काठमाडौं / वर्षौदेखि किसानको उखुको पैसा नतिर्ने व्यापारी राकेश अग्रवाल पक्राउ परेका छन् । करिब ४६ करोड पैसा नतिरेको भन्दै किसानले दिएको जाहेरीका आधारमा अग्रवाललाई गृह मन्त्रालयको आदेशमा बुधबार विहान प्रहरीले त्रिपुरेश्वरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
गृह मन्त्रालयले व्यापारी अग्रवाललाई किसानहरुको पैसा तिराउन जिल्ला प्रशासन कार्यालय सर्लाहीलार्इ ताकेता गर्न निर्देशन दिएको थियो । जिल्ला प्रशासनको ताकेतापछि पनि पैसा नतिरेपछि अग्रवाललाई पक्राउ गर्न गृहले निर्देशन दिएको हो ।
उखु किसानको पैसा नतिरेपछि उनीहरुकै जाहेरीको आधारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेका थिए । किसानहरुले आन्दोलन गर्न थालेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आग्रहमा गृहले पक्राउ गर्न निर्देशन दिएको हो । उनीमाथि ठगि र सार्वजनिक अपराधको मुद्धा चल्न सक्ने प्रहरी स्रोतले जनाएको छ ।
राकेश अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्राली नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्राली सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको छ ।


















