काठमाडौं, १४ कात्तिक– प्रधानमन्त्री के.पी. शर्मा ओलीको स्वास्थ्यस्थितिलाई मध्यनजर गर्दै शिक्षण अस्पतालले भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्ति सँगको सम्पर्कले संक्रमण बढन सक्ने बताउँदै अस्पतालले प्रधानमन्त्रीसँगको भेटघाटमा रोक लगाएको हो । मंगलबार दिउँसो अस्पतालले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभ गराउनु आफुहरुको पहिलो प्राथमिकता रहेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,– ‘सम्माननीय ज्यूको शीघ्र स्वास्थ्य लाभ गराउनु अस्पतालको पहिलो प्राथमिकता भएकोले चिकित्सकीय राय अनुसार भेटघाटलाई प्रतिबन्ध गरिएको व्योहोरा सम्बन्धित सबैमा अनुरोध गर्दछौ ।’ प्रधानमन्त्री ओली कात्तिक १२ गतेदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।
त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मंगलबार नै प्रेस नोट जारी गरि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका छन् । अर्यालले जारी गरेको नोटमा प्रधानमन्त्री ओलीले देश भित्र र बाहिरबाट आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता र चासो व्यक्त गर्नुहुने सम्पुर्ण नेपाली दिदीभाई–दाजुबहिनी तथा विदेशी मित्रहरु प्रति आभार प्रकट गरेको उल्लेख छ । साथै अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य क्रमिक सुधार भएको समेत जानकारी गराउँदै अस्पतालले समय समयमा जारी गर्ने विज्ञप्तिहरुबाट आधिकारीक जानकारी पाउन सकिने जनाएका छन् ।


















