काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कानुन बन्ने चरणमा रहेको जनाएका छन्। प्रादेशिक कानुन र स्थानीय कानुनहरु पनि निर्माणको चरणमा रहेको भन्दै उनले कानुनहरु एकै रातमा बन्ने कुरा नभएको जनाए । प्रक्रिया पूरा गरेर अघि बढ्छौं । कतिपय आवश्यक कानुनहरु संसदमा छन् । कतिपय निर्माण भैसकेका छन् ।’
संघीय प्रहरी ऐन निर्माणको अन्तिम चरणमा पुगिसकेको उनले जनाए । उनले भने,‘कर्मचारी समायोजन ऐन अन्तिम चरणमा छ । अब बस्ने मन्त्रिपरिषद बैठकबाट कर्मचारी समायोजन ऐन अघि बढ्छ । संघीय प्रहरी ऐनपनि अघि बढ्छ । अरु थुप्रै ऐनहरु प्रक्रियामा छन् ।’
अहिले देखिएका केही जटिलताहरु सरकारको ध्यानमा रहेको सुनाउँदै यी सबै समस्याहरुलाई समाधान गर्ने उनको विश्वास थियो । उनले भने,‘जनताको चाहना र भावना भनेको नै सुशासन, न्याय र विकाससँग जोडिएका छन् । यी सबै काममा यो सरकारले सफलता प्राप्त गर्छ ।’ चाडपर्वले हाल थोरै कामहरु अलमलमा परेको भएपनि तर अब सरकारका कामहरुले गति लिने उनको स्पष्टोक्ति थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जनताका गुनासाहरु तत्काल सम्बोधन गर्नुपर्ने भनेर निर्देशन दिएकोले आफूहरु त्यहीअनुसार अघि बढिरहेको उनको भनाई छ । उनले भने,‘काम गरेर नै हामी जनतामा भएका असन्तुष्टिहरु सन्तुष्टिमा परिणत गर्छौं ।’ उनले कर्मचारी व्यवस्थापनको काम पनि ऐनसँग जोडिएको जनाए । उत्साहित भएर काम गर्नेलाई प्रोत्साहन गर्ने र उनीहरुको वृद्धि विकासको व्यवस्थापन गर्नेपनि उनले विश्वास दिलाए ।
उनले भने,‘उहाँहरुलाई दिनुपर्ने सेवा तथा सुविधाका बारेमा पनि विशेष ध्यान दिन्छौं ।’ स्वेच्छिक अवकाशमा जान चाहने राष्ट्रसेवक कर्मचारीलाई चाहिनेभन्दा बढि सेवा सुविधा दिन नसकिने उनको जिकिर छ । उनले भने,‘राज्यलाई बोझ बनाएर व्यक्तिलाई पोस्ने काम सरकारले गर्दैन् ।’
तर, उत्साहित भएर काम नगर्ने र झारा टार्नेगरि काम गर्नेहरुलाई सरकारले पनि त्यही अनुसारको व्यवहार गर्ने उनको चेतावनी थियो । उनले भने,‘तोकिएको ठाउँमा नजाने र दृढ संकल्पित भएर काम नगर्नेलाई हामी सचेत गराउँछौं । सचेत गराउँदापनि नमाने दण्डित गराउँछौं । अनि त्यसो गर्दा पनि भएन भने बाईबाई गरेर बिदा गर्छौं । कसैको अनुहार हेरेर अब देश चल्दैन् । यो देशमा प्रशासन परिणाममुखी बनाउनुपर्छ । त्यो काममा हामी सफलता प्राप्त गर्छौं ।’
अहिले देखिएका सबै समस्याहरु समाधान गर्ने उनले विश्वास दिलाए । उनले भने,‘काम गर्दै जाँदा जहाँ गल्ती भएका छन्, ती गल्तीहरुको बारेमा तपाई मिडियाका साथीहरुले पनि यहाँ गल्ती भयो भनेर औंल्याईदिनुहोस् ।’ सरकारले पद र आवश्यकत्ताअनुसार कर्मचारी राख्ने तर पदविहीन बनाएर नराख्ने पनि उनले स्पष्ट पारे । उनले भने,‘काम भए र पद भए कर्मचारी हटाउँदैनौं । कर्मचारीको सवालमा क्याबिनेटले गरिसकेको निर्णयहरु कार्यान्वयनमा जान्छन् । यदि कार्यान्वनयमा समस्या आए हामी समाधानको खोजी गर्छौं ।’
प्रदेश र स्थानीय तहमा पठाईएका कर्मचारीहरुलाई सुरु–सुरुमा हाजिरी गर्न समस्या भएपनि अहिले त्यस्तो कुनै समस्या नरहेको उनले स्पष्ट पारे । त्यस्तै उनले संघीय कानुन धमाधम बनिरहेकोले चाँडै आउने पनि जानकारी दिए । उनले भने,‘संघीय कानुनहरु कतिपय यही महिनाभित्रै आउँछन् । कतिपय मंसिरको पहिलो हप्ताभित्र आउँछन् ।’
फरक प्रसँगमा उनले आफूले सरकारले दिएको सुविधाबाहेक थप सुविधा नलिएको स्पष्ट पारे । पण्डितले आफूले थप गाडी नलिएको जिकिर गरे । उनले भने,‘नक्कली समाचार बनाएर राख्नेहरुलाई मलाई केही भन्नुछैन् । तर, मैले सरकारले दिएको सुविधाबाहेक थप सुविधा लिएको छैन् । र, लिनेपनि छैन् ।’
उनले आफू पाएको जिम्मेवारीलाई तोकिएकै समयसिमाभित्र सम्पन्न गर्न दृढसंकल्पित रहेको पनि दाबी गरे । उनले भने,‘मैले सुरुवातमै असारभित्र प्रशासनिक संक्रमणको अन्त्य गर्छु भनेर बोलेको थिएँ, त्यसलाई अन्त्य गरेरै देखाएँ । अब पुषभित्र कर्मचारी समायोजन गर्छु भनेर बोल्दैछु । त्यो पनि पूरा गरेर देखाउँछु ।’
मन्त्री पण्डितले लोकसेवा आयोगको भर्ना विज्ञापन सरकारले नरोकेको जिकिर गरे । उनले भने,‘२ महिनाको लागि उपसचिव र सहसचिवको बढुवामात्रै रोकेको हो । अरु कुनै रोकिएको छैन् । लोकसेवा आयोगको कर्मचारी भर्ना प्रक्रिया जारी नै छ । अहिलेपनि ३७५ शाखा अधिकृतले स्टाफ कलेजमा तालिम लिईरहेका छन् ।’ प्रदेश लोकसेवा आयोग र स्थानीय सेवा आयोग गठन भएपछि त्यहीँबाट आवश्यक कर्मचारी पूर्ति गर्ने बाटो खुल्ला हुने पनि उनले जनाए ।


















