राप्रपाका असन्तुष्ट नेताहरु भेलाको तयारीमा

417

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठूलो समूहले अब तीन वटै राप्रपाका असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको छ ।

‘पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्नेछ’, राप्रपा स्रोतले सञ्चार माध्यमलाई जनाएको छ ।

राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार राजधानीस्थित होटल एलो(पगोडामा गोप्य भेला गरेका थिए । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

गोप्य भेलामा राप्रपाका २१ नेता रहेकोमा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए ।

असन्तुष्ट समूहमा रहेका अधिकांश नेता कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । तर पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका छन् । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here