राष्ट्रपति विद्या भण्डारीको अलोकप्रिय गन्तव्य

247

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएकी विद्या भण्डारीबाट नेपाली जनताले धेरै ठूलो आशा गरेको महशुस हुन्थ्यो । पहिलो कार्यकाल व्यतित गर्दासम्म सरकार फेरबदलका घटनाहरूले नै राष्ट्रपतिलाई पनि असफल बनाएको बुझ्न सकिने अवस्था थियो । राष्ट्रपतिले चाहेर पनि राम्रो काम गरेर देखाउने अवस्था थिएन । त्यसैले अस्थिर सरकारका कारणबाट राष्ट्रपति पनि प्रभावित भएको कुरालाई बुझ्न सकिन्छ ।

दोस्रो पटक राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रपति विद्या भण्डारीका कामहरू अलि प्रभावकारी हुने अपेक्षा सर्वत्र गरिएको थियो । तर जनअपेक्षित परिणाम हालसम्म महशुस गर्न पाइएको छैन । पक्तिकार स्वयम महिला भएका कारणले राष्ट्रपति विद्या देवी भण्डारीबाट महिला कै हक र हितका कार्यक्रमहरू देशमा लागू हुने आशा जागेको थियो । मैले यसै जनधारणा साप्ताहिकको यही स्तम्भमा धेरै पटक राष्ट्रपतिबाट नेपाली महिलाहरूले अपेक्षा गरेका विषयहरूबारे कलम चलाएकी छु । मेरो कलमको सुनुवाई होस वा नहोस मलाई त्यति सरोकारको विषय होइन । तरपनि राष्ट्रपतिलाई लोकप्रिय बन्न मेरो कलमबाट दिइएका सुझावहरू अवश्य पनि सहयोगी हुने थिए भन्ने मलाई विश्वास लाग्दछ ।

राष्ट्रपति विद्या देवी भण्डारीको राजनीतिक प्रशिक्षण लोकप्रिय नेता मदन भण्डारीबाट भएको हो भन्ने विश्वास गरिन्छ । लोकप्रिय नेताबाट प्रशिक्षित महिला राष्ट्रपति बनेपछि त्यो लोकप्रियतालाई निरन्तरता दिनेतर्फ विद्या भण्डारीको ध्यानाकर्षण हुनुपर्दथ्योे । त्यो पाउन सकिएन । विद्या भण्डारीले लोकप्रिय नेता मदन भण्डारीको लोकप्रियतालाई अनुशरण गर्नेतर्फ भन्दा पूर्व राजा ज्ञानेन्द्रको अलोकप्रियता जुन कारणबाट भएको थियो ती कारणहरूलाई पछ्याउनेतर्फ आकर्षण देखियो । सडकमा तामझामको सवारी देखि दशैं टिकामा सामन्ती शैलीसम्मका गतिविधिहरू पूर्वराजाका अलोकप्रिय पदचिन्ह हुन् । राष्ट्रपति विद्या देवी भण्डारीले पूर्व राजाकै अलोकप्रियतालाई अनुशरण गरिरहेको देखिन्छ ।

त्यसैगरी हालै मात्र एउटा अर्को आश्चर्य लाग्दो विषय चर्चामा आएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रयोग गरिरहेको राणाकालीन विलासी दरबार शीतल निवासको परिसरलाई विस्तार गर्ने चाहाना राखेको कुरा । राष्ट्रपति भवन र निवास विस्तारका लागि भन्दै सरकारले महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) हटाउने निर्णय गरेको समेत चर्चामा आएको छ । मन्त्रिपरिषद्ले गत भदौ २१ गते यसअघि पनि प्रतिष्ठानको ४१ रोपनी जग्गा उपभोग गरिसकेको छ । शीतल निवास साँघुरो भएको भन्दै विस्तार गर्न प्रतिष्ठानलाई त्यहाँबाट हटाउने निर्णय सरकारले गरेको जनाइएको छ । यो पनि राष्ट्रपतिको अलोकप्रियतालाई सहयोग पु¥याउने विलासी गन्तव्य हो भन्ने कुरामा असमहत हुने ठाउँ छैन । पाकिस्तानका नव निर्वाचित प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री बस्दै आएको विलासी निवासलाई छोडेर छुट्टै सामान्य सुविधा भएको निवासमा बस्ने निर्णय गर्दा उनको लोकप्रियता धेरै माथि पुगेको छ । यो देख्दा देख्दै राष्ट्रपति विद्याको विलासी चाहना बढ्नु आश्चर्य हो ।

राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गामा आवश्यक पर्ने सम्पूर्ण पूवाधार र संरचनासहितको कार्यालय निर्माण गरिने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएको पनि जनाइएको छ । राष्ट्रपति कार्यालयले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण गर्न लागेको समेत जानकारी गराइएको छ । राज्य शक्तिको अभिन्न अंगको रूपमा रहेको सुरक्षा संस्थालाई केन्द्रबाट हटाएर निष्क्रिय रहेको राष्ट्रपति कार्यालमा अत्याधुनिक संरचना निर्माण गरेर जनताबाट उठाएको करको दुरूपयोग गनुपर्ने आवश्यकता किन महशुस गरियो ? यो पनि अलोकप्रिय बन्ने गन्तव्य नै हो ।

सरकारले ७० वर्षभन्दा लामो इतिहास बोकेको महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) हटाएर काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको छ । केन्द्रमा हुनुपर्ने सक्रिय प्रशिक्षण प्रतिष्ठानलाई सहरबाहिर सार्ने निर्णय गरेर राष्ट्रमा सुरक्षा शक्ति कमजोर बनाउन खोजिएको त होइन भन्ने प्रश्न जनमानसमा उब्जन थालेको छ ।- जनधारणा साप्ताहिक
[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here