डा.दीपेन्द्र रोकाया /देवकी तिमल्सिना
१३ अक्टुवर २०१८ को साँझ ६ बजे हामी घरबाट एअरपोर्टतिर जाने तयारी गर्दै थियौ । घरबाट निस्कने बेला बेलमती बहिनीले खादा लगाइन् । दहीको सगुन चखाइन् भने छोरा दिवेशले फुलको गुच्छा दियो । हामीले सगुन टक्र्याएको थालमा पैसा राख्यौ । विदावारी भयौ ।
हामी अर्थात् म र देवकीजी एअरपोर्ट पुग्दा मंगल लामाजी मात्र पुग्नु भएको रहेछ । त्यसपछि क्रमसः तुल्सीदास महर्जन, हिरा माया महर्जन, जनक महतरा र प्रकाश रोकायाको आगमन भयो । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका नेपालस्थित राजदुतावासका कन्सुलर किमले हामीलाई आवश्यक सल्लाह दिदै विदाई गर्नुभयो ।
शुरुमा झोला र मान्छेको चेकिङ भयो । त्यसपछि बोडिङ पास लिन लाइन लाग्यौ । त्यहाँबाट माथि उक्लेपछि पासपोर्ट र टिकट चेक भयो । अध्यागमनका कर्मचारीले हामीले उत्तर कोरिया जान्छौ भनेको सुन्दा अचम्म मानी दह्रै ‘डोनेट’ आएको छ कि भनी सोध्न थाले । हामीले हामी समाजवादी पत्रकार भएको र आफ्नै खर्चमा कोरियाको भ्रमणमा निस्केको बतायौ ।
त्यसपछि पर्स, वेल्ट, ल्यापटप, घडी, मोवाइल, कोट, बुट जुता खोल्न लगाइयो । मेसिनले दहै्र चेक गरेपछि मात्र अन्तिम विन्दुमा पुग्यौ । करिव एक घण्टा यताउता गर्दै बसेर कटाएपछि गेट खुलेको उद्घोष भयो । हामीले जहाज चाइना साउथरनको सिजेट ३०६८ नम्बरको जहाजमा चढ्यौ । जहाज चढेपछि मैले डाटा अन गरेर फेसवुकमा लेखे– ‘समाजवादी पत्रकार मञ्चको केन्द्रीय टोली प्रजग कोरियाको भ्रमणका लागि चीनको ग्वोन्जाओ तर्फ प्रस्तान गर्दै ।’ लाइक, कमेन्ट आउँदै थियो, जहाजका कर्मचारीको अनुरोध अनुसार मोवाइल स्वीचअफ गर्न परि हाल्यो ।
जहाजले पूर्वी दिशातिर मोडियो । झ्याल बाहिर हेर्दा तल केही पनि देखिएन । बरु जहाजको स्क्रिनमा देखिएको रुट तथा सुचना हेर्दा भौगोलिक जानकारी लिन सकियो । हामीले चीनतिरको हिमालय क्षेत्र नाघेनौ । सगरमाथाको दक्षिणी भागबाट दार्जलिङ, भुटान, पश्चिम वंगाल, वर्मा, कुमिङ हुँदै ग्वोन्जाओ पुग्ने रहेछौ । ग्वोन्जाओ र हङकङ शहर नजिकै रहेछन् ।
हामीभन्दा दायाँ साइडमा बसेकी बहिनी अष्टेलिया र पछिल्लो सिटमा बसेका बुढाबुढी क्यानडा जाने रहेछन् । ग्वान्जाओ पनि अन्तर्राष्ट्रिय ट्रान्जिट प्वाइन्ट रहेछ । देवकी निदाइन् । म पनि निदाएँ । राति उनले आफ्नो दाइने पाखुरा लाटो भएको र लामो समयदेखि छटपटाइ रहेको जानकारी गराइन् । उनको छटपटाहटले मलाइ थप चिन्ता थपियो ।
विहान उज्यालो भएकै थिएन, ग्वोन्जाओ शहर पार गरेर जहाजले एकान्तमा ल्याण्ड ग¥यो । जताततै चाइन साउथरनको जहाज देखिन थाले । मानौ ग्वोन्जाओ एअरपोर्ट उसको कारखाना हो । नभन्दै यस एअरपोर्टलाई उक्त जहाजले केन्द्र बनाएर सेवा प्रवाह गरिरहेको रहेछ । यो कुरा मैले जहाजको मुखपत्रमा लेखिएको विवरणबाट जानकारी पाएँ । जसअनुसार, ए ३०० को ५ ओटा, ए ३३० को ४८ ओटा, ए ३२० का २८१ ओटा, ७४७ को २ ओटा, ७७७ को १२ वटा, ७८७ नम्वरको २८ ओटा, ७५७ का ४ ओटा, ७३७ का ३८३ ओटा र ई १९० को २६ ओटा जहाज रहेछन् ।
वा ! आफुलाई त चिलगाडीको राजधानी पुगेको अनुभव हुन थाल्यो । मन आफै, आफैमा चंगा हुन थाल्यो । चीलझै स्वतन्त्र भएर अकाशबाट अवलोकन गर्न रहर जाग्न थाल्यो ।
ग्रेटवालमा टेक्दा
