि दिइएको थियो । बलि दिनेमा भारतका भक्तजनहरु बढी हुने गरेका छन् ।

विशेषगरी बिहारका मुजफ्फरपुर, सीतामढी, शिवहर, दरभंगा, पश्चिम चम्पारण, पूर्वी चम्पारण, सारण, गोपालगंज, किशनगंज, सपौल, मधुबनीलगायतका जिल्लाबाट ठूलो संख्या भक्तजनहरु आउने गरेका छन्।

उनीहरुले दिने पशुबलि रोक्न बिहार सरकारले वर्षौँदेखि प्रयास गर्दै आएको छ । यसै वर्षको मंशिरमा गढीमाई मेला लाग्दैछ । सो मेलामा बलि दिनका लागि भारतको बिहारबाट पशु तस्करी सुरु भइसकेको बिहार पशु तथा मत्स्य संशाधन मन्त्रालयले जनाएको छ
बिहार सरकारले सार्वजनिक सञ्चार माध्यमहरुमार्फत् सूचना जारी गरी पशुबलि रोक्न अपिल गरेको हो । साथै सर्वोच्च अदालतको आदेशको बेवास्ता गरी कसैले पशुबलिका लागि लैजान लागे जफत गर्नेसम्मको रणनीति बिहार सरकारले अंगिकार गरेको छ ।

पशु तथा मत्स्य संशाधन विभागले निरीह पशुको बलि नदिन आग्रह गर्दै त्यसलाई कानूनी अपराध भनेको छ । उसले पशुबलिको ठाउँमा फूल, मिठाई एवम् नरिवल चढाएर पैसाको सदुपयोग गर्नसमेत आफ्ना नागरिकलाई अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here