भाइटीका मसलाको मूल्य चर्को , कुन मसलाको मूल्य कति ?

267

काठमाडौं / नेपालीहरूमा तिहारको रौनक सुरु भइसकेको छ । बजारमा तिहारको मसला किन्नेको भीड लाग्न थालिसकेको छ । विशेषगरी भाइटीकामा प्रयोग हुने तिहारको मसला अहिले अत्यधिक महँगोमा व्यवसायीहरूले बेचिरहेका छन् ।

तिहार सुरु हुन एक साता मात्र बाँकी रहँदा व्यवसायीहरूले अहिलेदेखि नै महँगोमा बेच्दै आइरहेका छन् । आफूले नै महँगो मूल्यमा ल्याएकाले उपभोक्तालाई पनि महँगो पर्न गएको जनाउँछन् । एउटै मसलामा केजीमा सात सय रुपैयाँसम्मले बढेको छ । अधिकांश मसलाका आइटमहरूमा तिहारको समयमा मूल्य बढेको हो । व्यवसायीहरू यी सामान आयात गर्नुपर्ने र डलरको मूल्यमा भएको वृद्धिका कारण उपभोक्तालाई महँगो परेको जनाउँदै आएका छन् ।

ओखर, खुर्पानी र मखनामा प्रतिकेजी २ सय रुपैयाँले बढेको छ भने सुकुमेल प्रतिकेजी सात सय रुपैयाँसम्म बढेको छ । अन्जिर प्रतिकेजी पाँच सय रुपैयाँले बढेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले सञ्चार माध्यमलाई जनाए ।

काजु प्रतिकेजी १७ सय रुपैयाँसम्ममा उपभोक्ताले खरिद गर्न पाउनेछन् । यस्तै किसमिस प्रतिकेजी ६ सय रुपैयाँमा बिक्री भइरहेको खुद्रा ब्यापार सङ्घका अध्यक्ष श्रेष्ठले जनाए । यस्तै पहिला ४ सय ५० रुपैयाँ प्रतिकेजीमा पाइने ओखर अहिले ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । केजीको ३ सय ७५ रुपैयाँ पर्ने नरिवलको मूल्य पनि बढेर ५ सय ५० रुपैयाँ पुगेको छ ।

पेस्तामा पनि चार सय रुपैयाँसम्म बढेको छ । प्रतिकेजी १९ सय रुपैयाँमा पेस्ता उपभोक्ताले किनिरहेका छन् । यसअघि १५ प्रतिकेजीको मूल्य थियो । यता बदाम साढे १४ सय प्रतिकेजी, छोकडा २ सय २५ रुपैयाँ प्रतिकेजी, खुर्पानी प्रतिकेजी १५ सय, अन्जिर प्रतिकेजी २ हजार रहेको छ । यस्तै अलैँची प्रतिकेजी १२ सय रुपैयाँ रहेको छ । यसअघि हजार रुपैयाँसम्ममा पाइन्थ्यो । ल्वाङ प्रतिकेजी १५ सय रुपैयाँसम्म लिएर व्यवसायीहरूले बिक्री गरिरहेका छन् ।

दालचिनी प्रतिकेजी १ सय २५ रुपैयाँले बढेर ५ सय रुपैयाँ पुगेको छ । सुपारी सात सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । व्यवसायीले मनलाग्दी मूल्य बढाइरहेको छ भने सरकारले प्रभावकारी अनुगमन गर्न सकेको भने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here