नेपालका लागि नेपाली अभियानको प्रथम राष्ट्रिय भेला सम्पन्न, ८५ सदस्यीय केन्द्रीय समिति गठन

358

पञ्चायतकालदेखि हालसम्म सार्वजनिक पद धारण गरी अकूत सम्पत्ति कमाएका शंकास्पद व्यक्तिहरुको नागरिक आयोगमार्फत् छानबिन गरी दोषीलाई कानून बमोजिम दण्ड सजाय गर्ने तथा भ्रष्टाचारीका सम्पत्ति राष्ट्रियकरण गरी गरीबी निवारण कोष बनाउने लक्ष्यका साथ सुरु भएको नेपालका लागि नेपाली अभियानको आज काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले अभियानलाई राष्ट्रव्यापी रुपमा लैजानका निमित्त एक ८५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिबाट गठन गरेको छ । यस्तै विभिन्न क्षेत्रमा लामो समय काम गर्नुभएका विशिष्ट विज्ञ एवं बुद्धिजीवी व्यक्तित्वहरुको एक २५ सदस्यीय सल्लाहाकार समिति समेत राष्ट्रिय भेलाले गठन गरेको छ ।

यस्तै भेलाले अभियानको नीतिगत निर्णय गरी कार्यक्रमहरु अघि बढाउनका निमित्त एक ९ सदस्यीय कार्यसञ्चालन समिति (केन्द्रीय सचिवालय) गठन गरेको छ । अभियानमा विभिन्न क्षेत्रमा रहेर पेशा व्यवसाय गर्दै आएका विज्ञहरु, कानून व्यवसायी, पत्रकार, चिकित्सक, ईञ्जिनियर, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको छ ।

केन्द्रीय सचिवालयमा वरिष्ठ अधिवक्तात्रय बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरे सहितका व्यक्तिहरु रहनुभएको छ । अभियानले अब देशव्यापी रुपमा संगठन निर्माण गरी स्थानीयतहदेखि सिँहदरबारसम्म संस्थागत रुपमा भइरहेको भ्रष्टाचारको नमूना नागरिक आयोगमार्फत् छानबिन सुरु गर्ने केन्द्रीय सचिवालयले जनाएको छ ।

यस अभियानमा सत्य, निष्ठा र सदाचारप्रति प्रतिबद्ध नेपालका लागि नेपाली भएर सोच्ने जोसुकै नागरिक संलग्न हुनसक्ने अभियानको केन्द्रीय सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here