काठमाडौं, २६ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने दाबी गरेका छन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘सरकारले अब गति लिन्छ । यसमा कुनै शंका छैन् । वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन् ।’
आइतबार एक कार्यक्रममा बोल्दै नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने,‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।’
उनले थपे,‘यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन् । सरकारको कामको बारेमा आंशिक समिक्षा गर्न सकिन्छ, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले होईन् । सरकार गठन भएको एक वर्षपनि पुगेको छैन् । यो सरकारसामू ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ । र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन् । उनले भने,‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो । तर, अहिले सरकारले काम गर्न सकेन् । यो सरकारको आयु पाँच वर्षको छ । तर, यसले स्थायी सरकारको गतिविधि देखाउन सकेको छैन् । यसको गति कछुवाकोजस्तो छ । न हाँसको चाल, न बकुल्लाको चाल नै भयो ।’
सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजनाहरु सार्वजनिक गरेपनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दापनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकत्ता रहेको नेता श्रेष्ठको भनाई छ ।
उनले भने,‘यहाँ गाडी चढेर हिँड्न अप्ठ्यारो छ । काठमाडौंका सडकहरु अव्यवस्थित् छन् । यीनीहरुको व्यवस्थापन गर्नुपर्छ । अन्र्राष्ट्रिय सम्मेलनहरु हुँदा रातारात सडहरु पीच भएका छन् । तर, अहिले आएर पैसा छैन भन्न यो सरकारलाई सुहाउँछ ? औषधोपचारको लागि पैसा हुने तर सडक बनाउन पैसा हुँदैन् ।’
राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन् । उनले सरकार पूर्ण रुपमा असफल भैसकेको बताए । उनले भने,‘अहिलेसम्म अन्तरप्रदेश परिषदको बैठक बस्न सकेको छैन् । मुख्यमन्त्रीहरु एक ठाउँमा भेला भएर चिया पिउनुभयो भने केन्द्र सरकारको कुर्सी हल्लिन्छ ।’


















