दशैं तिहारजस्ता सांस्कृतिक पर्वहरू सबै नेपालीहरूका साझा हुन् कि हिन्दूहरूका मात्र ?

227

-चन्द्रप्रकाश बानियाँ

नेपाली समाजमा यो वर्षको दशैं विशेष चर्चाको विषय बन्यो । सकल प्रजाजनलाई दशैंको टिकाप्रसाद निगाह बक्सदिने नारायणहिटी दरबारको परम्परालाई निर्मलनिवासले निरन्तरता दिदै आएको छ । सांस्कृतिक कार्यक्रममा हुने राजकीय सहभागिताको लागि प्रथम राष्ट्रपति रामवरण यादवले पूर्वराजासँग प्रतिश्पर्धा नै गर्थे । उनको सेवानिवृत्तिपछि शितलनिवासले पूर्व परम्परालाई आँखा चिम्लेर निरन्तरता दिने गरेको छ । त्यहाँसम्म ठिकै थियो । टीका लिनेदिने व्यवहारमा केही असंगत अभ्यासहरू हुन गएकै भए पनि त्यसलाई नेपाली समाजले पचाइसकेको थियो ।

यसपटक त्यो परम्परा अझ विस्तारित भयो । प्रधानमन्त्री कार्यालयले सूचना नै जारी गरेर विशिष्टहरूसँग आम नागरिकहरूलाई प्रधानमन्त्रीको वरद बाहुलीबाट टीका ग्रहण गर्न आह्वान ग¥यो । यस्तो परम्परा राणाकालमा थियो कि ? राणाहरूले आफूलाई श्री ३ महाराज घोषित गरेका हुनाले विष्णुको अवतारको वंशानुगत हैसियत प्राप्त गरेको ठान्थे । नियुक्ति, थमौति, पजनी, विर्ता, बकस र राजकीय दानदातव्यको अधिकार श्री ३ महाराजसँग सुरक्षित रहने परम्परा बसालिएका हुनाले उनीहरूको हैसियत कसैको भाग्य बदल्न सक्नेसम्मको हुन्थ्यो । मानवसमाजको इतिहास शक्तिपूजक रहँदै आएको छ । स्वभावतः त्यो जमानामा सर्वसाधारणले श्री ३ हरूको टीका आशिर्वाद प्राप्त गर्नु सौभाग्यको विषय सम्झने नै भए । महाराजाहरूले टीका प्रसाद बक्सन पाउँदा गौरवानुभूति गर्दथे । यसपटक लोकतान्त्रिक सरकारले पनि श्री ३ महाराजकै हैसियतमा आफूलाई प्रस्तुत गर्न रुचायो । ‘ठूलाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत’ ! कुरो काट्ने कसले ?

दशैंमा ठूलावडाका हातबाट टीका थाप्ने संस्कार पुरानै हो । टीका दिनेमा भन्दा टीका थाप्नेमा विशेष उत्साह हुन्छजस्तो लाग्छ । आशिर्वाद प्राप्त गर्नुभन्दा मान्यजनप्रति आदार सम्मान प्रकट गर्नको निमित्त उपस्थित हुने मनोविज्ञानले काम गरेको हुन्छ । यस्तो चलन राणाकालमा प्रचलित “चाकडीप्रथा” को एक खाले निरन्तरता हो भन्दा फरक पर्दैन । हरेक दशैमा जिम्मुवालको हातबाट टीका लगाउन गाउँभरमा मानिसहरू हाम्रो घरमा उपस्थित हुने गरेको घटना मेरो स्मृतिमा ताजै छ । दर्शैभर काम गर्ने त कुरा परै रहोस् सुविस्तासँग खाने गफिने फुर्सद पनि बाबालाई हुँदैनथ्यो । आउनुपर्ने नपर्ने सबै मानिस आउँथे । सबैको मान राख्नुपर्ने, आशिर्वाद, दानदक्षिणाको उदारता देखाउनुपर्ने ? मेरा पिताजीलाई दशैैंले नराम्रोसँग थकाउँथ्यो । गाउँको एउटा मुखियाकोमा त मानिसहरू त्यसरी लाम लाग्थे भने देशको प्रधानमन्त्रीले नै टीका निगाह हुने भएपछि मानिसहरू तानिनु स्वभाविक भयो ।

