प्रधानसेनापति थापालाई थाहा नै नदिइ भइरहेका यस्ता गुप्त धन्दा

252

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले विजयादशमीको पूर्वसन्ध्यामा सैनिक मुख्यालयमा पत्रकारहरुलाई डाकेरै सेनाभित्र भ्रष्टाचार रहेको स्वीकार गर्दै त्यसलाई शून्य सहनशीलतामा झार्न आफू लागिपरेको जनाएका थिए । त्यस अवसरमा सेनापति थापाले सेनामा आफूले चालेका सुधारका कामलाई सहयोग गर्न संचारकर्मीलगायत सबैमा आग्रह पनि गरे ।

तर सेनापति थापाले सेनाभित्रको भ्रष्टाचार निर्मूल पार्न उद्घोष गरिरहेकै बेला सैनिकले बन्दोबस्तीका सामान बोक्ने वेभ ईक्युपमेन्ट ब्याग खरीदमा डरलाग्दो घोटाला मिलाउने तारतम्य भईरहेको खबर प्राप्त भएको छ । समाचार सुत्रका अनुसार सेनाको मालसमान खरीद गर्ने सम्भाररथी विभागका केही अद्यिकृत तथा विवादस्पद ठेकेदार पिताम्बर मुन्काको योजनामा ३५ हजार थान ईक्युपमेन्ट ब्याग खरिदमा डरलाग्दो गरी घोटला गर्न लागिएको छ । ब्याग खरीदको ठेक्का पाएको विजय श्रेष्ठ र अर्का ठेकेदार ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र विसी लगायतको यसमा लागि परेका छन् ।

यसरी हुँदैछ घोटालाः

निर्वतमान प्रधानसेनापति राजेन्द्र क्षत्रीका पालामा करिब १४ करोड मुल्य बराबरको ३५ हजार थान सैनिकले बन्दोवस्तीका सामान राख्ने वेभ इक्युमेन्ट ब्याग खरिदको जिम्मा बिजय श्रेष्ठको न्यू एसियन नामक कम्पनीले पाएको थियो । काठमाडौंको रैथाने श्रेष्ठ शुरुमा प्रधानसेनापति निवास शशी भवनमा आवश्यक सम्पूर्ण सामान आपूर्तिको ठेक्का लिएका थिए । त्यहि क्रममा निर्वमान सेनापति क्षत्री पत्नी रीता क्षत्रीसँग बढेको सम्पर्क मार्फत श्रेष्ठले त्यो ठेक्का हात पारेका थिए ।

त्यसो त उक्त ठेक्का श्रेष्ठले पाउनुमा सेनाभित्रका बिवादास्पद ठेकेदार मुन्काकै भूमिका रहेको थियो । ठेक्का खासमा मुन्का आफैं लिन चाहान्थे । आर्थिक बर्ष ०७२-०७३ मा व्याग खरिदको ठेक्का मुन्काले नै पाएका थिए । तर मुन्काले सामान तोकिएको समयमा बुझाएनन् । ढिलो गरी बुझाएको सामान गुणस्तर हेर्ने सेनाको समितिबाट अस्वीकृत भयो । त्यसपछि भएको व्याग खरिदको ठेक्कामा मुन्का देखिने गरी अगाडि आउन सकेनन् र श्रेष्ठलाई मोहरा बनाए ।

ठेक्का परेपछि श्रेष्ठले चीनमा सामान तयार गर्न लगाए । सामान तयार गर्न लगाएपछि सेनामा खरीद गर्न लागिएको सामान निरीक्षण अनुगमन गर्ने प्रचलन रहेको छ । बिषेशगरी संभाररथी विभाग मातहतका उच्च अधिकृतहरु यस्तो अनुगमनमा जाने सामेल हुने गर्दछन । तर, मुन्काको सेटिङमा संभाररथीबाट उच्च अधिकृत नलगि कालिकास्थानमा रहेको बहुव्यवसाय उद्योगका एक क्याप्टेन र मेजर राजकुमार लामालाई लगियो । श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत र लामासहितको अनुगमन टोलीले चीनमा निर्माण भईरहेको व्यागको नमूना छाउनीस्थित आवासखानामा पेश गरी परीक्षण गर्दा व्यागको कपडा वाटर प्रुफ (पानी नछिर्ने) हुनुपर्नेमा कपडाबाट पानी छिर्यो ।

स्रोतका अनुसार त्यसपछि यो बिषयले सेनामा हंगामा भयो । किनभने त्यतिबेलासम्म चीनमा तीस हजार थान व्याग तयार भैसकेको थियो । त्यसपछि ठेकेदार श्रेष्ठ भएपनि मुन्काको अगुवाईमा अर्को नमूना पेश गर्ने भन्दै चार दिन समय मागियो । र, चीनबाट अर्को नमूना ल्याएको भन्दै पूर्व प्रधानसेनापति क्षत्री पत्नी रीतामार्फत पहिल्यै मुन्काले ढिलो बुझाएका कारण अडकिएको झोलाको कपडा पेश गरेर नमुना पास गराइयो । स्रोतकाअनुसार निवर्तमान प्रधानसेनापति क्षत्रीकै पालामा उच्च तहबाट पावर भिडाएर गुणस्तर समितिका सदस्यलाई बिशेष प्रभावमा पारेर नयाँ ठेक्कामा पुरानो ब्याग भिडाउने प्रपञ्चलाई वैधानिकता दिन लागिएको छ।

यहि प्रपंचलाई सफल पार्न योजनाबद्ध ढंगले निरीक्षण अनुगमनमा उच्च तहका सैनिक अधिकारी नलगी मेजरलाई लगिएको योजना अनुसारनै वाटारप्रुफ कपडा प्रयोग नगरी ४ दिनको समय लिएर पुरानो ब्याग भिडाएको तथ्यहरुले देखाएका छन् । यसबारेमा सेनापतिले विश्वास गरेर सम्भारको जिम्मा दिएका उपरथी रघु भण्डारीले कसरी छानविन गर्छन् हेर्न बाँकी छ ।

विशेषगरी प्रधानसेनापति थापालाई थाहा नै नदिइकन भइरहेका यस्ता गुप्त धन्दाहरुलाई सदाका लागि निर्मुल गर्न सेनापति थापाले पुराना ठेक्का अध्ययन अनुसन्धान गर्न एक छानविन समिति नै गठन गर्नुपर्ने देखिएको छ ।नवजनप्रहारबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here