सरकारी जग्गा बेच्ने मालपोत अधिकृतसहित ७ जना माथि भ्रष्टाचार मुद्दा

181

काठमाडौं । मालपोत अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मालपोत कार्यालय, परासीका तत्कालीन कर्मचारीहरुको सहयोगमा बिचौलियासहितले मिलेमतो गरी ३ करोडको सरकारी जग्गा विक्री वितरण गराएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मालपोत कार्यालय परासीका तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्युटर अपरेटर एजाज खाँसहित ७ जनाबिरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

साविकको जयखानी ३ गुल्मीका दीपक सुनारले साविक तिलकपुर गाविस वडा नम्बर ५, हाल सरावल गाउँपालिका वडा नम्बर १० को २ बिघाहा १५ कठ्ठा २ धुर क्षेत्रफलको सरकारी जग्गा नक्कली कागजात बनाई विक्री गराएको खुलेको छ ।

सरकारी कर्मचारीहरुले उक्त जग्गाको नक्कली जग्गाधनी दर्ता श्रेस्ता र प्रमाणपूर्जा समेत खडा गरेको पाइएको थियो ।

सरकारी जग्गालाई व्यक्तिको बनाई राजीनामा पाससमेत गराएको पाइएको छ । प्रतिकठ्ठा ५ लाख २० हजारका दरले विक्री वितरण गरिएको उक्त जग्गाको मूल्य न्युनतम सरकारी मूल्यअनुसार पनि २ करोड ८६ लाखभन्दा बढी हुन्छ ।

वडा कार्यालयको सिफारिशसमेत नक्कली बनाई पहिले दीपक सुनारको नाममा उक्त जग्गा ल्याइएको थियो । दीपक सुनारको नाममा जग्गा आइसकेपछि उक्त जग्गा पछि लुम्बिनी ग्याँस प्रा.लि. नवलपरासीको नाममा राजीनामा पाससमेत भएको पाइएको छ ।

यसरी सरकारी जग्गा भएको जान्दाजान्दै व्यक्ति वा अमुक संस्थाको नाममा नक्कली कागजात खडा गरी आर्थिक लाभ लिएर विक्री वितरणमा सहयोग पुराएपछि मालपोत कार्यालय परासीका ३ जना कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

राष्ट्रसेवक कर्मचारीले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानुनी लाभ तथा प्रत्यक्ष फाइदा पुर्याउने काम गरेको पुष्टि भएको भन्दै मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्यटर अपरेटर एजाज खाँलाई जनही २ करोड ८६ लाख ५२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

यसैगरी गैर कानूनी लाभ हुने र नेपाल सरकारलाई हानी पुराउने कार्य गरेको भन्दै दीपक सुनार, बिचौलिया यादबप्रसाद भण्डारी, लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल तथा अर्का विचौलिया सुदन श्रेष्ठलाई पनि जनही २ करोड ८६ लाख ५२ हजार बिगो रकम मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here