व्यक्तिगत हिसाबले दशैभन्दा तिहारसँग मेरो अलि बढ्ता लगाव भएजस्तो लाग्छ । तिहारसँग बच्चैकालदेखि सम्मोहित थिएँ । ममा तिहारसँग विशेष मोह र अनौंठा अपनत्वभाव विकसित भएको थियो । त्यसको कराण उति ठूलो भने थिएन । मेरा पिताजी गाउँको जिम्मुवाल भएको हुनाले स्वभावतः हरेक वर्ष दशकैको टीकाको आयोजना हाम्रो घरमा हुन्थ्यो । जमघट भव्य हुने गथ्र्यों र पनि मेरो बाल मन भने रमाउँदैनथ्योे । खासगरेर, जेठोबडोबाट टीका लगाउने चलन पटक्कै मन परेको थिएन । आफू घरको कान्छो सदस्य, त्यसमाथि गाउँभरका उपस्थित जेठाबाठाहरूको पालो नतुरिएसम्म आफ्नो टीका थाप्ने पालो नआउने ! टीका नथापिकन खान समेत नपाइने ! घरमा बनेका परिकार मात्रै होइन अन्यत्रबाट आएका विभिन्न कोसेलीपात देखेर मुखमा रसाएको पानी स्याहार्नै गाह्रो हुन्थ्यो । भोकभन्दा तृष्णाले बढी अत्याउँथ्यो । कैयौं दशैमा टीकाजमरा थाप्ने पालो कुर्ने धैर्य गर्न नसकेर डाँको छोडेर रोएको सम्झना छ । यसपटक प्रधानमन्त्रीकोमा टीकाप्रसादका लागि लामबस्न उपस्थित हुने टीकार्थीहरूमा मेरो वाल मनोविज्ञानजनित खानेपिउने हतारो नभए पनि विशेष लोभ र आशा थिएन भन्न मिल्दैन । प्रधानमन्त्रीलाई ओछ्यानमै पर्नुपर्नेगरी टीकार्थाीहरू उपस्थित हुनुको कारण त्यही होइन भन्न सकिन्न ।

दिन बिते, समय फेरियो । हिजोको जस्तो अरुको हातबाट टीकाप्रसाद, आशिर्वाद र दक्षिणा थाप्ने दिन गए । उमेरले आफैलाई जेष्ट नागरिक बनाइदियो । आफ्ना मान्यजन जेष्ठ आफन्तहरू पातलिँदै गएर तुरिइसके । समयले आफैलाई बुढोपाको बनायो । आफूले अरुबाट टीका आशिर्वाद लिने होइन, आफूले अरुलाई दिनुपर्ने दिन ब्यायो । राजाको छोरा राजा भएजस्तै प्रजाको छोरा भएपनि बाबाको वंशानुगत गाउँबुढाको हैसियत प्राप्त भयो । निधार रित्तो राखेर अरुलाई दशैंको टीका लगाइदिनु हुदैन भनिन्छ । आफूलाई टीका लगाइदिने मानिस कहाँ पाउनु अब ? पम्परालाई निरन्तरता दिन आफ्नै हातले आफ्नै निधारमा एक चिम्टी अक्षेता टाँस्नुपर्ने भयो । एकदिन समयले जन्मस्थान पनि छोड्नुपर्ने बनायो । नयाँ ठाउँमा न आफूलाई टीका दिने मानिस छ, न आफैले कसैलाई टीका लगाइदिनुपर्ने आवश्यकता छ । कम्युृनिष्ट पार्टीका नेताहरूलाई जस्तो आस्था नभए पनि दुनियाँलाई देखाउनकै लागि मन्दिर मन्दिर धाएको नौटङ्की गर्नुपर्ने वाध्यता आफूलाई छैन । मेरो दशैंको टीका अब विशुद्ध घरपरिवारमै सीमित हुन पुगेको छ । प्रधानमन्त्री, राष्ट्रपतिहरूको पदीय हैसियत समाप्त भएपछि उनीहरूको अवस्था मेरैजस्तो हुनेछ । त्यतिखेर बल्ल उनीहरूको दर्शै पनि तिहारजस्तै विशुद्ध पारिवारिक पर्व बन्नेछ ।

