काठमाडौं / नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ। संघीय संरचनाअनुसार पार्टीलाई लैजान र सांगठानिक सुदृढिकरणका लागि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा भदौ ७ गते समिति गठन गरेको थियो।
‘उपसमितिमा कुनै पनि विवाद रहेन, यसअघि असहमति रहेका विषयलाई पनि टुंग्यायौं’, उपसमिति सदस्य रमेश लेखकले भने, ‘यसलाई अब १३ सदस्यीय पूर्ण समितिमा छलफल भएर हामी विधानलाई अन्तिम रूप दिन्छौं।’ उपसमितिले विधान मस्यौदालाई अन्तिम रूप दिएपछि आइतबार समिति सदस्यलाई अध्ययनका लागि मस्यौदा वितरण गरिएको थियो।
‘समिति सदस्यले अध्ययन गरेर मस्यौदामाथि आफ्ना राय सुझाव दिन्छन्, उहाँहरूकै सुझावअनुसार विधानमा केकति परिमार्जन गर्ने भन्ने निर्क्योल हुन्छ’, बडूले भने, ‘हाम्रो प्रयास भोलि (२० गते) बस्ने केन्द्रीय समितिमा पेस गर्ने हो।’ कांग्रेसले करिब एक महिनापछि केन्द्रीय समिति बैठक बोलाएको हो। यसअघि असोज २१ गते बसेको केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको थियो।
विधानमा सदस्यता वितरणमा जोड दिइएको छ। एकै खालको सदस्यता राख्ने व्यवस्था गरेको मस्यौदा समितिले पार्टीको सदस्यता वितरणलाई सहज बनाएको हो। यसअघि कांग्रेसमा क्रियाशील र साधारण सदस्यता प्रणाली थियो। कांग्रेसले युवालाई आकर्षित गर्न १८ देखि ३० वर्षसम्मका लागि अनलाइनबाटै सदस्यता वितरण गर्ने भएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले संसदीय दलको नेता छान्ने प्रक्रियाका लागि एउटा समिति पनि बनाउने जनाए।


















