अनलाइन शेयर कारोवार आजदेखि घरबाटै

224

काठमाडौं । अनलाइनबाट अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरेका छन्। शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन् ।

विसं २०७२ देखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित कारोवार, राफसाफ, फछ्र्यौट गर्न थालियो । नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीलाई कार्यान्वयनमा ल्याएर विश्वस्तरको दोस्रो बजार सेवा प्रदान गर्न लागिएको स्टकले जनाएको छ ।

स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरुले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । शेयर कारोवारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो । यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रुपमा नै जानुपर्ने बाध्यता थियो ।

नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्नेछन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्ने स्टकका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुङ्गा सावित हुने विश्वास स्टकले लिएको छ ।

अर्थमन्त्री डा खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए । बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गर्नुभयो ।

विगत तीन वर्षदेखि देशको आर्थिक वृद्धि ६ प्रतिशत बढी भइरहेको भन्दै उहाँले सरकारले चालु आवमा आठ प्रतिशतको वृद्धि हुने लक्ष्य राखेकामा त्यो प्राप्त हुने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले गैरआवासीय नेपाली र विदेशमा रहेका नेपालीलाईसमेत शेयर कारोवारको सहजीकरणका लागि पूर्ण स्वचालित अनलाइन प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

इन्टरनेटको माध्यमबाट कारोवार गर्न सकिने, पूर्ण स्वचालित प्रणालीको उपयुक्त व्यवस्था, ब्रोकर व्यवस्थापन, सुपरिवेक्षण, धितो तथा भुक्तानी प्रणाली समेत उपलब्ध भएकाले बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । विसं २०५० मा नियमित बजार सञ्चालनका लागि सदस्य दलालले चिच्याएर आदेश दर्ता गर्न लगाउने र नेप्सेका कर्मचारीले सेतोपाटीमा उक्त आदेश लेख्ने गरी कारोवार हुने गरेको थियो । विसं २०६४ मा ‘सेमी अटोमेटेड टे«डिङ’ प्रणाली शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here