दशैं तिहार त आउनु थियो आए, जानु थियो गए । फेरि पनि आउँदै रहने छन् । किनकि ती दुबै पर्वहरू नेपाली जनजीवनमा भिजिसकेका छन् । संस्कृतिमा रूपान्तरित भएका छन् । संस्कृति मात्र होइन धार्मिक रङ्गमा समेत रङ्गिएका छन् । रङ्गाइएका छन् । दशैंको टीकाजमरालाई देवीदुर्गाको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ । तिहारलाई यमपञ्चकको रूपमा मनाइने गरिन्छ । देवीदुर्गाको कथा जेठो हो कि दशैंको परम्परा जेठो हो ? तिहारको संस्कृति जेठो हो कि यमको कथा जेठो हो ? यसै होला भन्न सकिन्न । हिन्दूसमाजको परम्परा हेर्दा दशैैंतिहारसँग देवीदेवतालाई पछि कुनै सन्दर्भमा जोडिएको होला भनेर अनुमान गर्न सकिन्छ । वेदविरोधी गौतम बुद्धलाई कैयौं पुराणहरूले विष्णुको नवौं अवतार मानेको देखिन्छ । विष्णुको आठौं अवतार मानिएका कृष्णको वाल्यकालका कथाले उनलाई पनि अवैदिक देखाउँछ । शरीरको रङ्गवर्णले पनि उनी अनार्यवंशी हुन भन्ने प्रमाणित गर्दछ ।

ऋग्वेदले प्रमुख देवता मानेको इन्द्रका कट्टर विरोधी देखिनाले उनलाई अवैदिक सावित गर्दछ । गौतम बुद्धलाई जस्तै कृष्णलाई पनि निकै पछि मात्र हिन्दूकृत गरिएको होइन होला भन्न सकिन्न । उदारणको लागि गीतालाई लिन सकिन्छ । महाभारत युद्धको सयौं वर्षपछि महाभारत महाकाव्य लेखिएको हो भनिन्छ । गीता महाभारतको अंश हो । कृष्णको मृत्युको हजारौं वर्षपछि लेखिएको महाभारतमा कृष्णले त्यो पनि युद्धमैदानमा अर्जुृनलाई दिएको उपदेश जस्ताको तस्तै रेकर्ड कसले लेखकलाई सुनायो होला भनेर पत्याउनु ? आजकालजस्तो रेकर्ड सुरक्षित गर्ने प्रविधि विकसित भएको थिएन । महाभारत युद्ध प्रत्यक्ष देख्न सक्ने व्यासवरदान पाएका सञ्जयको दिव्यदृष्टि युद्धको समाप्तिसँगै सकिएको थियो । उनले कथा सुनाएका धृतराष्ट्रले पनि कसैलाई दोहोराएर कथा सुनाएको प्रसङ्ग कतै आउँदैन । त्यसैले गीता विशुद्धरूपमा महाभारत रचना गर्ने लेखकको मौलिक चिन्तन हो । कृष्णलाई हिन्दू बनाउन उनको मुखबाट कथामा गीतावाचन गराइएको होइन भन्न सकिदैन । गीतासँग कृष्ण जोडिएजस्तै दशैैंतिहारसँग भगवती र यम जोडिएका हुन् । अर्थात पौराणिक कथाभन्दा दशै तिहारजस्ता सांस्कृतिक परम्पराहरू अवश्य जेठा हुनुपर्छ ।

दशै तिहारलाई कसैले हिन्दूहरूको चाड भन्दछन्, कसैले नेपाली चाड पनि भन्छन् । दिन्दू भन्ने विशेषणले संसारभर छरिएर रहेका हिन्दूहरूको पर्व भन्ने जनाउँछ । त्यसैले नेपालीको चाड भन्नुभन्दा व्यापकताको दृष्टिले हिन्दूचाड भन्नु उपुक्त होला । तर नेपालको चौहद्दीभित्र सीमित रहेर हेर्दा हिन्दू भन्दा नेपालीले ठूलो समुदायको प्रतिनिधित्व गर्छ । त्यसैले नेपालको सन्दर्भमा यी चाडहरू नेपाली हुन भन्नु बढी युक्तिसंगत हुन्छ । होला, कुनै बेला राज्यका तर्फबाट अहिन्दू समुदायमा चाडपर्वहरू जवर्जजस्ती थोपरिए पनि होलान् । तैपनि समय निकै खाइसकेको छ । कमसेकम ५÷१० पुस्तादेखिन निरन्तर अभ्यासमा आएको परम्परालाई कसैले पनि आफ्नो होइन भन्न मिल्दैन । किनकि रीतिरिवाज, परम्परा र संस्कारहरू पुस्तान्तरण हुदै आउने हुन् । बाबुबराजेको पालादेखि समाजले मान्दै आएको संस्कार संस्कृतिलाई मेरो होइन भन्नु गलत हुन्छ । यी चाडपर्वहरू सबै नेपालीका साझा भैसके भन्दा फरक पर्दैन ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here