हामी ग्वोन्जाओवाट सिजेट ३१०१ नम्वरको चाइना साउथरेन जहाजबाट बेइजिङ गयौ । बेइजिङ जनवादी गणतन्त्र चीनको राजधानी हो । हिजो राति भएकाले तल पृथ्वी देखेका थिएनौ । तर आज दिउँसो भएपनि देख्न पाइएन । चिनियाँ आकाशमा टन्नै हुस्सु भरिभराउ थियो । हामीसँगै बसेका चिनियाँ अधिकारीका अनुसार हामी मध्ये चीनको यात्रामा छौँ ।
हामी बैइजिङ पुगेपछि लगेज लिनलाई करिव २० मिनेट लाग्यो । अनि कोरिएन दुतावासकी मिस किमसँग भेट भयो । उहाँकै सहयोगले हामीले बुक गरेको सुयी जिल्लाको हन्टिङ होटलमा पुग्यौ । जो एअरपोर्टबाट ९ कि.मि. टाढा थियो ।
हामी होटल पुग्दा नेपालको चीनस्थित राजदुतावासका महामहिम राजदुत लिलामणि पौडेलले पठाएको गाडी र ड्राइभर चाउसँग भेट भयो । हामीले मिस किमलाई रेलको लागि टिकट लिन आवश्यक रकम दियौ । उहाँले भनेअनुसारको भोलिको रुटिन बनाउने निधो ग¥यौ र हामी चाउसँग ग्रेटवालतिर लाग्यौ ।
बेइजिङ पुग्ने बित्तिकै विश्व सम्पदा सुचीमा रहेको ग्रेटवालको अवलोकन गर्न पाइने भयो । हाम्रो होटलदेखि पुरै २ घण्टा लाग्यो । बीचमा सानातिना ३ वटा सुरुङमार्ग भएर गयौ । सडक छेउका रुख विरुवा, धुपी सल्लो, वैशका रुख रोपेका रहेछन् । वास्तवमा यो हरियाली मभन्दा कान्छो रहेछ भनी टिप्पणी गर्दा साथीहरू हाँस्नुभयो । मैले कर्नाली राजमार्गलाई रूपडिहादेखि हिल्सासम्म यस्तै गरी निर्माण गर्न सकिने र यस सडकले चिनियाँ सिल्क रोडको उत्खनन् मात्र गर्ने छैन, कर्नाली प्रदेशको कायापलट हुने विश्वास पनि गरेँ ।
हामीलाई चिनियाँ साथीले टिकट काउन्टरसम्म पु¥यायो । प्रतिव्यक्ति ४० रूपैयाँ चिनियाँ युयान तिरेर टिकट लियौ । ग्रेटवालमा पाइलो टेकेदेखि फोटो विभिन्न पोजमा क्लिक, क्लिक गर्न थाल्यौ । अनकन्टार डाँडाकाडामा यस किसिमको पर्खाल लगाउनु र यो पर्खाललाई चन्द्रमाबाट देखेको अनुभव सुन्नुले हामीलाई उहिल्यैदेखि उत्साहित बनाइरहेकै थियो । यस पर्खालले आजको विश्वमा पर्यटकीय आधार बनाएको छ । चीनले पुरातात्विक अध्ययनका लागि पर्यटकीय आधार बनाएको पोतला दरवारमा यसअघि नै र यस पटक ग्रेटवाल आफ्नै खुट्टाले टेक्न र प्रत्यक्ष नाङ्गो आँखाले अवलोकन गर्न पाइयो ।
चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किल्ला हो, जसलाई चीनका विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसापूर्व पाँचौँ शताब्दीदेखि सोह्रौँ शताब्दीसम्म बनाइएको थियो । यो पर्खालको लम्वाईबारे बिभिन्न अनुसन्धानहरूले फरक फरक देखाएका छन् । तर एक अनुसन्धानले यसका शाखाहरूसहित गरेर द ग्रेटवालको लम्वाई ८८५१.८ किलोमिटर रहेको उल्लेख गरेको पाइएको छ ।
यो पर्खाल अन्तरिक्षबाट पनि देखिन्छ रे ! यस पर्खाललाई २० देखि ३० लाख मनिसहरूले जीवनभर काम गरेर निर्माण गरिएको बिश्वास गरिन्छ । समय–सयममा यसलाई पुनर्निर्माण गरिदै आएको रहेछ । २२०–२०६ ई.पू.मा चीनको प्रथम सम्राट किन शी हुआङले बनाउन लगाएका थिए । त्यसबेला उनले बिपक्षीको सेनाहरूलाई घुस्न नदिनको लागि बनाउन लगाएका थिए रे ! यस पर्खालमा मिंग वंशले आफ्नो सुरक्षाको लागि दस लाखभन्दा धेरै मान्छे परिचालन गरी चौबिसै घण्टा पहरा दिन्थे रे ! यसको विस्तार पूर्वमा शान हाइगुआनदेखि पश्चिममा लोप नुरसम्म फैलिएको छ । क्रमशः…


















